संसद् पुनःस्थापना भएमा मुलुक दुर्घटनातर्फ जान्छ : दीपक बोहरा

संसद् पुनःस्थापना भएमा मुलुक दुर्घटनातर्फ जान्छ : दीपक बोहरा



राप्रपा चुनावमा जान तयार रहेको प्रष्टोक्ति

पुनहरि बेल्बासे, भैरहवा

राप्रपा नेपालका वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहोराले राप्रपा चुनावमा जान चाहेको बताएका छन् ।

लुम्बिनी प्रेस क्लब भैरहवाले बिहीबार आयोजना गरेको एक कार्यक्रममा मन्तव्य दिँदै पूर्वमन्त्री बोहोराले दुई तिहाइको सरकार नेकपालाई अपच भएकोप्रति ब्यंग्य गरे र सर्वोच्च अदालतको निर्णय आफ्नो पार्टीलाई मान्य हुने जानकारी दिए ।

दुई तिहाइको सरकारले संसद विघटन गर्नु संविधानविपरीत भएको तर्क गर्दै उनले राप्रपा अब ताजा जनादेशमा जानुपर्ने पक्षमा रहेको धारणा राखे । नेपाली जनताले हिन्दुराज्यसहितको राजतन्त्रको आवश्यकता महसुस गरेकाले पार्टी र आस्था जेसुकै भए पनि जनमत सङ्ग्रहमा जाने हो भने राजाको पक्षमा परिणाम आउने जिकिर उनले गरे ।

आजभन्दा २० वर्षअगाडि गणन्तत्र आउला भनेर कसैले नसोचेको र समयको मागसँगै राजालाई पनि जनआन्दोलनबाट हटाएकोले समयको मागअनुसार नै राजा आउने सम्भावना बढेको उनको भनाइ थियो ।

‘प्रधानमन्त्रीले संसद विघटन गरेपश्चात स्वतःस्फुर्त रुपमा युवाहरु सडकमा आएका छन्, कुनै पक्षले संसद् पुनर्स्थापनाको माग गरेका छन् त कसैले राजा आऊ भन्दै नारा लगाएका छन्, संसद् पुनःस्थापना भयो भने मुलुक दुर्घटनातर्फ जाने भएकाले ताजा जनादेश नै उत्तम विकल्प रहेको छ’- उनले प्रष्ट्याए ।