कुनै हालतमा प्रतिनिधिसभा पुनःस्थापना नहुने प्रधानमन्त्रीको दाबी

कुनै हालतमा प्रतिनिधिसभा पुनःस्थापना नहुने प्रधानमन्त्रीको दाबी


अदालतमा विचाराधीन मामलामा विवादास्पद बयानवाजी जारी रहेकै बीच प्रधानमन्त्री केपी शर्मा ओलीले विघटित प्रतिनिधिसभा कुनै पनि हालतमा पुनःस्थापना हुन नसक्ने अभिव्यक्ति दोहोर्‍याएका छन् । राष्ट्रियसभा बैठकमा उठेका तथा समसामयिक विषयमा आज वक्तव्य दिँदै उनले संविधानको व्यवस्थानुसार सरकारको सिफारिशमा राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन भएको स्पष्ट पार्दै भने- ‘यो राजनीतिक प्रश्न हो, यो आवश्यकताको सिद्धान्तअनुसार गरिएको हो ।’

नेपालको संविधानको धारा ७६ (७) ले प्रतिनिधिसभा विघटन हुने व्यवस्था गरेको स्पष्ट पार्दै उनले संविधानले तोकेबमोजिम जाँदा मुलुकमा अस्थिरता नहुने बताए । बाह्य शक्तिको गोटी बनेर राष्ट्रिय राजनीतिमा हस्तक्षेप गर्दै मुलुकलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गरिएपछि प्रतिनिधिसभा विघटन गरिएको पनि प्रधानमन्त्री ओलीले स्पष्ट गरे ।

हाम्रो लोकतन्त्रमा प्रधानमन्त्रीले गरेको कुनै पनि सिफारिश राष्ट्रपतिले सदर गर्नुपर्ने संवैधानिक व्यवस्थाका बारेमा अवगत गराउँदै उनले त्यसमा न्यायसङ्गत भए-नभएको जिम्मेवारी स्वयं प्रधानमन्त्रीले लिनुपर्ने उल्लेख गरे ।

भारत र चीनबाट भएका पछिल्ला केही नेपाल भ्रमणका सम्बन्धमा प्रधानमन्त्री ओलीले भने ‘नेपालको भलो चिताउने मुलुकबाट आउँछन्, कुरा गर्छन् र जान्छन् ।’

प्रधानमन्त्री ओलीले आगामी माघ १ गतेदेखि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारत भ्रमण गर्ने जानकारी दिँदै उक्त भ्रमणमा द्विपक्षीय हित, नेपालको नयाँ नक्शालगायत विषयमा छलफल हुने समेत जानकारी दिए ।

pict:rss