टेनिसमा प्रशिक्षकद्वयको दादागिरी

टेनिसमा प्रशिक्षकद्वयको दादागिरी


गैरकानुनी रूपमा रकम माग्दा खेलाडी पुगे परिषदमा

  • श्रीविक्रम भण्डारी

राष्ट्रिय खेलकुद परिषद्का प्रशिक्षकद्वय रेणुदेवी कोण्डा र सूर्यभुषण बज्राचार्यले टेनिस खेलका राष्ट्रिय र अन्य खेलाडीसँग गैरकानुनी रूपमा रकम माग गरेपछि टेनिस खेलाडीहरूले आपत्ति र विरोध जनाउँदै राखेपमा निवेदन दर्ता गराएका छन् । टेनिस खेलाडीहरूले पुष ३ गते राखेपमा निवेदन दर्ता गराएका हुन् । प्रशिक्षकद्वय कोण्डा र बज्राचार्यले प्रत्येक खेलाडीसँग मासिक ६ हजारका दरले शुल्क मागेको टेनिस खेलाडीहरूले निवेदनमा उल्लेख गरेका छन् । साथै मासिक ६ हजार शुल्क तिर्न नसक्ने खेलाडीलाई प्रशिक्षणमा नआउन भनेको समेत उनीहरूले खुलासा गरेका छन् । राष्ट्रिय खेलकुद परिषद्को प्रशिक्षक भएको आडमा हाकाहाकी रूपमा रकम माग्दै खेलाडीहरूमाथि ज्यादति गर्न थालेपछि बाध्य भइ टेनिस खेलाडीहरूले न्यायका लागि राखेपमा निवेदन दिएका हुन् ।

राष्ट्रिय प्रशिक्षक भनेको खेलाडीलाई उचित, आवश्यक र सकभर स्तरीय प्रशिक्षण दिँदै खेलाडीहरूको स्तरोन्नतिमा लाग्नुपर्ने दायित्व बोकेको पात्र हो । खेलाडीका कठिनाइहरू दृष्टिगत गर्दै तिनका समस्या र आफ्नो जिम्मेवारीको बारेमा सम्बन्धित निकाय सङ्घ र परिषद्लाई जानकारी गराउनुपर्छ । तर प्रशिक्षकद्वय कोण्डा र बज्राचार्यले खेलाडीको समस्या वा मर्मको प्रतिनिधित्व गर्नुको साटो उल्टै उनीहरूसँग अनावश्यक रकम असुल गर्ने जस्तो घिनौनो कार्य गर्दै उनीहरूको हुर्मत लिन अग्रसर देखिएका छन् । जसले यतिबेला टेनिस खेलाडीहरू आफ्नो खेल्न पाउने हक अधिकारबाट वञ्चित भएका छन् भने अर्कोतर्फ उनीहरूमा निराशा उत्पन्न भएको छ । रक्षक नै भक्षक भएर खेलाडीको भविष्यमाथि खेलबाड गर्दै दादागिरी गर्न थालेपछि खेलाडीहरूको खेल भावनामा ठूलो कुठाराघात भएको छ । साँचो अर्थमा भन्नुपर्दा यतिबेला खेलाडीहरू अन्योलमा पर्नुको साथै निरुत्साहित समेत बन्न पुगेको उनीहरूले निवेदनमा उल्लेख गरेको शब्दावलीबाट पनि प्रस्ट रूपमा जानकारी पाउन सकिन्छ ।

निवेदनमा टेनिस खेलाडीहरूले गत वर्ष नेपालमा सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा टेनिस टोलीले ऐतिहासिक पाँचवटा कास्य पदक जितेको स्मरण गराएका छन् । यस्ता उदीयमान खेलाडीहरूलाई हौसला प्रदान गरी उत्कृष्ट प्रशिक्षणको ब्यवस्था गर्नुको साटो उल्टै प्रशिक्षणको लागि खेलाडीहरूसँग मासिक रकमको माग गर्नु र खेलकुद सामग्रीको आफैले व्यवस्था गर्नु भन्नु कत्तिको उचित हो, अहिले प्रश्नचिन्हको घेरामा परेको छ । खेलाडीलाई प्रशिक्षण गराउन राखेपले प्रशिक्षकद्वयलाई तलबको व्यवस्था गरेको छ । यस्तो अवस्थामा प्रशिक्षकद्वयले रकमको माग गरेर खेलाडीहरूलाई कमाइ खाने भाँडोको रूपमा उपयोग गर्न खोज्नु खेलाडीको लागि दुर्भाग्य भएको छ । यतिबेला किटानीका साथ टेनिस खेलाडीले देवनागरी लिपीमै निवेदन दिएकाले राखेपले त्यसको उचित छानबिन गर्दै प्रशिक्षकद्वयलाई कानुनी कारवाही प्रक्रिया अगाडि बढाउनुपर्ने देखिन्छ ।

विगत एक दशक अगाडिसम्म पनि टेनिसमा आमनेपालीको पहुँच बिरलै थियो । यो सम्भ्रान्त परिवारमै सीमित थियो । यस्तोमा तत्कालिन टेनिस सङ्घका अध्यक्ष मनोज राणाले टेनिसको चारदिवारी आमखेलाडीको लागि खुल्ला गरेर टेनिसमा नौलो आयामको शुभारम्भ गरेका थिए । एकादेशको कथा बन्दै गएको टेनिसमा राणाले व्यक्तिगत लाखौँ लगानी गरेर टेनिसमा प्राणवायु भरेका थिए । राणाले व्यक्तिगत रूपमा टेनिसको राष्ट्रिय तथा जुनियर प्रतियोगिता गरेर सम्भ्रान्तबाट आमनेपालीको पहुँचको खेलको रूपमा टेनिसको विकास र विस्तार गरेको कसैबाट छिपेको छैन । टेनिसकै विकास र विस्तारका लागि राणाको चार पुस्ताले योगदान दिइसकेको छ भने पाँचौ पुस्ता पनि त्यसको लागि तयार भइसकेको छ ।

यस्तो अवस्थामा विगतमा सम्भ्रान्त खेल भनी बदनाम भएको टेनिसलाई राष्ट्रिय प्रशिक्षकहरूले पुनः सम्भ्रान्त परिवारमा मात्र सीमित बनाउन खोज्नु र पुरानै मार्गमा डो¥याउन खोज्नु टेनिसको भविष्यको लागि राम्रो सङ्केत मान्न सकिँदैन । साँचो अर्थमा भन्नुपर्दा यो खेलाडीमाथि ज्यादती हो, खेलाडीको हैसियतको खिल्ली उडाउनु हो । यस्तो अदूरदर्शी कार्यले खेलाडीहरूलाई पलायनको बाटोमा मात्र उद्दत गर्ने पक्का छ । यदि यही कारणले भविष्यमा नेपाली टेनिसमा ग्रहण लाग्यो र खेलाडीहरू खेल्न पाउने हक र अधिकारबाट वञ्चित भए भने त्यसको सम्पूर्ण जिम्मेवारी प्रशिक्षकद्वय कोण्डा र बज्राचार्यले लिनुपर्ने हुन्छ ।

नेपाली टेनिस खेलको विकास र विस्तारमा राष्ट्रिय खेलकुद परिषद्ले नियुक्त गरेका प्रशिक्षकहरूको भूमिका कस्तो छ त्यो घामजस्तै छर्लङ्ग छ । उनीहरूको काम, कर्तब्य र जिम्मेवारी भनेको घाम ताप्ने र तलब-भत्ता पचाउने मात्रै हो । उनीहरूले अहिलेसम्म यो भन्दा उत्कृष्ट कार्य अरु कुनै केही गरेकै छैनन् भन्दा अतिसयोक्ति नहोला । यसैले होला, पीडित खेलाडीहरूले राखेपमा दिएको निवेदनमा पनि यो कुरा उल्लेख गरेका छन् । टेनिस खेलाडीले राष्ट्रिय प्रशिक्षकहरूको काम कर्तव्य, जिम्मेवारी र दायित्व के हो ? त्यो कुरा खुलाई दिनसमेत राखेपसँग अनुरोध गरेका छन् । खेलाडीहरूको यो कुराले के पनि प्रष्ट हुन्छ भने– ‘टेनिसमा राष्ट्रिय प्रशिक्षकको काम छैन, उनीहरू २१औँ शताब्दीका खेलाडीहरूलाई प्रशिक्षण दिन अयोग्य छन्, यस्ता प्रशिक्षकहरूको प्रशिक्षणले नेपाली टेनिसको स्तरोन्नति हुन सक्तैन, नेपालले अन्तर्राष्ट्रिय स्तरमा छलाङ मार्न सक्तैन ।’ त्यसको लागि योग्य टेनिस प्रशिक्षक व्यवस्था गर्नुपर्ने खेलाडीहरूले राखेपलाई सङ्केत गरेका छन् ।

को हुन् त टेनिसका प्रशिक्षकद्वय कोण्डा र बज्राचार्य ? उनीहरू पति–पत्नी हुन् । कोण्डा वर्तमान अवस्थामा टेनिसकी मुख्य प्रशिक्षक हुन् भने बज्राचार्य प्रशिक्षक । कोण्डा टेनिसको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी नभए पनि सष्ट टेनिसकी खेलाडी भने हुन् । पछि पटियालाबाट प्रशिक्षणको कोर्स गरेपछि दुवै जना राखेपका प्रशिक्षक बन्न सफल भएका हुन् । टेनिस प्रशिक्षणमा पतिपत्नीको योग्यताको तुलना गर्दा बज्राचार्य पत्नीभन्दा अब्बल देखिए पनि खेलाडीलाई प्रशिक्षण गराउने कुरामा उनी पनि अयोग्य छन् । जुन कुरालाई खेलाडीहरूले प्रश्नचिन्हको घेरामा राख्दै राखेपमा दिएको निवेदनले समेत प्रमाणित गरेको छ ।

टेनिस खेलबाटै आधा विश्व घुमिसकेको यो दम्पति अहिले टेनिसको विकास र विस्तारमा किन अवरोध बनिरहेका छन् र खेलाडीहरूमाथि किन दादागिरी गरिरहेका छन्, यतिबेला चासो र चर्चाको विषय बनेको छ । यदि भोलि खेलाडीहरू मारमा परे भने उनीहरूको छोरा संरक्षण भूषण (जो अहिले अष्ट्रेलिया छन्) उनी पनि यही घानमा पिसिने कुरालाई नकार्न मिल्दैन । उनलाई अष्टे«लिया पढ्ने र प्रशिक्षणको सम्पूर्ण चाँजोपाँजो नेपाल टेनिस सङ्घले गरेको थियो । अर्को कुरा मनोज राणाकै दुरदर्शी योजना (जुनियर टेनिस)को अवधारणाबाट संरक्षण टेनिसमा उदाएका हुन् । संरक्षण वर्तमान अवस्थामा नेपाली टेनिसका उदीयमान खेलाडी पनि हुन् ।

प्रशिक्षकद्वय कोण्डा र बज्राचार्यले राजनीतिक शक्तिको फाइदा उठाउँदै टेनिसलाई बदनाम गर्ने कार्य गर्दै आएको समेत खुलासा भएको छ । जुन थालमा खायो त्यस्तैमा प्वाल पार्दै क्रममा उनीहरूले टेनिस सङ्घ र पदाधिकारीका बारेमा कुप्रचार गर्दै आएको पनि स्रोतले जनाएको छ । यसको ज्वलन्त उदारहणको रूपमा टेनिस सङ्घलाई बाइपास गर्दै दुई वटा टेनिस कोर्ट हत्याउनुले पनि प्रस्ट पार्छ । अर्को कुरा उनीहरूले सङ्घलाई विनाजानकारी तालिम तथा प्रशिक्षण विभागका प्रमुख अर्जुन विकलाई भनेर ल्याएको पत्रले पनि यसलाई पुस्टि गर्छ ।

प्राप्त जानकारीअनुसार अर्जुन विकले नै यी दुवै जनालाई सङ्घलाई जानकारी नै नदिई टेनिसको प्रशिक्षक बनाएर पठाएको बुझिएको छ । यसरी सम्बन्धित निकाय नेपाल टेनिस सङ्घ हुँदाहुँदै प्रशिक्षकद्वयले राखेप प्रशिक्षक भएको धाक लगाउँदै एकातिर टेनिसमा राजनीति गरिरहेका छन् भने अर्कोतर्फ खेलाडीहरूलाई गुमराहमा पारेर उनीहरूमाथि शोषण गर्दै आएका छन् ।

राजनीतिक पहुँचको आधारमा टेनिसलाई विवादित तुल्याउन प्रशिक्षकद्वयले यस्तो हरकत गरेको बुझिएको छ । टेनिस खेललाई नयाँ बिन्दुबाट अगाडि बढाउने भन्दै उनीहरूले सङ्घका पदाधिकारीको विरोध गर्दै अध्यक्ष ज्योति राणालाई समेत हटाउनुपर्ने बयानबाजी गर्दै आएको स्रोतले दाबी गरेको छ । उनीहरूले यस्तो रणनीति अख्तियार गर्नुमा टेनिसमा हालिमुहाली गर्नु नै पहिलो कारण हो । त्यही हालिमुहाली गर्न नपाएका कारण उनीहरूले राखेपबाट दुई वटा छुट्टै टेनिस कोर्टको माग गरेका थिए । टेनिस कोर्ट प्राप्त गरेपछि प्रशिक्षकद्वयले टेनिस खेलाडीलाई प्रशिक्षण दिने बहानामा उठाउन खोजेको ६ हजार रूपैयाँले पनि यो कुरालाई पुष्टि गर्छ । उनीहरूले टेनिसलाई कमाई खाने भाँडोको रूपमा प्रयोग गर्न खोज्दा त्यसको विरुद्धमा टेनिस खेलाडीले प्रशिक्षकद्वयको हैसियत, योग्यता र मनसायप्रति प्रश्नचिन्ह खडा गर्दै राखेपमा निवेदन दिएका थिए । जसको सुनुवाई हुनु बाँकी छ ।

‘दोषी ठहरिए राखेपले कारवाही गर्छ’

राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत तालिम तथा प्रशिक्षण विभाग प्रमुख अर्जुन विकले टेनिस खेलाडीहरूसँग रकम माग गर्ने प्रशिक्षकद्वय रणुुदेवी कोण्डा र सूर्यभुषण बज्राचार्यलाई राखेपले कारवाही गर्ने बताएका छन् । प्रशिक्षकद्वयका विरुद्ध टेनिसका राष्ट्रिय र अन्य खेलाडीहरूले मासिक ६ हजार मागेको भन्दै राष्ट्रिय खेलकुद परिषद्मा निवेदन दिएका थिए । परिषद्मा निवेदन परेको छ, त्यसको आवश्यक छानवीन हुन्छ, र दोषी ठहरिए कारवाही गर्ने विकले बताए ।

प्रमुख विकले यदि राखेपका प्रशिक्षकद्वयले प्रशिक्षणरत टेनिस खेलाडीसँग ६ हजार मागेको र दिन नसके खेल्न नआउनु भनेका हुन् भने म कारवाही गर्छु भनेका छन् । प्रशिक्षकले राखेपको निर्देशनविना त्यस्तो कुनै गैरजिम्मेवारी काम गर्न मिल्दैन । उनीहरूलाई राखेपले प्रशिक्षणको लागि पठाएको हो, पैसा उठाउन होइन, राखेपको निर्देशन पनि छैन, विकले प्रस्ट पारेका छन् । स्मरण छ, नेपाल टेनिस सङ्घलाई जानकारीविना नै विकले प्रशिक्षकद्वयलाई टेनिसमा पठाएका थिए ।

प्रशिक्षकद्वयले टेनिस खेलाडीहरूसँग रकम माग गरेको सम्बन्धमा जानकारी माग्दा खेलाडीले राखेपमा निवेदन दिएको सुनेको प्रमुख विकले बताए । मलाई अहिले सम्पूर्ण कुराको जानकारी छैन भन्दै राखेपले खेलाडीहरूलाई मारमा पर्ने कुनै कार्य नगरेको उनले जिकिर गरे । यदि कसैले राखेपको निर्देशनबेगर काम गर्छ भने त्यो कारवाहीको भागिदार बन्ने खुलासा गर्दै विकले भने– ‘परिषद्को कर्मचारी भएपछि परिषदको नियमसँगत चल्नुपर्छ, व्यक्तिगत रूपमा चल्ने कसैलाई छुट छैन ।’

राखेपकै अनुरोधमा टेनिस सङ्घले अहिले खेलाडीहरूको प्रशिक्षणको लागि दुई वटा कोर्ट उपलब्ध गराएको विकले बताए । सोही कोर्टमा प्रशिक्षकद्वयले केही दर्जन बल किनेर प्रशिक्षण गराउँदै आएको खुलासा गरे । यो प्रशिक्षणपछि अभिभावक र खेलाडी दुवै खुशी भएको विकले दाबी गरे । पहिले घण्टा–घण्टाको रकम तिर्नुपथ्र्यो अहिले यसमा राहत भएको विकको भनाइ छ ।

राखेपले टेनिसका खेलाडीहरूको प्रशिक्षणको लागि कुनै खेल सामग्री उपलब्ध नगराएको विकले बताएका छन् । कोभिडले बजेटमा नपरेका कारण यस्तो स्थितिको उत्पन्न भएको र केही समयमै खेलाडीहरूको लागि खेल सामग्री उपलब्ध गराइने प्रमुख विकले जानकारी गराए ।