वस्त्र उत्रिसक्यो, छाला नै काड्नु त जरुरी नहोला !

वस्त्र उत्रिसक्यो, छाला नै काड्नु त जरुरी नहोला !



सत्ताधारी दलका विभाजित नेता-कार्यकर्ताबीच करिव तीन सातादेखि चलिरहेको ‘रत्यौली’को अन्त्य कहाँ पुगेर हुने हो- निश्चित छैन । हरेक दिनजसो दुवै समूहका विभिन्न स्तरका सभा वा भेला आयोजना हुँदै आएका छन् । राजधानी हुँदै यस्ता सभाहरू प्रदेश, जिल्ला र गाउँ-गाउँसम्म विस्तारित हुन पुगेका छन् र, आफ्नो पक्षमा कार्यकर्ता समेट्ने उद्देश्यले आयोजित यस्ता सभामा एकले अर्को पक्षको कमजोरी उजागर गर्ने क्रममा जसरी दोस्रो पक्षका नेता-कार्यकर्तालाई नङ्ग्याउने उपक्रम शुरु हुन्छ, यसले आम नागरिक तप्कालाई आश्चर्यमा मात्र नपारी लज्जित नै तुल्याइदिन्छ ।

‘…लाई भन्दा देख्नेलाई लाज’ भनेझैँ नेकपाका नेता-कार्यकर्ताहरूले एकअर्काको बदख्वाइँ गर्नका निम्ति यतिबेला सार्वजनिक तवरमा प्रयोग गर्ने गरेका शब्द-अभिव्यक्तिले सोच्न बाध्य तुल्याउँछ कि यति धेरै कमजोरी, खराबी, विकृति-विसङ्गति बोकेका पात्रहरू हिजो एकै ठाउँमा कसरी रहन सके होलान् ? हरेक नेतामा यत्तिका खराबी विद्यमान रहेछन् त हिजोसम्म कसरी ढाकछोप गरी एकअर्काको प्रशंसा गर्न सके होलान् ? र, कतै भेलि पुनः एकै मञ्चमा उभिने परिस्थिति पैदा भयो भने यिनले एकअर्कालाई आफ्नो अनुहार कसरी देखाउलान् ? किनकि, शीर्ष तहकै नेताहरू एकले अर्कोलाई नङ्ग्याउन, ब्यङ्ग्य गर्न र धज्जी उडाउन यसरी उद्यत् देखिँदै छन् कि शिष्टाचारको सामान्य मात्र ज्ञान राख्नेहरू पनि जिब्रो काड्न पुग्छन् ।

सत्ताधारी दलका नेता-कार्यकर्ताको यस व्यवहारले अर्को एक महत्वपूर्ण सवाल खडा गरिदिएको छ- यति भ्रष्ट, यसरी इमान र नैतिकता गुमाएका पात्रहरूबारे जनतालाई आजसम्म जानकारी नदिइ गुमराहमा किन राखियो ? आज स्वार्थ बाझिएर कित्ताकाट भएपछि मात्र औंल्याउने र उजागर गर्ने काम भयो, के यो जनताप्रति शासकहरूले गरेको गम्भीर घात होइन र ? र, आज एकले अर्को पक्षलाई नङ्ग्याउने क्रममा उजागर गरिएका यी आरोप-अभियोगलाई लिपिवद्ध गरी दोषअनुसारको सजाय दिने कर्तव्य निर्वाह गरिन्छ कि गरिन्न ?

सत्ताधारी नेकपामा यतिबेला देखिएको विभाजनको रेखाको मापन गर्दा पुनः यी दुईबीच मिलन हुन सक्ने कल्पना सायदै गर्न सकिएला, तथापि सिद्धान्त भन्दा पनि स्वार्थ नै फुट्नु र जुट्नुको कारक देखिँदै आएको ‘कम्युनिष्ट चरित्र’का आधारमा भन्नुपर्दा फेरि कुनै पनि बेला ‘पुनर्मिलन’को नौटङ्की मञ्चन नहोला भन्न सकिन्न । यदि यसरी पुनः स्वार्थ मिलेर एकै ठाउँमा उभिन पुग्दा आज लगाइएका अभियोग खारेज गरिन्छन् र फेरि पनि एकले अर्कोलाई दुधले नुहाउने प्रयत्न गरिन्छ भने त्यसलाई चुपचाप स्वीकार गरिएला कि नागरिक स्तरबाट त्यसको विरोध र प्रतिकार गरिएला ? यो रोचक तर गम्भीर सवाल हो ।

सत्ताधारी दलका दुई गुटको झगडा उत्कर्षमा पुगेसँगै यसको प्रत्युत्प्रभाव देशैभर फैलिसकेको छ । गाउँ-गाउँमा दुई खेमाका कार्यकर्ताबीच आरोप/प्रत्यारोप आरम्भ भइसकेका छन्, कतिबेला यो गुटगत दूराग्रह आपसी साङ्घातिक झडपमा रुपान्तरण हुने हो- कुनै ठेगान छैन । यसको चपेटमा पर्ने त फेरि पनि निरीह नागरिक नै हुन्, जो नेकपाको बलियो सरकारबाट प्राप्त हुने विकास र समृद्धिको स्वादिलो फल चाख्ने सपनामा तरङ्गित रहँदै आएका थिए । आफ्नो तीन वर्ष अवधि अनेक काण्ड र विवाद-झमेलामा गुजार्न विवश वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला पार्टीभित्रैका प्रतिपक्षीले काम गर्न नदिएकाले आजको दूरावस्था निम्तिएको तर्क गर्दैछन् । आफ्नै दलभित्र प्रतिपक्ष जन्मनुमा दलका अध्यक्षसमेत रहेका प्रधानमन्त्री स्वयमको कति भूमिका रह्यो- यो विवेचनाको एउटा पाटो हो, तर उनलाई आफ्ना योजनाअनुसारको काम गर्न नदिन पार्टीभित्रका प्रतिष्पर्धीहरू तल्लो स्तरमै उत्रिएका रहेछन् भन्ने हालका कतिपय सन्दर्भले पनि पुष्टि गरेको छ । आशलाग्दो गतिमा निर्माण कार्य चलिरहेको नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको काम अवरुद्ध तुल्याउन नेकपाकै दाहाल-नेपाल समूहमा आवद्ध स्थानीय जनप्रतिनिधिसहितको सक्रियतालाई एउटा ज्वलन्त उदाहरणको रूपमा लिन सकिन्छ ।

दलमा विभाजन शुरु भएलगत्तै सत्तापक्षलाई असफल पार्न सत्ताभित्रैको ‘प्रतिपक्ष’ले दर्शाएको यस हर्कतले ‘नेकपा’ नामधारी दलका सदस्यहरू देश बनाउन होइन आफ्ना स्वार्थ सिद्ध गर्दै देश र जनताको दोहन गर्न मात्र राजनीतिक आवरणमा क्रियाशील रहेछन् भन्ने अर्थ लगाउनैपर्ने परिवेश निम्तिएको छ । अन्यथा, विरोधिपक्षलाई असफल तुल्याउने नाममा देशकै गौरवका आयोजनामाथि घात गर्ने दुष्प्रयास गर्ने सोचसम्म पैदा नहुनुपर्ने थियो ।

समष्टिमा भन्नुपर्दा सत्ताधारी दलका दुई समूहबीच यतिबेला जुन स्तरको बिग्रह र आरोप–प्रत्यारोप चलिरहेको छ, लोकलाजका निम्ति पनि यो रोकिनु वान्छनीय छ । दुवै पक्षको वस्त्र एकअर्काले उतारिदिएका छन्, अब छाला नै काडेर देखाइदिनु त जरुरी नहोला !