पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस जोडदारसँग मनाउन माग गर्दै सभापतिलाई ज्ञापन

पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस जोडदारसँग मनाउन माग गर्दै सभापतिलाई ज्ञापन



नेपाली काङ्ग्रेसले ‘राष्ट्रियता, प्रजातन्त्र र समाजवाद’लाई आफ्नो सिद्धान्तको मूल सारका रूपमा अघि सार्दै आएको छ । आफ्नो सिद्धान्तमा ‘राष्ट्रियता’लाई मूल प्राथमिकता दिएको दलले नेपाल राष्ट्रको एकिकरण गरी राष्ट्र निर्माण गर्ने पृथ्वीनारायण शाहको योगदानको कदर नगर्नु, उनलाई सम्मान नगर्नु विडम्बनापूर्ण र दुःखद् पक्ष रहिआएको छ ।

यस यथार्थलाई महसूस गर्दै नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवासमक्ष पौष २७ लाई राष्ट्रिय पर्वको रूपमा मनाउन र त्यस दिन सार्वजनिक विदा दिने पक्षमा जोडदार आवाज उठाउन आग्रह गर्दै एक ज्ञापन पत्र बुझाइएको छ ।

नेपाली काङ्ग्रेसका नेता तथा पूर्व मन्त्री एवम् पूर्व प्रमुख सचेतक लक्ष्मणप्रसाद घिमिरे र महासमिति सदस्यसमेत रहेका अर्का काङ्ग्रेस नेता लोकेश ढकालद्वारा संयुक्त रूपमा तयार पारिएको ज्ञापन पत्र बिहीबार नेता ढकालले सभापति देउवालाई हस्तान्तरण गरेका हुन् ।

उक्त ज्ञापन पत्रमा नेपाल राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मदिनमा राज्य स्तरबाट ‘जन्म जयन्ती एवम् एकता दिवस’ मनाउदै आएको परम्परालाई ०६२/६३ को जनआन्दोलनको सफलतापछि नेपाली काङ्ग्रेसको नेतृत्वमा रहेको सर्वदलीय सरकारका काङ्ग्रेसी गृहमन्त्रीको निर्णयबाट अनायास तोड्ने काम भएको र पछि प्रधानमन्त्री सुशील कोइरालाको कार्यकालमा नेपाल राष्ट्र निर्माणमा पृथ्वीनारायण शाहको योगदानलाई सम्मान गर्दै तत्कालिन गृहमन्त्रीको प्रस्तावमा प्रधानमन्त्रीले मन्त्रिपरिषदमा प्रस्ताव लगेर ‘पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवस’ लाई राष्ट्रिय पर्वको रूपमा मनाउनुका साथै त्यस दिन सार्वजनिक विदा दिने निर्णय गर्न लाग्दा नेपाली काङ्ग्रेसकै एक मन्त्रीले उक्त प्रस्तावको विरोध गरेका कारण सो प्रस्ताव असफल भएको उल्लेख गरिएको छ । यसबाट ऐतिहासिक राष्ट्रवादी दल नेपाली काङ्ग्रेसको राष्ट्रियताको धार धुमिल भएको भन्दै राष्ट्रिय भावनाको यस मुद्धामा अब नेपाली काङ्ग्रेसले पुनर्विचार गर्ने बेला भएको जिकिर गरिएको छ ।

सभापति देउवालाई हस्तान्तरण गरिएको पत्रमा भनिएको छ– ‘संविधानसभाले संविधान जारी गरिरहँदा नेपाल राष्ट्र निर्माता पृथ्विनारायण शाहप्रति अलिकति पनि सम्मानभाव व्यक्त नगर्नु नेपाली राजनीतिकै ठूलो भूल थियो । प्रजातान्त्रिक आन्दोलन, शान्ति प्रक्रिया र संविधान निर्माणको नेतृत्व गरिरहेको नेपाली काङ्ग्रेसले यसतर्फ अन्देखा गर्नु ऐतिहासिक गल्ती थियो । शाह वंशका केही राजा निरंकुश भए, प्रजातन्त्र र जनअधिकार खोसे भनेर राष्ट्र निर्माताप्रति देशले अपमान गर्नु निश्चयः नै नेपाली राजनीतिक इतिहासकै खेदजनक घटना हो ।’

नेता घिमिरे र ढकालले ज्ञापन पत्रको अन्त्यमा भनेका छन्- ‘नेपाली काङ्ग्रेसले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले नेपाल राष्ट्र निर्माणमा खेलेको गौरवशाली भूमिकाको उच्च सम्मान गर्नुपर्छ भन्ने हाम्रो निचोड छ । यसै राजनीतिक यथार्थलाई मनन् गर्दै नेपाली काङ्ग्रेसले २७ पौषको यस राष्ट्रिय महत्वको दिनलाई राष्ट्रिय पर्वको रूपमा मनाउन र त्यस दिन सार्वजनिक विदा दिने पक्षमा उभिँदै त्यसैबमोजिम निर्णय गर्न सरकारसमक्ष कांग्रेसले जोडदार माग गरोस् भनेर यो निवेदन पेश गरेका छौँ ।’

हेर्नुहोस् ज्ञापनपत्र-