साथ दिएकै छु

साथ दिएकै छु


  • करबीर शाह

सललत्त कर्णालीजस्तै
निर्वाध बगुँ भन्ने रहर थियो
तर नियतिको खेल हेर न
मलाई बगर बनाइदियो ।
प्रारब्धको खेल त मान्न नै पर्‍यो नि
तिमी पूर्वपट्टिको बगर भयौ
म पश्चिमतर्फको बगर बन्न पुगेँ ।
बगरमा बालुवा हुन्छ
यो त जगजाहेर कुरा हो
तर किंबन्दतिनुसार
पूर्वको बगरको बालुवामा सुन मिसिएको हुन्छ रे
बिचरो पश्चिमको बालुवा त बुखलै हुन्छ रे !
सुनको आशा गर्‍यो
मिथ्या बालुवामा हत्केला डुबायो
के मिल्थ्यो र पश्चिमको बालुवाको किनारमा ?
हत्केलामा भएको आफ्नो छाला खुइल्यायो,
घर फर्कियो, घिउकुमारी नानीले
नौनी लगाइदिन्छिन् कि भनी रमायो
कहाँको नौनी पाउनु ?
कहाँको घिउकुमारी ल्याउनु ?
यो विभिन्न रसायनिक औषधी प्रयोग गरी
प्रजनन गरेको बगैँचामा
कहाँबाट विशुद्ध अर्गानिक औषधी ल्याउनु ?
यसैले तिमी र म सललत्त बग्ने
कर्णाली नदी त बन्न दिएनन्-दिएनन्
तर नदीको दुई किनारा भएर बगेका छौँ नि
के भो त तिमी पूर्वको बगर भएर
नदी बगेको साथ दिएकै छौ
म पश्चिमबाट एक बगर भइ
तिमीलाई साथ दिएकै छु ।