मठका जग्गा बेच्दै छन् निलम्बित महन्त !

मठका जग्गा बेच्दै छन् निलम्बित महन्त !



रामभरत साह, जनकपुर

महोत्तरी जिल्लाको मठीहानी नगरपालिकास्थित लक्ष्मीनारायण मठका महन्त जग्गरनाथ दास बैष्णवले मठको नाउँमा रहेको जनकपुरधाम उपमहानगरपालिका–८ बजरंग चोकस्थित करोडौँ मूल्यबराबरको लगभग ८ कट्ठा जग्गा बिक्री गर्न लागेको खुलासा भएको छ, जबकि उक्त मठका जग्गा बिक्री गरेको अभियोगमै महन्त दास निलम्बनमा परेको अवस्था छ ।

बजरंग चोकमा रहेको कित्ता नम्बर ३२७ को ७ कट्ठा ८ धुर र कित्ता नम्बर १५९ को ९ धुर जग्गा निलम्बित महन्त दासले दिपु यादव नामका भूमाफियालाई बेच्न लागेको विश्वस्त सुत्रले जानकारी दिएको छ । बताइएअनुसार प्रतिधुर ७ लाखको दरले बिक्री हुन लागेको सो जग्गामा माटो पुर्ने कार्य हुन थालेको छ । महन्त दासले यसअघि पनि धनुषामा पाँच बिगाहा र रूपन्देहीमा २ बिगाहा जग्गा विभिन्न मितिमा बेचेकै अभियोगमा उनी निलम्बनमा परेका हुन् ।

वि.सं. २०५४ मा गुठी संस्थानबाट महन्त नियुक्त भएपछि दासले विभिन्न मितिमा जग्गा बिक्री गर्दै आएको आरोप निजमाथि लगातार लाग्दै आएको छ । उनले धनुषा र भैैरहवामा रहेको लक्ष्मीनारायण मठ र रामजानकी मन्दिरको सवा तीन अर्ब रूपैयाँ पर्ने करिव ७ बिगाहा जग्गा बिक्री गरी हिनामिना गरेको आरोप निजमाथि रहेको छ । दासले यसअघि २०७६ वैशाख १६ गते रूपन्देहीको सिद्धार्थनगर नगरपालिकाको गल्लामण्डीस्थित रामजानकी मन्दिरको भोगचलनमा रहेको कित्ता नम्बर १६५ को ३ कट्ठा ५ धुर, जनकपुरधाम पगलाबाबा धर्मशालानजिकको प्रतिधुर १० लाख पर्ने ७ कट्ठा ५ धुर जग्गा कपाली तमसुकमा सहीछाप गरी खुलेआम बेचेको तथ्यसमेत खुलेको छ ।

यसरी महन्तले २० वर्ष अवधिमा नापी, मालपोत र गुठी कार्यालयसँगको मिलेमतोमा २५ बिगाहा भन्दा बढी जग्गा बेचेको स्रोतले दाबी गरेको छ । ज्ञातव्य छ, लक्ष्मीनारायण मठको शाखाको रूपमा रहेको रूपन्देहीको भैरहवास्थित रामजानकी मन्दिरको ३ कट्ठा ५ धुर जग्गा बिक्री गरेकैै कारण गत २०७६ सालको असार २२ गते गुठी संस्थान सञ्चालक समितिको बैठकले अर्को निर्णय नभएसम्मका लागि महन्त दासलाई निलम्बन गरेको थियो ।