आकाश खस्न सक्छ आकाश…

आकाश खस्न सक्छ आकाश…


  • रामेश्वर राउत ‘मातृदास’

आगो लाग्न सक्छ आगो- लागोस् खरानी हुन्छ !
पानी पर्न सक्छ पानी- परोस् बाढी बगेर जान्छ !!
आकाश खस्न सक्छ आकाश- खसोस् जून तारा नाच्छन् !!
पृथ्वी पल्टिन सक्छ पृथ्वी- पल्टियोस् सम्मै हुन्छ !!

कसैले तर्साएर तर्सिंदैन समय
कसैले धम्क्याएर धम्किँदैन समय
समयको आफ्नै गतिशील गति छ
समयको आफ्नै लयशील लय छ

समयसँग जो डराउँछ- त्यो हराउँछ
आफ्नो घाउ जति चिथोऱ्यो- आफैंलाई चराउँछ
समयको गति- आफ्नै उन्नत मति
समयको सार- अविरल छ बारम्बार

हिमालजस्तै छ अविचलित समय
आकाशजस्तै छ अनन्त समय
समयसँग कसैले नजिस्किए हुन्छ
सधैं विजयी सत्यसँग नझस्किए हुन्छ

समयको चोला बिसौली न तोला
समयको चोला न झोला न खोला
समयको आँशु समयसँग मात्र रोला
समयसँग जोरी खोज्ने समय बाहेक अरू को होला !