जापानमा वयस्क दिवसमाथि कोभिडको प्रभाव
प्रकाशित मिति
२८ पुष २०७७, मंगलवार १२:५९
विशेष प्रतिनिधि, टोकियो (जापान)
२० वर्ष उमेर पुगेका जापानी युवायुवतीहरुले सोमबार वयस्क दिवस मनाएका छन् ।
हरेक वर्षको दोस्रो सोमबार जापानमा वयस्क दिवसका रुपमा मनाइन्छ । यसलाई जापानी भाषामा सेइजिन नो हि भनिन्छ । यद्यपि धेरै कार्यक्रमहरू भने कोरोना भाइरसको डरले रद्द गरिएका थिए ।
गत डिसेम्बर मसान्तसम्ममा २० वर्ष उमेर पुगेका वा आगामी मार्च मसान्तसम्म पुग्ने युवा युवतीहरुले यो पर्व जापानमा विशेष रुपले मनाइन्छ ।

जापानमा २० वर्ष उमेर पुगेकाहरुलाई वयस्क मानिन्छ त्यसपछि मात्र उनीहरु कानूनतः मद्यपान तथा ध्रुमपान गर्न पाउँछन् अन्यथा वर्जित मानिन्छ । यसका साथै २० वर्ष उमेर पुगेपछि उनीहरु आफुखुशी विवाह गर्न योग्य मानिनुका साथै आफ्नो खुट्टामा आफै उभिन सकून् भनेर बाबुआमाबाट अलग्गै बसेर आफ्नो नयाँ जीवन सुरु गर्ने चलन जापानमा छ ।
२० वर्ष मुनि विवाह गर्न परेमा भने बाबुआमाको सहमतिमा युवती १६ वर्ष र युवा १८ बर्षको उमेर हद तोकिएको छ । यद्यपि जापानमा मताधिकारको प्रावधान भने १८ वर्ष उमेर पुगेकालाई बालिग मानिन्छ ।
