माउन्ट एभरेस्ट, सगरमाथा र सुधीर चौधरी विवाद

माउन्ट एभरेस्ट, सगरमाथा र सुधीर चौधरी विवाद


  • केशवप्रसाद भट्टराई

२०१६ सालमा इतिहास शिरोमणि बाबुराम आचार्यको परामर्शमा वीपी कोइरालाले माउन्ट एभरेस्टलाई सगरमाथाको नाउँ दिए र त्यही मौलिक नाउँले सगरमाथामाथिको नेपाली दाबीलाई त्यसै आधारमा चीनले स्वीकार गऱ्यो ।

१८६५ मा ब्रिटिस भारत सरकारले त्यसलाई आधिकारिक रूपमा माउन्ट एभरेस्ट नाउँ दिएको थियो ।

तर १८५६ देखि नै त्यसलाई माउन्ट एभरेस्ट भन्न थालिएको थियो ।

जर्ज एभरेस्ट भारतको नापी विभागका प्रथम महानिर्देशक थिए र उनको कार्यकालमा सन् १८५२ मा भारतीय नापी अधिकारी तथा गणितज्ञ राधानाथ सिक्दरले सगरमाथाको उचाई पत्ता लगाएका थिए र, यसले संसारको सबैभन्दा अग्लो पर्वतको मान्यता पाएको थियो ।

तत्कालीन ब्रिटिस भारत सरकारले एक भारतीय नागरिकलाई त्यो सम्मान दिन सायद चाहेन र अङ्ग्रेज अधिकारीलाई त्यो सम्मान दियो ।

‘माउन्ट एभरेस्ट’को नामाकरण हुनुअघि त्यसले कुनै नाउँ पाएको थिएन, त्यसलाई ‘पिक १५’ अर्थात् ‘Pick XV’ नामले चिनिन्थ्यो ।

सन् १८४९ मा ग्रेट ट्रिगोनमेट्रिकल सर्भे अफ इन्डियाले यसको उचाईको नापी गर्ने घोषणा गरेर नापी कार्य शुरु गरेको थियो ।

०००

हिमालय पर्वतको बारेमा त पश्चिमाहरूले पहिलो शताब्दीदेखि नै उल्लेख गर्न थालेका पाइन्छ, तर सन् १७१५ मा काश्मिरतिरबाट ल्हासाको यात्रामा हिँडेका इटालियन पादरी इपोलिटो डेसिदडेरीले एउटा अद्भूत र त्राषद विराट पहाडको उल्लेख गरेका थिए ।

त्यसको झन्डै आधा सताब्दीपछि ब्रिटिस भारतका प्रथम सर्भे जनरल मेजर जेम्स रेनल नापीको क्रममा भुटानसम्म पुगे र त्यहाँ उनले वर्षैभरि हिउँले ढाकिने पहाडहरूको लामो शृङ्खला देखे र उनैले संसारको सबैभन्दा अग्ला पर्वतहरू एसियाको उक्त भूखण्डमा अवस्थित रहेको घोषणा गरे र त्यसपछि संसारको ध्यान त्यसतर्फ केन्द्रित भयो ।

कलकत्ता उच्च अदालतका तत्कालीन न्यायाधीश र पूर्वीय दर्शन र संस्कृतिका विद्वान विलियम जोन्सले भागलपुरमा गङ्गा किनारबाट करिव चार सय किलोमिटरको दूरीमा आफूले यौटा अद्भूत र विराट पहाड देखेको उल्लेख गरे ।

मेजर जेम्स रेनलका उत्तराधिकारी हेनरी कोलब्रुकले १७९० को दशकमा हिमालका उच्च पर्वत शृङ्खलाहरूको नापी गर्ने चासो देखाए ।

पछि उनी बिहारको पूर्णियाको सहायक कलेक्टरको हैसियतमा रहँदा उच्च हिमाली शृंखलाहरूको गणितीय नापो लिन लागे र उनले विलियम जोन्सले भन्दा धेरै निकट अर्थात् करीव दुई सय ४० किलोमिटरको दूरीबाट गणना गर्दा सगरमाथाको उचाई २६ हजार फिट भन्दा माथि रहेको निष्कर्ष निकालेका थिए ।

आधिकारिक रूपमा सगरमाथाको उचाई नाप्न नेपाल भएर नै जानुपर्ने र त्यतिखेको नेपाल पूर्वमा भुटानदेखि पश्चिममा पन्जाबसम्म फैलिएको हुनाले नेपाल बाहेकको भागबाट त्यहाँ जान नसकिने भएकोले त्यो त्यसै अड्किएर रहेको थियो ।

१८०७ ताका ब्रिटिस भारतीय अधिकारीहरू आफ्नो भूभाग छुने ठाउँको कर्णाली र रापती नदी तटमा आएर र गोरखपुर, पिलिभित आदि स्थानबाट सगरमाथा हेर्न र त्यसको अध्ययन गर्न थाले ।

एवम् क्रमले अध्ययन र अनुसन्धान हुँदै जाँदा यसको नाउँ एभरेस्ट र सगरमाथा रहन गएको र यसको उचाईको आधारमा यो संसारको सबैभन्दा उच्च शिखर प्रमाणित हुन आएको सन्दर्भ यहाँ बुझ्न सकिन्छ ।

०००

वैज्ञानिक आधारमा यसको वास्तविक उचाई पहिलो पटक राधानाथ सिक्दरले पत्ता लगाएका थिए भने सुधीर चौधरीले एक भारतीयको अथक परिश्रम र उनले पाएको उपलब्धिको जश उनले किन नपाउने ?

त्यसैले भारतले त्यसको लागि दाबी गर्नु पर्दछ भनेर उनले भन्दा त्यहाँ कहाँ अनुचित भयो मैले बुझ्न सकिनँ ।

उनको भिडियो हेर्दा ‘सगरमाथामा भारतले दाबी गर्नु पर्दछ’ भनेको त मैले बुझिनँ ।

सगरमाथाबारे कुनै रूची र सरोकार नभएको, सगरमाथा देख्दै नदेखेको र उक्त नाउँमा स्वयम् कर्णेल एभरेस्टले पनि सङ्कोच मान्ने गरेको उनको नाउँले भन्दा सिक्दरको नाउँले सगरमाथा चिनियोस् भनेर यौटा भारतीय नागरिकले भन्दा के गल्ती भयो मैले बुझिनँ ।

यहाँ प्रधानमन्त्री ओलीको कहाँ गल्ती भयो त्यो पनि मैले बुझ्न सकिनँ !

अर्को देश र अर्को देशको नागरिकसँग आफ्नो देशको प्रधानमन्त्रीलाई गलत आशयले जोडेर गरिने गलत प्रचारले आफ्नो र देशकै प्रतिष्ठामा आघात पुग्छ कि ?

मेरो अज्ञानतालाई क्षमा गर्दै बुझ्ने-जान्नेले कृपया बुझाइदिनुहोस् न !