खोप होइन, आवश्यकता प्राकृतिक प्रतिरक्षणको !

खोप होइन, आवश्यकता प्राकृतिक प्रतिरक्षणको !


(२० वर्षअघिको ‘घटना र विचार साप्ताहिक’बाट)
  • डा. हरिप्रसाद पोखरेल

आज खोपको लहर चलेको छ । विश्वभर जताततै विविध खोपका दिवस, सप्ताह र वर्षभरिका रङ्गीचङ्गी कार्यक्रमहरू विज्ञापनको आकर्षक भाषामा खोप उत्पादक व्यवसायीले प्रचार गरेजस्तै स्वास्थ्य संस्थाहरूद्वारा प्रचारप्रसार भइरहेको छ । केही महिनाअगाडिको कुरा हो, शायद पोलियो थोपाको साप्ताहिक कार्यक्रम जताततै चलिरहेको थियो, म मद्रासबाट काठमाडौं आउन मद्रास गोरखपुरको रेलमा बसेको थिएँ । मेरो साथकै सीटमा गोरखपुर आउने दुई जना भारतीय ग्रामीणजस्ता देखिने महिलाहरू पनि थिए जसका काखमा साना बच्चाहरू थिए । पहिले मद्रासमै रेलभित्र रङ्गीचङ्गी एक हुल पस्यो र रेलभित्र रहेका सबै साना बच्चाहरूलाई पोलियो थोपा दियो । त्यही रेलमा गोरखपुर आउँदासम्म ती बच्चाहरूले अरू दुई पटक पोलियो थोपा पाए । मैले मेरो छेउका दुई बच्चाहरूलाई चौबीस घण्टा पनि नपुग्दै पुनः पोलियो थोपा पाउनबाट बचाउन ती टोलीहरूलाई सचेत गरेँ । हिजो मात्र लिएका हुन् भनेर अनुरोध गरेँ तर सुन्ने फुर्सद कसलाई ? लुटेराको टोलीजस्तै सबै ढोकाहरूबाट घुसेर धडाधड धडाधड मुखमा थोपा चुहाइदिए र आफ्नो रेकर्डमा सङ्ख्या लेख्दै गए । यो दृश्यले मलाई ठूलो पीडा पुऱ्यायो । एकातर्फ यसरी अनियमित तरिकाले र बढी दिएको खोपले बच्चाको प्राकृतिक प्रतिरक्षण व्यवस्थामा ठूलो अव्यवस्था आउँछ, दोस्रो पाश्र्वप्रभाव (Side Effect) का रूपमा अन्य कैयन रोगहरूले जन्म लिन्छन्, तेस्रो- गलत सूचना तैयार हुन्छ ।

हामीले यति हजारले खोप पाए भनेर सुनाउन र भ्रमको भाषण गर्न यो सूत्र त अपनायौँ तर त्यो भनिएको सङ्ख्यामा एउटै बच्चा पटक-पटक गनिएको कसले बुझ्ने ? त्यसैले यथार्थबाट बाहिर चटकी कुराले रोगबाट निरोग र निरोगबाट स्वास्थ्य उपलब्ध हुन सक्दैन । यसका लागि त प्राकृतिक स्वास्थ्यको मार्गबाट यात्रा जरुरी छ । जबसम्म प्राकृतिक रूपमा प्रतिरक्षण व्यवस्थालाई सबल र सक्षम बनाइँदैन तबसम्म खोपबाट प्रतिरक्षण (Immunisation) चटकी कुरा मात्र रहन्छन् ।

आज कीटाणुहरूलाई मारेर रोग भगाउने प्रयासमा प्रयोग भएका दिव्यास्त्र मानिने खोप एवम् अन्य औषधिहरूले कीटाणुका साथसाथ या कीटाणु मर्नुभन्दा पहिले स्वतः रोगीको नै विविध पार्श्वप्रभाव (Side Effect) का कारण विविध विघटन तथा मृत्य हुन गएका घटना हामीबाट छिपेका छैनन् । हरेक मानिसको प्राकृतिक प्रतिरक्षा प्रणाली र जीवनी-शक्ति जबसम्म सक्षम र सशक्त हुन्न तबसम्म कुनै औषधि र प्रतिरक्षण (Immunisation) को लागि प्रयोग गरिने खोपले शरीरमा सकारात्मक केही गर्न सक्दैन, नकारात्मक प्रभाव भने देखाउन सक्दछ । अप्राकृतिक जीवन जिएर पनि खोपको बलमा शरीरको प्रतिरक्षा व्यवस्थालाई सक्षम बनाउने कल्पना हास्पास्पद छ । जबसम्म हरेक व्यक्तिलाई प्राकृतिक जीवन विज्ञानको कला सिकाइँदैन तबसम्म खोप या औषधिको गोलीद्वारा चटकीले चटक देखाएजस्तो प्रतिरक्षण या प्रतिरक्षा व्यवस्थालाई सक्षम बनाउन सकिँदैन । त्यसैले यही भूमिको कला, संस्कृति र विज्ञानको साझा मूल योग र चिकित्साको मूल प्राकृतिक चिकित्सा, जडीबुटी चिकित्सा, पुष्प चिकित्सा एवम् अन्य औषधिविहीन प्राकृतिक स्वास्थ्य विज्ञानका विविध उपायद्वारा प्राकृतिक रूपमै रोग, शोक, पीडाबाट मुक्त जीवनको अभ्यास गरौँ ।

धरै ठूलो हल्ला मच्चिएको छ कि विश्वभर खोपले रोगहरू घट्दै गए र उन्मूलन भए ! यो स्वप्न-शब्दबाहेक केही होइन । यस प्रसङ्गमा डिप्थेरियाको नाम खुब उछाल्ने गरिन्छ । प्रतिरक्षण (Immunisation) का खोपहरूका कारण डिप्थेरिया संसारबाटै उन्मूलन भयो भनेर भनिन्छ । डिप्थेरियाको खोप बन्नुभन्दा एक-दुई दशकपहिलेबाटै ब्रिटेनमा यो रोगबाट हुने मृत्यूदर प्रतिवर्ष ठूलो मात्रामा घट्दै गएको थियो । डिप्थेरिया संसारबाट आफै घट्न शुरु भएपछि खोप बन्यो र प्रसिद्धि पायो । ब्रिटेनका जस्ता उदाहरण अरू कैयन देशका पनि छन् । यदि खोप सार्थक भएको भए जर्मनीमा युद्धपछि खूब डिप्थेरिया फैलियो जसमा प्रभावित व्यक्तिहरूको सङ्ख्यामा खोप नलगाएकाभन्दा लगाएका बढी थिए । खोप लगाएकाहरू पनि ठूलो सङ्ख्यामा मरे । विश्वमा कैयन रोग खोप एवम् औषधिका कारण उन्मूलन भयो भनेर भनिन्छ तर वास्तविक रूपमा उन्मूलन भएका छैनन् र हुन्नन् पनि ।

यस विश्वब्रम्हाण्डको विकासक्रमको ऐतिहासिक अध्ययन गर्ने हो भने हरेक जीव एकपटक उसको स्थितिको विकासको चरमचुलीमा पुग्दछ र स्वयम् उसकै विविध कारणवश या प्रकृतिअनुकूल नहुनाको कारण विघटन हुन थाल्दछ अनि विनाशको गहिराइ छुन्छ र, फेरि उठ्न शुरु गर्दछ । यो प्राकृतिक चक्रबाट कोही पूर्ण मुक्त छैनन् । यसरी नै कुनै रोगका कीटाणु आफ्नो विकासको चरमतामा पुग्दछन् र मानवशरीरमा अप्राकृतिक आदतहरूका कारण संकलित विजातीय पदार्थमाथि अड्डा जमाएर विनाशको धावा बोल्छन् । फेरि मानिस त्यस घातक स्थितिबाट बच्न प्राकृतिक मार्गको अवलम्बन गर्न थाल्दछ र कीटाणु स्वयम् घट्न थाल्दछ । प्लेगकै उदाहरण लिउँ, यो एक दिन महामारीको रूपमा विश्वभर फैलियो र आफै शान्त भयो । पुनः दुई-तीन वर्षपहिले कोसिस गऱ्यो र शान्त भयो । सावधान ! यो फेरि महामारीको रूपमा विश्वभर आउनेछ । किनकि, यस्तै हरेक रोगको भइरहेको छ ।

कुन रोग छ जो एकपटक देखिएर पुनः नदेखिएको ? पूर्ण उन्मूलन भयो भनेको मलेरिया फेरि घातक धावा बोल्ने तैयारीमा कीटनाशक औषधिमा पनि हैकम जमाइरहेछ । आज हामी नयाँ-नयाँ रोगहरू देखिरहेका छौँ, जस्तै- एड्स । यो पनि नयाँ होइन । हजारौँ हजार वर्षको यो इतिहासमा र हामीले कोरेको इतिहासभन्दा पहिले एड्स चरमतामा थियो होला । कालक्रलमा शान्त भयो र पुनः देखियो । केही वर्षमा आफै शान्त हुन सक्दछ, तर वर्तमानमा बाँच्ने एउटै उपाए छ प्राकृतिक प्रतिरक्षण । जबसम्म मानिसलाई प्रकृतिको अनुभूति र प्रकृतिको उपादानहरूको रक्षाबाट स्वयम्को रक्षा गर्ने कला सिकाइँदैन या शरीरमा निहित प्राकृतिक प्रतिरक्षा प्रणालीलाई शक्तिशाली बनाउने प्राकृतिक कला सिकाइँदैन तबसम्म रोगमाथि विजय सम्भव छैन ।

एउटा आवश्यक घटनाको चर्चा यस लेखमा जोड्न आवश्यक देख्दछु । विश्व स्वास्थ्य संगठनको सहायतामा इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले दक्षिणी भारतमा साढे सात वर्ष खोज अनुसन्धान गरी शोधपत्र प्रस्तुत गरेअनुसार भारतमा फोक्सोको टी.बी.बाट अधिकांश मानिस पीडित हुन्छन् । फोक्सोको टी.बी.का लागि एक मात्र उपचार मानिने बेसिले कालमेटे गुएरिन अर्थात् बी.सी.जी., यो रोगका लागि कपोलकल्पित र निस्क्रिय सावित भयो । फोक्सोलाई टी.बी.द्वारा सुरक्षा प्रदान गर्न यो असमर्थ सावित भयो र भारतका चिकित्सा विभागका अधिकारीहरू यो खोज नतिजाले आत्तिए भने विश्व स्वास्थ्य संगठनलाई पनि समस्या पैदा भयो । यो शोधपत्रलाई अब के गर्ने ? शोधपत्र महिनौँ गोप्य राखियो । अन्तमा भारतीय चिकित्साविद्हरू र विश्व स्वास्थ्य संगठनका विशेषज्ञहरूबीच लामो वार्तापछि प्रकाशित भयो ।

यो अध्ययन दक्षिणी भारतको तमिलनाडुको चिंगलेपुटमा गरिएको थियो । चिंगलेपुट जिल्लाको २०९ गाउँमा गरिएको अध्ययन सन् १९६८ देखि सन् १९७१ सम्ममा मात्र तीन लाख जति महिला, पुरुष र बच्चाहरूको टी.बी. परीक्षण छाला परीक्षण विधिद्वारा गरियो । तिनीहरूमा करिव दुई लाखलाई बी.सी.जी. खोप र एक लाख जतिलाई शर्करा घोलको नक्कली खोप लगाइएको थियो । बी.सी.जी. र शर्करा घोल दुवै खोपमा सङ्केत दिइएको थियो । के हो ? भन्ने कुरा काम गर्नेहरूलाई पनि थाहा थिएन । सङ्केतको यथार्थ विवरण भारतको दिल्लीमा इण्डियन काउन्सिल अफ मेडिकल रिसर्च तथा स्वीटजरलैण्डको जेनेभामा विश्व स्वास्थ्य सङ्गठनसँग थियो ।

सन् १९७७ देखि सन् १९७८ सम्म फोक्सोको टी.बी.का नयाँ रोगी पत्ता लगाउन परीक्षणहरू चलिरह्यो । यी परीक्षणहरूमा जुन नयाँ रोगीहरू देखिए तीमध्ये एकलाख पन्ध्र हजार बी.सी.जी.को खोप लगाउँदाका दिनमा पूर्णतः रोगमुक्त थिए, खोपपछि रोगी बने । यस खोजको आश्चर्यको पक्ष त अझ यो रह्यो कि जसले खोप लिएको थिएन तीभन्दा खोप लिनेहरू बढी रोगी देखिए । यसले खोजकर्ताहरू यो निष्कर्षमा पुग्न बाध्य भए कि फोक्सोको टी.बी.लाई खोप पनि ढुक्क हुने उपाय रहेनछ ।

गोली, सुई र शल्यक्रियाद्वारा पैसाको थुप्रोबाट स्वास्थ्य खरिद गर्ने स्वप्नबाट जागेर प्राकृतिक स्वास्थ्यप्राप्तिको कला सिकी चुनौती बन्दै गएको स्वास्थ्य समस्यालाई समाधान दिन र २१औँ शताब्दीलाई भयविहीन निर्भर शताब्दी बनाउन जागौँ ।

(प्राकृतिक स्वास्थ्य विज्ञानका विशेषज्ञ पोखरेलको २०५४ असार ४ गते बुधबार घटना र विचार साप्ताहिकमा प्रकाशित आलेख)