पुष्प.., पहिले आत्तिएनन् अहिले मात्तिएनन् !

पुष्प.., पहिले आत्तिएनन् अहिले मात्तिएनन् !



राजन घिमिरे

पुष्प । अढाइ अक्षरको नाम हो यो, तर नेपाली सिनेमाका नायकहरूको भीडमा यो नाम स्थापित गर्न पुष्पले धेरै मिहेनत, संघर्ष र त्याग गरेका छन् । कलाकारितामा उनले दिएको निरन्तरतालाई कम आँकलन गर्न मिल्दैन ।

अभिनय त यहाँ अरू नायकहरूले पनि गर्छन् । हिरो त अरू पनि देखिन्छन् । तर, बजारमा उसको बारेमा सकारात्मक र ‘हिरो स्टाइलिस’को चर्चा अनि कानेखुशी होस् ! पर्दामा मात्र नभइ पर्दाबाहिर पनि उसको ब्यवहार, आचरण वा शैली हिरोजस्तै होस्, अनि पो लाग्छ– साँच्चैको हिरो जस्तो । हो, यस्तै शैली अनि पर्दामा मात्र नभइ वास्तविक जीवनमा पनि हिरो लाग्छन् पुष्प । दुःख पर्दा नआत्तिएका पुष्प अहिले सुख पाउँदा पनि मात्तिएका छैनन् ।

निकै शालिन, भद्र र आफ्नो कामप्रतिको लगाव पुष्पको तारिफ गर्नलायक सवल पक्ष हो । पुष्प आज र छोटो बाटोको फाइदा या सटकट् सम्बन्ध हेर्दैनन्, टाढासम्म सोच्ने, हेर्ने र त्यसअनुसारको ब्यवहारसहितको उद्देश्यले नै उनि आजसम्म कसैको नजरबाट झरेका छैनन् ।

अफर आएका फिल्ममा उनि आफ्नो चरित्र र ब्यानर हेर्छन् तर आफ्नो सहकर्मीको बारेमा नकारात्मक धारणा राख्दैनन्– ‘सबै पहिला नयाँ नै हुन्छन् । हामी पनि पहिला नयाँ नै थियौँ । हामीलाई कसैले नयाँ सोचेर नराम्रो ब्यवहार गर्दा हाम्रो मनमा कस्तो असर पर्दथ्यो । हो, त्यस्तै असर पर्ने गरी हामीले पनि नयाँलाई ब्यवहार गर्नु हुन्न ।’ यस्ता बुझ्झकी छन् पुष्प ।

तुलसी घिमिरेले पत्याएका अभिनेता हुन् पुष्प । तुलसी घिमिरेको निर्देशनमा काम गर्न पाउनु कलाकारको सपना हो । दर्पण छाया–२ मा काम गरेर पुष्पले त्यो सपना पूरा गरे । दर्पण छाया–२, मंगलम्, मारूनीलगायत राम्रा ब्यानर र चलचित्रमा काम गर्ने अवसर पाएका पुष्पले चलचित्र मंगलमबाट त राष्ट्रिय अवार्ड नै हात पारे । यो चानचुने कुरा थिएन । यसबाट पुष्पको क्षमता कत्तिको रहेछ भन्ने कुरा स्पष्ट झल्कियो । उक्त अवार्डले पुष्पलाई दर्शकहरूमाझ उच्च कोटीका अभिनेताको रूपमा स्थापित गरायो ।

संख्यात्मक होइन गुणात्मकताई ध्यान दिने पुष्पको सोचले उनलाई झनै वजनदार बनाएको छ । आज पनि पुष्प ब्यस्त छन् । कृष्णलीलाको छायाङ्कन सकाएर गत हप्ता मात्र इलामबाट काठमाडौ आएका पुष्प आगामी हप्ताबाट अर्कों चलचित्र ‘तिम्रो मेरो साथ’मा ब्यस्त हुनेछन् ।

पुष्प भनेको फूल, र फूलजस्तै कलाकारिता क्षेत्रमा बास्ना छर्दै अगाडि बढेका पुष्पको ब्यवहार, सदाचार, मिलनसारिता र भद्र शैलीले नै उनलाई ‘लामो रेसको घोडा’ प्रतीत गराएको छ ।