अदालतलाई गलत ढङ्गले प्रभावित गर्ने प्रयासप्रति प्रधानमन्त्री ओलीको असन्तुष्टि

अदालतलाई गलत ढङ्गले प्रभावित गर्ने प्रयासप्रति प्रधानमन्त्री ओलीको असन्तुष्टि



नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई जनताको पक्षमा काम गर्न पार्टीभित्रैबाट असहयोग गरिएकाले आफूले बाध्य भएर प्रतिनिधिसभा विघटन गर्नुपरेको दोहोर्‍याएका छन् ।

युवा सङ्घ नेपालले शनिबार काठमाडौमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उनले पार्टीभित्रैबाट संविधान कार्यान्वयन हुन नदिने, लोकतान्त्रिक संस्थालाई निकम्मा पार्ने र संवैधानिक निकायमा रिक्त पदपूर्ति गर्न नदिएर बखेडा झिकिएको प्रष्टिकरण दिए ।

“सरकारलाई काम गर्न नदिने, कानून बनाउन नदिने, कानून संसदमा राख्यो पेश हुनै नदिने र संसदीय समितिले सरकारलाई अप्ठ्यारो पार्ने काम भयो । जुन गतिका साथ अगाडि बढ्नुपर्ने थियो त्यो गतिका साथ अगाडि बढ्ने काम नभएपछि चुनावमा गएर नयाँ जनादेश ल्याएर देशलाई अगाडि बढाउनुपर्छ भनेर मैले निर्वाचनको घोषणा गरेको हुँ”, प्रधानमन्त्री ओलीको भनाइ थियो ।

प्रधानमन्त्रीले ताजा जनादेशका लागि भनेर आफूले निर्वाचनको घोषणा गर्दा पार्टीभित्र र बाहिरका व्यक्ति अत्तालिएको बताए । आफूले जनअपेक्षाअनुसार काम गर्दा पार्टीभित्रका केही नेता आत्तिएर आफूलाई प्रधानमन्त्रीबाट हटाउन लागिपरेको उहाँले उल्लेख गरे ।

जननिर्वाचित सरकारले गरेको प्रतिनिधिसभा विघटनको घोषणालाई असंवैधानिक भनेर केही व्यक्तिले अभिव्यक्ति दिएकप्रति टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको जिम्मेवारीमा बसेको व्यक्तिले अदालतलाई धम्क्याउने क्रियाकलाप गर्न नहुने तर्क गरे र भने, ‘म उहाँहरुलाई भन्न चाहन्छु, उहाँहरुजस्तो सर्वोच्च अदालतको सर्वोच्च ठाउँमा पुगिसकेको मान्छेहरुले सर्वोच्च अदालतलाई गलत ढङ्गले प्रभावित गर्ने, धम्क्याउने कुनै पनि क्रियाकलाप गर्न सुहाउँदैन ।’ प्रधानमन्त्री ओलीले सम्मानित न्यायापालिकाको कदर गर्न सिक्न पनि आग्रह गरे ।

जनताका बीचमा जाने कुरा लोकतन्त्रविरोधी नहुने प्रष्ट पार्दै उनले जनताका बीचमा जान डराउनेचाहिँ लोकतन्त्रविरोधी भएको टिप्पणी गरे । ‘हामी लोकतन्त्रवादी हौँ, जनताका बीचमा जाने निर्णय गरेका छौँ, ताजा जनादेशमा जाने पक्षमा छौँ, संविधानको कार्यान्वयन गर्ने र लोकतन्त्रको विकासमा जाने कुरा गरेका छौँ’, उनले भने ।

निर्वाचन तोकिएको मितिमै हुने ठोकुवा गर्दै प्रधानमन्त्री ओलीले निर्वाचन हुन्छ कि हुँदैन भनेर भ्रममा नपर्न सबैलाई आग्रह गरे । ‘सम्पूर्ण दाजुभाइ, देशवासी कोही पनि भ्रम र अन्योलमा पर्नु आवश्यक छैन, सरकारले कुनै तानाशाही व्यवस्था ल्याउँदैन, निर्वाचनको मिति एक दिन पनि तलमाथि हुँदैन ।’ चुनावी वातावरणको आँधीबेहरी सिर्जना गर्न नेता, कार्यकर्तालाई आग्रह गर्दै उहाँले देश र जनताको पक्षमा काम नगर्ने तत्वलाई निर्वाचनबाटै पाखा लगाउनुपर्ने प्रधानमन्त्रीले बताए ।

भेलाअघि अध्यक्ष ओलीको पक्षमा युवा सङ्घ नेपालले धोती जुलुस निकालेको थियो । नेता, कार्यकर्ताले नयाँ बिजुलीबजार पुलदेखि कमलादीसम्म पैदल तथा मोटरसाइकल र्‍याली निकालेका थिए ।

नेकपाका नेता बस्नेतले नेतृत्व गरेको र्‍यालीलाई ‘धोती जुलुस’को नाम दिइएको थियो । जुलुसमा सहभागी केहीले धोती कुर्था लगाएर ‘धोती, कुर्ता, गम्छा मधेसीके शान बा, केपी ओली हमनी सबके जान बा’ लेखिएको ब्यानर बोकेका थिए ।

pict:rss