चर्चित कुटनीतिज्ञ बर्नसलाई केन्द्रीय गुप्तचर प्रमुख बनाउँदै वाइडेन

चर्चित कुटनीतिज्ञ बर्नसलाई केन्द्रीय गुप्तचर प्रमुख बनाउँदै वाइडेन



अमेरिकाको राष्ट्रपतिमा नवनिर्वाचित जो वाइडेनले चर्चित कुटनीतिज्ञ विलियम बर्नसलाई केन्द्रीय गुप्तचर प्रमुखको जिम्मेवारी प्रदान गर्ने भएका छन् ।

केन्द्रीय गुप्तचर निकाय सिआइएको निर्देशकको रूपमा विलियमलाई नियुक्त गर्ने निर्णय भएको वाइडेनले सोमबार घोषणा गरेका हुन् ।

सरकारी कर्मचारीका रूपमा झण्डै ३३ वर्ष सेवा गरेका बर्नस अहिले ६४ वर्षका छन् । उनी यसअघि रूस र जोर्डनका लागि अमेरिकी राजदूतसमेत भएका थिए ।

उनले डेमोक्र्याटिक र रिपब्लिकन दुवै पार्टीबाट निर्वाचित राष्ट्रपतिको मातहतमा रहेर काम गरिसकेका छन् भने अमेरिकी सरकारी सेवा र कुटनीतिक क्षेत्रमा राम्रो छवि भएको तथा प्रभावकारी क्षमता भएको व्यक्तिका रुपमा चिनिन्छन् ।

गत सन् २०१७ देखि एक वर्षअगाडिसम्म राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा समेत कार्यरत विलियमले ट्रम्पको कुटनीतिक भूमिका अत्यन्त आलोचित भएपछि जिम्मेवारी छाडेका थिए ।

“दशकौँको कार्य अनुभव र दक्षताका आधारमा विलियम बर्नस अहिले अनुकरणीय कुटनीतिज्ञ भएका छन्, रक्षा र सुरक्षाको क्षेत्रमा पनि उनको विश्वस्तरीय ज्ञान र क्षमता छ,” बाइडेनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

उनलाई आगामी कार्यकालमा गुप्तचर निकाय प्रमुखको रुपमा जिम्मेवारी दिँदा राष्ट्रलाई फाइदा हुने र अमेरिकामा बस्नेहरु ढुक्कसँग निदाउन पाउने बाइडेनको भनाइ छ ।

अस्फोर्ड विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि पनि हासिल गरेका बर्नसले राम्रो काम गरेको व्यक्तिको रूपमा अति उच्च स्तरका विभिन्न सम्मानहरु पनि प्राप्त गरेका छन् ।