मुद्दा अनेक मोर्चा एक !?

मुद्दा अनेक मोर्चा एक !?



भिन्नाभिन्नै पेशा, व्यवसाय र भूमिकामा रहेका केही व्यक्ति एवम् संस्थाहरू खास-खास मुद्दामा सधैं एकै ठाउँमा उभिनु संयोग हो कि नियोजित भन्ने प्रश्न आमचासोको विषय बनेको छ । धर्मनिरपेक्षता, सङ्घीयता, जातिवाद र क्षेत्रियतावादका मुद्दामा मात्र होइन, कैयन अन्य समसामयिक विषयमा समेत एकथरि मानिस मोर्चावद्ध झैँ रहने गरेको देखिएको छ ।

पूर्वप्रधानन्यायाधीशहरू कल्याण श्रेष्ठ र सुशीला कार्की, कृष्ण पहाडी, दमननाथ ढुङ्गाना, कृष्ण हाछेथु, प्रचण्ड, खगेन्द्र सङ्ग्रौला, कृष्ण खनाल, दीपेन्द्र झा, रवीन्द्र मिश्र, बाबुराम भट्टराई, सिके लाल, विजयकान्त कर्ण, हरि शर्मा, युग पाठक, गगन थापा, कनकमणि र गोविन्द केसी तथा सेतोपाटी, नागरिक र कान्तिपुर हरेक विवादास्पद र महत्वूर्ण मुद्दामा एकापट्टी एकसाथ उभिने गर्दै आएका छन् ।

उल्लिखित व्यक्ति र संस्थाहरू राष्ट्रिय एकताभन्दा विखण्डन र जातियतावाद तथा धर्मसापेक्षता नभइ निरपेक्षताका पक्षमा सधैं एकजुट हुने गरेको महसूस आमजनताले गरिरहेका छन् । खासगरी पश्चिमा मुलुकले चासो राखेका हरेक विषयमा उल्लिखित व्यक्ति र संस्था जो जहाँ भए पनि एकै ठाउँमा आइपुग्छन् र ‘स्याल हुइयाँ’ शुरु गर्छन् । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा भएको संसद विघटनसम्बन्धी मुद्दामा पनि उल्लिखित पक्ष ‘एक’ देखिएको छ ।

भनिन्छ, अमेरिका र युरोपेली मुलुक संसद् विघटनको विपक्षमा छन् । उनीहरू निर्वाचन हुन नसक्दा संविधान विस्थापित हुने चिन्ताका कारण भयभित हुन पुगेको बुझिन्छ । राज्य कमजोर बनाउने अन्तरवस्तु समेटिएको वर्तमान संविधानको रक्षा संसद् पुनर्स्थापना भएमा मात्र सहज ढङ्गले हुन सक्छ भन्ने विश्वासमा पश्चिमाहरू देखिएका छन् । र, सोही लक्ष्य पूरा गराउन सहयोगी भूमिकामा ‘यो अघोषित मोर्चा’ क्रियाशील रहेको पाइएको छ ।