‘मातृभूमिका लागि नेपाली, अष्ट्रिया’ गठन

‘मातृभूमिका लागि नेपाली, अष्ट्रिया’ गठन


संयोजकमा सागर सुवेदी

मातृभूमिका लागि नेपाली संगठन विगत वर्षदेखि नेपालमा आफ्ना अभियान संचालन गर्दै आइरहेको एक सशक्त संगठन हो । नेपालका करिव ३० भन्दा बढी जिल्लाका साथै विभिन्न नगर तथा गाउँपालिकासम्म गठनको प्रक्रियामा रहेको संगठनले युरोपेली मुलुक अष्ट्रियामा आफ्नो उपस्थिति जनाएको छ । भियनाबासी युवा जुझारु युवा सागर सुवेदीको संयोजकत्वमा मातृभूमिका लागि नेपाली संगठन अष्ट्रिया गठन गरिएको छ ।

सो समितिको सहसंयोजकमा मृगेन्द्र बराल, सचिवमा सुदिप पौडेल, कोषादक्षमा वासुदेव बस्नेत र सदस्यहरुमा श्रीप्रसाद श्रेष्ठ, प्रतीक्षा सुवेदी (खड्गी), मदन महर्जन, ज्ञानु बर्तौला, मन्जु विश्वकर्मा, राजन कार्की र माया श्रेष्ठ रहेका छन् ।

आइतबार (१७ जनवरी) दिउँसो डिजिटल प्रविधि जुममार्फत् गरिएको कार्यक्रममा मातृभूमिका लागि नेपालीका केन्द्रिय संयोजक देवप्रकाश त्रिपाठी, केन्द्रिय सदस्य तथा विदेश विभाग प्रमुख प्रा. दीपक गजुरेल, महिला विभाग प्रमुख मञ्जिता अनिल, यातायात विभाग प्रमुख शरद अधिकारी, केन्द्रिय सचिवद्वय शुभाषप्रसाद पाण्डे र सनत आचार्य, युवा विभाग प्रमुख रमेश श्रेष्ठ, विदेशस्थित संगठनका संयोजक यामलाल सुवेदी (डेनमार्क), शेखर ढुंगेल (अमेरिका) का साथै मातृभूमिका लागि नेपाली संगठनको केन्द्रिय विभिन्न विभागमा रहेर आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएका साबि घिमिरे, अन्जु सुवेदी, मेनका लामा, नवलपुर जिल्लाका संयोजक देवराज पौडेल, रुपन्देही जिल्लाका जिल्ला संयोजक सुशील खनाल, ललितपुर जिल्लाका संयोजक शम्भुमान सिंहलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा राजनीतिक अस्थिरताका कारण यतिबेला देशले भोग्नुपरेको कठिनाइका विषयमा चर्चा गरिएको थियो भने भने केन्द्रिय संयोजक त्रिपाठीले नवगठित समितिमा रहेका पदाधिकारीहरुको नाम पढेर सुनाएका थिए ।

यस्तै, विदेश विभाग प्रमुखबाट नवगठित कार्यसमितिका सदस्यहरुलाई सपथ खुवाइएको थियो भने नवगठित अष्ट्रिया समितिका संयोजक सुवेदीले ककार्यक्रम सञ्चालन गरेका थिए।

ज्ञातव्य छ, मातृभूमिका लागि नेपालीको उद्देश्य नेपालको विद्यमान संविधानमा भएका गम्भीर त्रुटीका रुपमा रहेको धर्मनिरपेक्षता खारेज गरी किरात, बौद्ध, जैन, शिख, बोन, मैत्रीय र परापूर्वकालदेखि नेपालमा बसोबास गर्ने मुस्लिमहरुले मान्दै आएका इस्लामलगायतका धर्म संस्कृतिको संरक्षण हुने गरी वैदिक सनातन हिन्दुराष्ट्र नेपाल बनाइ विश्वमा देशको विशिष्ट पहिचान स्थापित गर्ने रहेको बताइन्छ ।

यस्तै, जातिवादी र क्षेत्रीयतावादी गतिविधिलाई सदाका लागि अन्त्य गराउँदै मौलिक संस्कृतिसहितको समृद्ध नेपाल बनाउने, पछाडि पारिएका व्यक्ति तथा समुदायको बृहत्तर उत्थानका निम्ति सवलीकरणको अवधारणा कार्यान्वयनमा ल्याउने, विभाजित सार्वभौमिकतालाई एकीकृत गरी एकताबद्ध एकात्मक नेपालको निर्माण गर्ने र आजसम्म शासन तथा प्रशासनको उच्च तहका जिम्मेवारीमा रहेका हरेक व्यक्तिको सम्पत्ति छानवीन गर्नेलगायतका विषयलाई सो संगठनले प्रमुख प्राथमिकतामा राखेर अभियान सञ्चालन गर्दै आएको छ ।