कामदार तथा मजदुरको नाममा भ्याट छलेर अर्बौंको ठगी

कामदार तथा मजदुरको नाममा भ्याट छलेर अर्बौंको ठगी



सरकारको छानबिनबाट बच्नका लागि व्यापारीले कामदार तथा मजदुरका नाममा समेत मूल्य अभिवृद्धि कर (भ्याट) नम्बर तथा बैंक खाता खोलेर ठगी गर्ने गरेका पाइएको छ । राजश्व अनुसन्धान विभागले गरेको अनुसन्धानका क्रममा त्यस्तो बदमासी देखिएको हो ।

विभागले आइतबार उच्च अदालत पाटनमा एक व्यवसायीविरुद्ध दायर गरेको मुद्दामा जोडिएका केही व्यक्ति कामदार तथा श्रमिक रहेको पाइएको छ ।

नक्कली भ्याट बिल बनाई राजश्व छली गरेको अभियोगमा विभागले न्यू सयपत्री इन्टरप्राइजेजका सञ्चालक मनिषकुमार समेत १५ जनाविरुद्ध एक अर्ब २२ करोड २० लाख १९ हजार १९ बराबरको ठगी गरेकोमा कारवाही अघि बढाएको छ ।

बताइएअनुसार न्यू सयपत्री इन्टरप्राइजेजलगायत विभिन्न १३ वटा फर्महरु कमजोर आर्थिक अवस्थाका मजदुरको नाममा दर्ता गरिएको पाइएको छ । आर्थिक हैसियत नै नभएका व्यक्तिको नाममा नक्कली फर्म दर्ता गरी राजश्व चुहावट एवं भ्याट छली गरेको खुलासा भएको हो ।

यस्तै, विभागले संकित जनरल सप्लायर्सका सञ्चालक सुवोध साहविरुद्ध पनि रु १२ करोड ७५ लाख ५१ हजार ६१४ बराबरको भ्याट छली गरेको आरोपमा मुद्दा दायर गरेको छ ।