मायादेवी च्यारिटेबल फाउण्डेशनद्वारा न्यानो कपडा सहयोग

मायादेवी च्यारिटेबल फाउण्डेशनद्वारा न्यानो कपडा सहयोग


मायादेवी च्यारिटेबल फाउण्डेशनले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ का वृद्धवृद्धालाई न्यानो कपडा वितरण गरेको छ । जाडोबाट बच्न केही भए पनि राहत होस् भन्ने उद्देश्यले शुक्रबार ११७ जनालाई कम्बल वितरण गरिएको फाउण्डेशनका संस्थापक अध्यक्ष रवि कुमार रौनियारले जानकारी दिए ।

कपडा वितरणका अवसरमा मन्तव्य दिँदै प्रमुख अतिथि लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डेयले कठिन परिस्थितिमा मायादेवी च्यारिटेबल फाउण्डेशनले महत्वपूर्ण कामहरु गरेको बताए । उनले स्थानीय सरकारले सिद्धार्थनगरमा जनतालाई विकासको अनुभूति दिलाउन नसकेको बताए ।

कार्यक्रममा जनता समाजवादी पार्टी नेपाल (जसपा)का लुम्बिनी प्रदेश सदस्य महेन्द्र यादव, रुपन्देही जिल्ला अध्यक्ष राम अवतार यादव, बास रुपन्देहीकी कार्यकारी निर्देशक विजयी खत्री, लायन्स क्लब अफ सिद्धार्थनगर सेन्टिनियलका अध्यक्ष राजेन्द्र थापा, मायादेवी च्यारिटबेल फाउण्डेशनका सदस्य वीरेन्द्र ज्ञवाली, रुपन्देही युवा समूहका अध्यक्ष विशाल गुप्ता, युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवाका प्रशासन संयोजक तेजकुमार के.सी. लगायतले बोल्दै मायादेवी च्यारिटेबल फाउण्डेशनले समाजमा रचनात्मक कार्यहरु गर्दै आएको बताए ।

अनिता गुप्ताको अध्यक्षता, कार्यक्रम संयोजक टेकराज शर्माको स्वागत तथा रवि कुमार रौनियारको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।