‘कोर्स करेक्सन’ कि प्रतिगमन ?

‘कोर्स करेक्सन’ कि प्रतिगमन ?


■ देवप्रकाश त्रिपाठी

वामपन्थी काङ्ग्रेस र वामपन्थी कम्युनिष्ट पार्टीका कतिपय घटक ‘प्रतिगमनविरुद्ध’ सङ्घर्ष गर्ने उद्घोष गर्दैछन्, गरिरहेछन् । नेपालमा हुँदै आएका हरेक आन्दोलन र सङ्घर्षलाई ‘प्रतिगमनका विरुद्ध’ भन्ने गरिन्छ । २०६२/०६३ सालमा शाही कदमको विरोधमा भएको आन्दोलनलाई मात्र प्रतिगमनविरोधी भनिएको होइन, २०५२ सालमा माओवादीले प्रजातन्त्र विस्थापनका निमित्त गरेको हिंसात्मक क्रियाकलापलाई पनि उसले ‘प्रतिगमनविरुद्ध’ भन्ने दाबी गरेको थियो । संवैधानिक राजतन्त्रात्मक व्यवस्था भएकोले २०६१ सालमा राजाले शासनाभार आफूमा निहित गर्नुलाई प्रजातन्त्रको प्रतिकुल कदम मानियो र, त्यसलाई प्रतिगमनको विरुद्ध भनिनु राजनीतिक अर्थमा अस्वभाविक पनि मानिएन । तर, २०५२ मा प्रजातन्त्रविरुद्ध गरिएको हिंसात्मक क्रियाकलापलाई समेत किन प्रतिगमनविरुद्धको आन्दोलन भनिएको हो, त्यसको जवाफ अहिलेसम्म खोजिएको छैन ।

प्रतिगमनको सामान्य अर्थ उल्टो यात्रा हो र, वृहत नेपाली शब्दकोषमा प्रतिगमनलाई ‘पछिल्तिर फर्कने काम’ भनी अर्थ्याइएको छ । हिंसात्मक क्रियाकलाप अग्रगमनतर्फको यात्रा हुने, प्रजातन्त्रचाहिँ प्रतिगामी व्यवस्था मानिने अवस्था हामीले यसअघि नै पार गरिसकेका छौँ । अब जननिर्वाचित कम्युनिष्ट पार्टीकै सरकारले पनि प्रतिगामी विशेषण पाउने ठाउँमा परिस्थिति आइपुगेको छ । त्यसैले प्रतिगमन र अग्रगमन के हो भन्ने बारेमा स्पष्ट गर्ने प्रयास यहाँ भएको छ ।

सुनको डुङ्गामा चढेर यात्रा गर्नु अग्रगमन र काठका थोत्रा डुङ्गा प्रयोग गर्न बाध्य हुनु प्रतिगमन होइन । नदी या तलाउ पार गर्नु अग्रगमन हो र, बाटैमा रुमल्लिनु या अनिच्छित ठाउँमा किनारा लाग्नुचाहिँ प्रतिगमन हो ।

अग्रगमन र प्रतिगमनका बारेमा स्पष्ट हुन मानिसले जीवनमा प्राप्त गर्न चाहने लक्ष्यका बारेमा जानकारी राख्नुपर्ने हुन्छ । साधन आफैंमा लक्ष्य नभई लक्ष्यप्राप्तिका निम्ति प्रयोग हुने अस्त्र मात्र हो । प्रजातन्त्र आफैंमा एउटा सुन्दर अवधारणा हो, तर प्रजातन्त्र भएर पनि विश्वका कैयन मुलुक विपन्नताको विछ्यौनामा पल्टिरहेका छन् । लोकतान्त्रिक गणतन्त्रलाई अग्रगमनको उपयुक्त साधन मान्न पनि उपयुक्त किन देखिँदैन भने विश्वको सबैभन्दा विपन्न प्रमाणित मुलुक कङ्गोले अवलम्बन गरिरहेको प्रणाली पनि लोकतान्त्रिक गणतन्त्र नै हो । कृषियोग्य पर्याप्त भूमि, वन-जङ्गल, सुनखानी, हिराखानी, ग्यास, तामा र युरेनियम खानीसहित जलश्रोतको समेत धनी देश कङ्गो लोकतान्त्रिक गणतन्त्रअन्तर्गत सञ्चालित छ र, संसारकै सबभन्दा गरीब मुलुकको पहिचान बनाएकोे छ ।

एकपटक गणतन्त्रमा गएर बाह्र वर्षपछि संवैधानिक राजतन्त्रमा फर्किएको, अर्थात ‘प्रतिगमन भएको’ बेलायत संसारकै समृद्ध मुलुकको कोटिमा छ । सेनाको एउटा जनरलले सत्ता हातमा लिएर बनाएको दक्षिण कोरियाले पनि यतिबेला समृद्ध मुलुकको परिचय बनाएको छ । कम्युनिष्ट पार्टीको एकदलीय अभ्यास गरिरहेको चीन महाशक्ति राष्ट्र बन्ने अन्तिम खुड्किलो चढ्दैछ र, गणतन्त्रात्मक संसदीय प्रजातान्त्रिक प्रणाली अवलम्बन गर्ने भारत पनि सोही दिशामा अग्रसर छ । त्यसैले साधन या प्रणाली आफैंमा अग्रगामी या प्रतिगामी हुँदैनन् भन्ने बुझ्नु पर्दछ । प्रतिगमनबारे स्पष्ट हुन अग्रगमनको साँचो अर्थ सम्झनु उपयुक्त हुनेछ ।

प्रत्येक मानिस जीवनमा ‘सुख’ प्राप्त गर्न चाहन्छन् र, सारा विश्व आफ्नो अनुकुल बनेको अवस्थालाई सुख भनिन्छ । ‘सु’को अर्थ अनुकुल र ‘ख’को अर्थ सम्पूर्ण आकाश अर्थात् विश्व हुने भएकोले पृथ्वीका सबै मानिसको लक्ष्य ‘सुखप्राप्ति’ बनेको छ । जो मानिस जहाँ छ त्यहीँ प्रतिकुलताको सामना गर्न बाध्य हुन्छ र हरेक मानिस जीवनमा प्रतिकुलतालाई अनुकुलतामा बदल्न निरन्तर प्रयत्न गरिरहेका हुन्छन् ।

समाजवाद नाम दिइएको एकदलीय राजनीतिक प्रणाली, कम्युनिष्ट पार्टीको अधिनायकत्व र राज्यनियन्त्रित अर्थ-प्रणाली साम्यवादमा पुग्नुअघिको कम्युनिष्ट लक्ष्य हो । हो, यिनै लक्ष्यतर्फको यात्रालाई मात्र कम्युनिष्टहरू अग्रगमन भन्ने गर्छन् र, समाजवाद (एकदलीय अधिनायकवाद) मा पुग्ने बाटोमा उत्पन्न हुने अवरोधलाई उनीहरू प्रतिगमन या प्रतिगमनउन्मुख कार्यका रूपमा ब्याख्या-विश्लेषण गर्ने गर्दछन् ।

हरेक मानिस जीवनमा सुरक्षित रहन चाहन्छन्, शान्तिको चाहना पनि मानिसमा हुन्छ नै । पर्याप्त धन-सम्पत्ति, सबल स्वास्थ्य र उपयुक्त ब्यायामशाला, नियमित आम्दानीको श्रोत, रोजगारी, स्वस्थ र स्वादिस्ट भोजन, आरामदायी घर, राम्रो पारिवारिक तथा सामाजिक वातावरण, आवश्यक शिक्षा र ज्ञानशाला, सुविधाजनक सवारी साधन, सामाजिक प्रतिष्ठा र पद, स्वच्छ पानी, गुणस्तरीय बस्त्र, स्वस्थ एवम् स्वच्छ पर्यावरण, सफा र फराकिला सडक, मनोरञ्जनका साधन तथा गन्तव्य, अवसरको प्रचुरता, न्यायिक सुनिश्चितता, सुदृढ राष्ट्रिय एकता र सबल राष्ट्रियता, स्वतन्त्रता, धार्मिक एवम् सांस्कृतिक अनुकुलता, आर्थिक तथा भौतिक विकास, मौलिक राष्ट्रिय पहिचान र प्रतिष्ठा, एकीकृत सम्मानित र सबल एवम् सर्वोच्च सार्वभौमिकता, इमानदार देशभक्त एवम् कुशल नेतृत्व र भ्रष्टाचारमूक्त कार्यमुखी प्रशासन हरेक मानिसको चाहना हो र, यिनै कुराहरू मानव जीवनका लक्ष्य पनि हुन् ।

उल्लिखित दुई दर्जनबढी लक्ष्य प्राप्त गर्न सक्ने जीवनलाई हामी सुखद मान्न सक्छौँ र उक्त लक्ष्यप्राप्ति तर्फको यात्रा नै अग्रगमन हो । मानिसको जीवनलाई सकारात्मक परिवर्तनको दिशामा लैजान नसक्ने, मानिसलाई खुशी, शान्ति र सुख दिन नखोज्ने व्यवस्था नाम जे राखे पनि त्यसलाई अग्रगामी मान्न सकिँदैन । गरिबी, अभाव, कष्ट, अनेकता, बेरोजगारी, अशिक्षा, दुःख, अप्राप्ति, ऋण, दुर्भाव, सङ्कटपूर्ण राष्ट्रिय अवस्था, विभाजित मानसिकता र युयुत्सा आदिलाई लक्ष्य बनाउन कोही पनि मानिस चाहँदैनन् । त्यसैले नकारात्मक तथा अनिच्छातर्फको यात्रालाई प्रतिगमन भनिन्छ । सुनको डुङ्गामा चढेर यात्रा गर्नु अग्रगमन र काठका थोत्रा डुङ्गा प्रयोग गर्न बाध्य हुनु प्रतिगमन होइन । नदी या तलाउ पार गर्नु अग्रगमन हो र, बाटैमा रुमल्लिनु या अनिच्छित ठाउँमा किनारा लाग्नुचाहिँ प्रतिगमन हो ।

नेपाली राजनीतिमा अग्रगमन र प्रतिगमन शब्दको ज्यादा चल्ती वामपन्थी कम्युनिष्टहरूबाट हुँदै आएको छ । पण्डितहरूले स्वर्गको परिकल्पना गरेझैँ कम्युनिष्टहरूले साम्यवादको कल्पना गरेका छन् र, त्यसैलाई लक्ष्य बनाएका छन् । साम्यवाद एउटा सुन्दर तर कोरा कल्पना मात्र भएकोले हुन सक्छ, लेनिनले साम्यवादमा पुग्नुअघि कम्युनिष्टको एकलौटी र स्थायी सत्ता हुनुपर्छ भन्ने सिद्धान्तको आविष्कार गरे । समाजवाद नाम दिइएको एकदलीय राजनीतिक प्रणाली, कम्युनिष्ट पार्टीको अधिनायकत्व र राज्यनियन्त्रित अर्थ-प्रणाली साम्यवादमा पुग्नुअघिको कम्युनिष्ट लक्ष्य हो । हो, यिनै लक्ष्यतर्फको यात्रालाई मात्र कम्युनिष्टहरू अग्रगमन भन्ने गर्छन् र, समाजवाद (एकदलीय अधिनायकवाद) मा पुग्ने बाटोमा उत्पन्न हुने अवरोधलाई उनीहरू प्रतिगमन या प्रतिगमनउन्मुख कार्यका रूपमा ब्याख्या-विश्लेषण गर्ने गर्दछन् । अग्रगमन र प्रतिगमनको ब्यापक एवम् सर्वमान्य परिभाषासँग कम्युनिष्टहरूको पूरा असहमति रहन्छ । उनीहरूले साधनप्राप्तिलाई अग्रगमन ठान्ने र भन्ने गरेका छन्, जबकि गैह्रकम्युनिष्ट संसारले साध्य प्राप्ति र अप्राप्तिको अवस्थालाई अग्रगमन या प्रतिगमनका रूपमा बुझेको छ । आम मानिसको विचारमा आफ्नो जीवनमा आइपर्ने कष्ट प्रतिगमन हो, तर कम्युनिष्टको विचारमा चाहिँ एकलौटी सत्ता (समाजवाद) प्राप्तिमा उत्पन्न अवरोध मात्र प्रतिगमन हो ।

काङ्ग्रेस पश्चिमी स्वार्थरक्षाका निम्ति खटिएका पालेहरूको दस्तामा रूपान्तरित भइसकेकोले राष्ट्रियताविरोधी वर्तमान संविधान बचाउनु काङ्ग्रेसको मूल कर्तव्य हुन पुगेको छ ।

प्रतिनिधिसभा विघटनपश्चात् प्रधानमन्त्री केपी शर्मा ओलीमाथि प्रतिगामीको आरोप लागेको छ भने उनको कर्म (विघटन) लाई प्रतिगमन भनिएको छ । निर्वाचनमा जाने या ताजा जनादेश लिने कार्यलाई प्रजातन्त्रको सुन्दर पक्षका रूपमा लिइन्छ, तर यहाँ ताजा जनादेश लिने कदमलाई किन प्रतिगमनसँग जोडिएको छ ? यो प्रश्नको जवाफभित्र नेपाली राजनीतिमा उत्पन्न बिग्रहको रहस्य निहित छ । पछिल्लो समयमा काङ्ग्रेस आफ्नो स्वार्थसमेत बुझ्न नमिल्ने/नसक्ने स्थितिबाट गुज्रँदैछ । देशलाई केन्द्रमा राखेर निर्णय लिन मात्र काङ्ग्रेसले बिर्सिएको होइन, आफ्नै पार्टीको स्वार्थ पनि बुझ्न छोडेको छ । आफ्नो र देशको हित बुझ्थ्यो भने काङ्ग्रेस न यो संविधान रक्षाका पक्षमा उभिएको हुन्थ्यो, न माओवादीसँग सहकार्य नै गर्दथ्यो । काङ्ग्रेस पश्चिमी स्वार्थरक्षाका निम्ति खटिएका पालेहरूको दस्तामा रूपान्तरित भइसकेकोले राष्ट्रियताविरोधी वर्तमान संविधान बचाउनु काङ्ग्रेसको मूल कर्तव्य हुन पुगेको छ । कम्युनिष्टभित्रको प्रचण्ड पक्ष र काङ्ग्रेसको धारणामा समानता देखिए पनि यी दुई पक्षको नियति र उद्देश्य भने भिन्न छ ।

प्रतिनिधिसभाको पुनस्र्थापना पश्चिमाहरूले पनि चाहेका छन् र चीनले पनि, तर नियत र उद्देश्य फरक छ । पश्चिमाहरूलाई संविधान रक्षाका निम्ति प्रतिनिधिसभा पुनस्र्थापना गराउनु परेको छ र, पुनर्स्थापना भएमा केपी र शेरबहादुर देउवाबीच सहकार्य गराउने तिनको रणनीति भएको बुझिन्छ । पुनस्र्थापनाको पक्षमा चीन पनि रहेको सङ्केतहरू देखापरेका छन्, कम्युनिष्ट पार्टीको एकता र कम्युनिष्टको एकमना सरकारका निम्ति चीन पुनस्र्थापनाको पक्षमा उभिएको बुझ्न सकिन्छ । पश्चिमा र चीनबीचका स्वार्थ सम्बन्धहरू नितान्त भिन्न भएको र दुई मुलुकबीचको तिक्तता गहिरिँदै गएको भए पनि संसद पुनर्स्थापनाको प्रश्नमा समान धारणा बन्नुको कारण भिन्न रहेको तथ्य हामीले बुझ्न सक्नुपर्छ । चीनसँग केपीको सम्बन्ध पहिलेझैँ घनिष्टतम् रहेको भए या त प्रचण्ड पक्ष केपीका विरुद्ध मोर्चाबद्ध हुने थिएन, या प्रचण्डहरूलाई समेटेर केपी अघि बढेका हुन्थे । चीनसँगको सम्बन्धमा खिया पर्न थालेपछि केपीले आफ्नो बाटो केही बदलेका हुन् । करिव दुई तिहाइ बहुमतको संसदलाई उपयोग गर्दै ‘समाजवादी क्रान्ति’ प्रक्रियालाई पूर्णता दिने योजना बनेपछि केपीले संसद नै भङ्ग गरिदिएका हुन् ।

नेकपाभित्रको विवाद वास्तवमा सत्ताको मात्र थिएन/होइन, सिद्धान्तको पनि हो । संसदमार्फत ‘समाजवादी क्रान्ति’ सम्पन्न गर्ने कि नगर्ने भन्ने विवादमा संसद विघटन गरिदिएर केपीले एकदलीय अधिनायकवादसम्म पुग्ने पुल भत्काएका हुन् । हो, त्यही एकदलीय अधिनायकवाद (समाजवाद) सम्म पुग्ने बाटोमा अवरोध उत्पन्न गराएकै कारण प्रचण्ड पक्षको दृष्टिमा केपी ‘प्रतिगामी’ ठहरिन पुगेका हुन् । तर काङ्ग्रेस नामको पार्टीले विघटनको निर्णयलाई ‘प्रतिगामी’ करार दिनुको कारणचाहिँ संविधान असुरक्षित हुने पश्चिमी चिन्ताबाहेक अरु केही नभएको बुझिन्छ ।

नेकपाभित्रको विवाद वास्तवमा सत्ताको मात्र थिएन/होइन, सिद्धान्तको पनि हो । संसदमार्फत ‘समाजवादी क्रान्ति’ सम्पन्न गर्ने कि नगर्ने भन्ने विवादमा संसद विघटन गरिदिएर केपीले एकदलीय अधिनायकवादसम्म पुग्ने पुल भत्काएका हुन् । हो, त्यही एकदलीय अधिनायकवाद (समाजवाद) सम्म पुग्ने बाटोमा अवरोध उत्पन्न गराएकै कारण प्रचण्ड पक्षको दृष्टिमा केपी ‘प्रतिगामी’ ठहरिन पुगेका हुन् ।

वास्तवमा केपीले संसद विघटन गरिदिएर प्रचण्डहरूको क्रान्तिप्रक्रियामा धेरै ठूलो धक्का पु¥याइदिएका छन् । यसअघि २०६६ वैशाखमा तत्कालिक प्रधानसेनापति रुकमाङ्गत कटवालका कारण सम्पूर्ण सत्ताको स्थायी मालिक बन्ने प्रचण्ड-सपना भत्किएको थियो । उनको दोस्रो प्रयास केपी ओलीले असफल बनाइदिएका छन् । यदि प्रचण्डले लक्षित गरेको ‘समाजवाद’ स्थापना हुन दिइनुपर्थ्यो भने ‘त्यसो हुन नदिएर’ केपीले प्रतिगामी कार्य गरेकै हुन् । संसद विघटन गरेर भए पनि बचेखुचेको प्रजातन्त्र रक्षा गर्ने कदमलाई सही मान्ने हो भने केपीको निर्णय अग्रगामी हो, अग्रगामी भनिनुपर्छ । संविधान र संसदलाई उपयोग गर्दै स्थापना हुन लागेको अधिनायकवाद केपीकै कारण टरेको छ ।

संसद् विघटन गरेर केपीले प्रचण्डको बाटो छेकेका मात्र छैनन्, आफ्नो राजनीतिक भविष्य पनि जोखिममा पुऱ्याएका छन् । निर्धारित समयमा निर्वाचन भए पनि केपीका नाममा उनको पार्टीलाई बहुमत प्राप्त हुने विश्वास गर्न सकिँदैन । लडाकुको नाममा भएको अर्बौं रूपैयाँ भ्रष्टाचार प्रकरण तथा बालुवाटार जग्गा घोटाला काण्डका मूख्य दोषीहरूलाई कानूनी कारवाहीको दायरामा ल्याउने, राष्ट्रिय बोझ बनेको प्रदेश संरचना विस्थापित गर्ने र धर्मनिरपेक्षता खारेज गरी धर्मसापेक्ष मुलुक बनाउनेतर्फको यात्राले मात्र केपीलाई सत्तामा पुनस्र्थापित गर्ने देखाउँछ । प्रधानमन्त्री केपी शर्मा ओलीले यति गर्न सके भने प्रचण्डहरूको दृष्टिमा ‘प्रतिगामी’ प्रमाणित हुँदाहुँदै पनि उनी इतिहासस्मरणीय बन्ने छन्, होइन भने नयाँ वर्ष (२०७८) को प्रारम्भसँगै केपीको राजनीतिक भविष्यमा सङ्कट पैदा हुने अनेकौँ कारण छन् ।

सत्तामा पुगेर पनि ‘डेलिभरी’ दिन नसक्नुलाई प्रतिगमन मानिँदा हालसम्म सत्तामा पुगेका सबैलाई प्रतिगामी करार दिनुपर्ने हुन्छ, प्रचण्डदेखि झलनाथ, माधव, देउवा, सुशील, गिरिजा आदि सबै प्रतिगामी हुन् । राजनीतिक दृष्टिले केपी या प्रचण्ड को प्रतिगामी हुन् त्यो केलाउने जिम्मेवारी सचेत नागरिकको हो । थाइल्याण्ड, कम्बोडिया, स्पेन र बेलायत जस्ता मुलुक ‘कोर्स करेक्सन’ गरेपछि मात्र समृद्धितर्फको यात्रामा सफल हुँदै गएका हुन् । ‘कोर्स करेक्सन’ नेपालको आवश्यकता हो, यदि केपी ओली ‘कोर्स करेक्सन’ प्रक्रियामा नेतृत्वदायी भूमिका निर्वाह गर्न तयार हुन्छन् भने त्यसले नेपालको राजनीतिलाई मात्र नयाँ ठाउँमा पुऱ्याउने छैन, देशको इतिहास नै बदलिने छ । समाजवादमा छलाङ मार्नु प्रतिगमन हो या ‘कोर्स करेक्सन’ गर्नुचाहिँ प्रतिगमन हो, त्यसको सही जवाफ दिने दायित्व पनि केपीकै काँधमा थपिएको छ ।