विश्व हिन्दी दिवसका अवसरमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रमा विविध कार्यक्रम

विश्व हिन्दी दिवसका अवसरमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रमा विविध कार्यक्रम



विश्व हिन्दी दिवसको अवसरमा काठमाडौंस्थित भारतीय राजदूतावास परिसरमा रहेको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रमा आइतबार एक विशेष कार्यक्रम आयोजना गरियो । वैश्विक स्तरमा हिन्दीको प्रचारप्रसारको उद्देश्यले आयोजित समारोह दूतावासका नियोग उपप्रमुख श्रीमती नमग्या खम्पाको प्रमुख आतिथ्यमा विविध कार्यक्रमसहित सम्पन्न भएको थियो ।

त्रिविवि हिन्दी केन्द्रीय विभागको संयुक्त आयोजनामा भएको कार्यक्रमको आरम्भमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका निर्देशक प्रोफेसर केदारनाथ शर्माले उपस्थित अतिथिहरूलाई स्वागत गर्नुभयो भने कार्यक्रमको आरम्भमा त्रिविको हिन्दी विभागद्वारा प्रकाशित ‘साहित्य लोक’को विमोचन गरियो ।

सो क्रममा त्रिविवि हिन्दी केन्द्रीय विभागकी प्रमुख डा. सन्जीता वर्माले भारतका पूर्वप्रधानमन्त्री अटलबिहारी बाजपेयीद्वारा रचित एक कविताको रोचक प्रस्तुति दिनुभयो भने गोपाल अश्कले ‘नेपालमा हिन्दीको दशा र दिशा’, उपप्राध्यापक डा. श्वेता दीप्तिले ‘विश्व स्तरमा हिन्दी’, हिन्दी केन्द्रीय विभागकी उपप्राध्यापक मञ्चला झाले ‘नेपालमा हिन्दीको आवश्यकता’, साहित्यकार डा. रामदयाल राकेशले ‘हिन्दीको विश्वव्यापी प्रचारप्रसार’ विषयमा सारगर्वित अभिव्यक्ति दिनुभयो ।

यस्तै, विनोदकुमार विश्वकर्मा ‘विमल’ले ‘त्रिभुवन विश्वविद्यालयमा साहित्य तथा हिन्दी भाषाको शिक्षण’ विषयमाथि आफ्नो धारणा प्रकट गर्नुभयो । समारोहका अन्य अतिथिहरू रेखा यादव, संगीता ठाकुर, अंशु झा, रुचि राणा, रुपम पाठक, स्मृति श्रीवास्तव, मौसमी सिंह, मधु कुमारी, पुनम झा, डिल्लीराम शर्मा र वीणा सिन्हाले प्रेम, सहयोग, त्याग तथा भाषाको महत्वलगायत विषयमा आधारित कविता वाचन गर्नुभयो ।

उक्त अवसरमा प्रमुख अतिथि नियोग उपप्रमुख श्रीमती खम्पाले भारतीय राजदूतावासको तर्फबाट शुभकामना र बधाई दिनुहुँदै विश्व मानचित्रमा हिन्दीको प्रचारप्रसारका दृष्टिले सन् २००६ देखि प्रत्येक वर्ष १० जनवरीका दिन भारत सरकार विदेश मन्त्रालय तथा विदेशस्थित सबै भारतीय राजदूतावासमा विशेष कार्यक्रमको आयोजना गरी भव्य रूपले हिन्दी दिवस मनाउँदै आएको जानकारी दिनुभयो । सोही परम्परालाई पालन गर्दै केन्द्रीय हिन्दी विभागका प्राध्यापकहरू, शोधार्थीहरू, छात्रछात्राहरू एवम् केन्द्रीय विद्यालयका विद्यार्थीहरूले भाग लिएर हिन्दीको प्रचारप्रसारमा महत्वपूर्ण योगदान दिएको उहाँको भनाइ थियो । हिन्दीलाई एक विश्वभाषाको रूपमा स्थापित गर्नका लागि आफूले निरन्तर भूमिका निर्वाह गरिरहने प्रण उहाँले गर्नुभयो ।

हिन्दी दिवसको अवसरमा आयोजित सोही कार्यक्रममा भारतीय राजदूतावासस्थित केन्द्रिय विद्यालयका बालबालिकाहरूले कविता वाचन गरेका थिए । कवितावाचनमा माध्यामिक तहबाट प्रथम, द्वित्तिय र तृतीय हुनेहरू क्रमशः रुद्राक्ष झा, शान्तनु मजुमदार र एकाग्रता तथा उच्चमाध्यामिक तहबाट प्रथम, द्वित्तिय र तृतीय हुने क्रमशः तेन्जिङ भसटिया, अवन्ति प्रकाश र सियना चम्बयाललाई स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका निर्देशक प्रोफेसर केदारनाथ शर्मा र केन्द्रीय विद्यालयका प्राचार्य एपी विनोद कुमारले पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभयो ।

अन्त्यमा भारतीय राजदूतावासका प्रेस सूचना एवम् संस्कृति विभागका प्रथम सचिव नवीन कुमारले कार्यक्रममा उपस्थित सबैप्रति धन्यवाद दिनुभयो भने केन्द्रका निर्देशक प्रोफेसर शर्माले कार्यक्रम समापन गर्नुभएको थियो ।