हिँजडावाद हाबी हुँदा देश बर्बाद-दीर्घराज प्रर्साईं

हिँजडावाद हाबी हुँदा देश बर्बाद-दीर्घराज प्रर्साईं


नेपालका सत्ताधारीहरू मुलुक कब्जामा लिएर ब्रह्मलुट मच्चाइरहेका छन्, अराजकतालाई संस्थागत गर्दै छन् । यस कार्यका निम्ति उनीहरूलाई बाह्य शक्तिहरूको आड मिलेको छ । जनतामा अमूक किसिमका त्रास फैलाउनु र हतियारको तुजुक देखाएर देशलाई यथास्थितिको बन्धक तुल्याइरहनु यिनीहरूको नियत र नियति बनेको अनुभूति हुन्छ । कुरा अग्रगमन र नयाँ नेपालको गरे पनि दलहरूका विगत केही वर्षको गतिविधि या व्यवहारले यही दर्शाउँछ ।
लाज-घीन सबै पचिसकेका कथित राजनीतिक तत्त्वबाट नेपालको राष्ट्रियता र प्रजातन्त्र घायल छ भने सार्वभौमसत्ता खतरामा परेको छ । संविधानसभामार्फत दुई वर्षभित्रमा संविधान बनाउने निर्णय गरिएको सन्दर्भ अब फगत् एक कलाविहीन उदास नाटक र जनतालाई धोकामा राखेर देशको अस्तित्व नै मेटाउने प्रकृतिको निन्दनीय खेल भएको प्रस्ट हुँदै छ । आफूखुसी म्याद बढाएर जनतालाई थप धोका र भ्रम दिने कोसिस यतिखेर भइरहेछ ।
सरम पचेपछि नैतिकता भन्ने कुरा गौण विषय बन्न पुग्छ । आजका हाम्रा राजनीतिक दलहरूमा यही चरित्र देखिएको छ । जनताले यस्ताहरूलाई आफैं कारबाही गर्ने कर्तव्य निर्वाह गर्दैनन् भने मनखुसी म्याद बढाएर यिनले मुलुकमा लुट मच्चाइरहने छन्, चुसिरहने छन् ।
कथित तीन ठूला पार्टीहरूले धर्मनिरपेक्ष, गणतन्त्र र सङ्घीयताको चिहान खनेर राष्ट्रिय एकतालाई छिन्नभिन्न बनाउन लागेका छन् । नेपाल विदेशीहरूको रणभूमि बनाएर हिँड्ने तीन पार्टीका नेता पहिला पनि प्रजातन्त्रवादी थिएनन्, अहिले पनि छैनन् र पछि पनि हुने छैनन् । राष्ट्रलाई योगदान दिएको यिनीहरूको रेकर्ड नै छैन, बरु राष्ट्र ओरालो लगाउनमा यिनको भूमिका प्रखर देखिएको छ । सुरक्षा र लोकतन्त्र नेपालमा छ भनिठान्नु मूर्खतासिवाय केही ठहरिन्न । आफ्नै ज्यान कसरी बचाउने र कसरी आफ्नो सम्पत्ति जोगाउने भन्ने त्रसित स्वार्थी सोचबाट सत्ताधारीहरू ग्रसित भएको अवस्थामा यिनीहरूबाट के आशा राख्ने – संविधानलाई नै कागजको खोस्टो तुल्याएपछि जनताको हक र राष्ट्रिय स्वतन्त्रताको के अर्थ रहन्छ र ? हतियारधारी जत्थाबिना स्वअस्तित्वको कल्पना गर्न नसक्ने पार्टीहरूबाट कस्तो प्रजातन्त्रको आशा गर्ने ? अर्थात्, एकले अर्कालाई ठग्ने तर जसले जसलाई ठगेको हुन्छ उही नै नभइनहुने प्रवृत्ति दलहरूमा देखिएको छ । यसरी एकले अर्कालाई ठग्ने, ढाँट्ने, छल्ने र आपसी भेटघाटमा व्यस्त भइरहने तीन पार्टीका आडम्बरी नेताहरू नदीको बीचमा घोडा साटासाट गर्ने ठग व्यापारीभन्दा फरक छैनन् । यो जात्रा नेपाली जनताले कहिलेसम्म हेरिरहने –
हिँजडावाद, अन्योल र बर्बादी नेपालको यतिखेरको पहिचान बन्न पुगेको छ । अनमिन र संयुक्त राष्ट्रसङ्घका कथित मानवअधिकारवादीहरूलाई समयमै पन्छाउन नसक्नुको परिणति अहिले भोग्नुपरेको छ । अझै तिनीहरूको म्याद थप्दै नेपाली आमाको बलात्कार गराउनमा सत्ताधारीहरू तल्लीन छन् । कत्रो दुर्भाग्य !
काङ्ग्रेस र एमालेका ‘हिँजडा’हरूले सत्ताप्राप्तिका लागि माओवादीको बुर्इ चढेर राष्ट्रघात गरेको धोकाको परिणाम आज भोग्दै छन् । अर्काले उल्क्याएको भरमा सत्ताको लोभमा परेर गणतन्त्रवादी धार समातेकाले काङ्ग्रेसको प्रजातन्त्रवादी छविलाई समाप्त पारेको छ । राज्यसत्तामा यसरी बाटो बिराएर हिँड्नेहरू बद्नाम बन्छन् । माओवादी त विद्रोही शक्ति नै हो, उसले जस्तो पनि रणनीति बनाउन सक्छ । उसको गन्तव्य काङ्ग्रेससँग लागेर काङ्ग्रेस सिध्याउनु हो भन्ने कुरा गिरिजाप्रसादहरूले नबुझेर संसदीय प्रजातन्त्रका मूल्य र मान्यताहरू समाप्त पारेका छन् । काङ्ग्रेसका र एमालेभित्रका कुतत्त्वहरूले राष्ट्रलाई जोखिममा पारेका छन् । पञ्च नेताका रूपमा चिनिनेहरू पनि कथित लोकतन्त्रकै चिहानमा पुरिएका छन् । राष्ट्रघातको मञ्चनमा सामेल हुनेहरू सबै राष्ट्रघाती अपराधी नै कहलाइन्छन्, कालान्तरमा ।
तसर्थ, राष्ट्र डुब्न लागेको यो भयावह परिवेशमा कुनै पनि नेपाली चुप बस्नु भएन । दलहरूभित्र रहेका बीस-चालीसजना भाट बुद्धिजीवीहरूलाई पनि पनि कठघरामा उभ्याइनुपर्छ । पैसाका लागि जसको पनि खेतला बन्न पुग्ने कुमति दर्शाएर नेपालको बौद्धिक समुदायले आफ्नो भ्रष्ट र लुच्चो प्रवृत्ति छताछुल्ल पारिसकेको छ । यस्ता दलालका सिकन्जाबाट राष्ट्रले मुक्ति पाउनुपर्छ ।
राजसंस्था पाखा बसेको बितेको तीन वर्षमा विकराल अवस्था आउनुले के सन्देश दिन्छ ? देशप्रति प्रेम हुनेले छातीमा हात राखेर मनन गर्नु अत्यावश्यक छ । यिनीहरूलाई दर्जनौँ भाषामा सरकारी लेखापढी किन आवश्यक पर्‍यो – के विविध भाषाभाषीलाई उचालेर नेपाली जनताबीच अन्तरसम्बन्ध कायम हुन्छ – यिनीहरूलाई किन धर्मनिरपेक्षता चाहियो – विश्वको एक मात्र हिन्दू अधिराज्य कहलिएकोमा यसले कुन जाति र धर्मलाई तड्पाएको थियो – जातीय आधारमा सङ्घीयताको कुरा राष्ट्र विखण्डनको एजेण्डा होइन र – सङ्घीयता र जातीय स्वायत्तताको कुराले मुलुक धराशायी बनेको छ । वास्तवमा सानो देशमा भौगोलिक, जातीय-सामाजिक अवस्थाको अध्ययन नै नगरी हचुवाका भरमा राष्ट्र विखण्डनको दोसाँधमा पार्ने कथित नेताहरूलाई सत्तामा रहिरहने कुनै अधिकार छैन ।
यिनीहरू संविधानसभा भन्छन्, तर कस्तो संविधान बनाउने हो त्यो उनीहरू कसैलाई जानकारी छैन । जनताको म्यान्डेटबिना बाँचुन्जेल सत्तामा बसेर ब्रह्मलुट मच्चाउन पाइन्छ भने किन चाहियो यिनलाई निर्वाचन – यस हिसाबमा यी दण्डका भागीदार छन् । ०६३ सालपछिका नेता र संविधानसभाका ६०१ जनालाई कम्तीमा पनि ५ वर्षसम्म कुनै पनि राजनीतिक, सामाजिक र आरि्थक कारोबारमा रोक लगाइनुपर्छ । देश र जनताको हितमा काम गर्न खोजेको भए कसैले औंला ठड्याउँदैनथ्यो ? यस्ता देशद्रोही अपराधी नेता नेपालीजनलाई चाहिँदैन । समय आएपछि देशभक्त नेपाली जनताले यिनका हिसाब लिने नै छन् ।
[email protected]