दिल पौडेलको ‘काउसो जून’ नियाल्दा…

दिल पौडेलको ‘काउसो जून’ नियाल्दा…



(पुस्तक समीक्षा)

नेपाली साहित्य फाँटमा कविता, गजल, आख्यान र समालोचना लगायत विधामा पहिले नै उदाइसकेका दिल पौडेलले कविताको उपविधा हाइकुमा पनि कलम चलाएका छन् । त्यसो त गत ०६२ सालमै ‘प्रजातन्त्र’ नामक हाइकु सङ्ग्रहको पुस्तक प्रकाशन गरिसकेका हुन् पौडेलले, तर साहित्यको यस विधामा अझ माझिँदै/तिखारिँदै उनी पछिल्लो पटक ‘काउसो जून’सँगै उदाएका छन् ।

जम्मा तीन हरफमा लेखिने हाइकुले एउटा सिङ्गो विषयलाई तेस्रो हरफसम्म पुग्दा टुङ्ग्याइसक्नुपर्छ । पहिलो हरफमा पाँच अक्षर, दोस्रोमा सात अक्षर र अन्तिम हरफमा पुनः पाँच अक्षरमा आफ्ना भनाइ सक्नुपर्ने भएकाले हाइकुमा मिहीन सुझबुझ एवम् साहित्यिक चेतको खाँचो पर्दछ । एउटा प्रभावकारी हाइकु पढ्दा पाठकले जाडो याममा तात्तातो कफीको चुस्की लिएको अनुभूति गर्न सक्नुपर्छ भन्ने मान्यता रहेको पाइन्छ ।

झट्ट हेर्दा हाइकु उखान टुक्काजस्ता, भजनका चुट्काजस्ता, धर्मग्रन्थका श्लोकजस्ता, मन्त्रजस्ता वा सामाजिक कहावतका रहनीजस्ता लाग्ने गर्दछन्, जसले पाठकलाई एक खालको दर्शन, नैतिकता, सभ्यता र शिष्टाचार तथा आचार–विचार सिकाइरहेका हुन्छन् । यस दृष्टिबाट भन्नुपर्दा युवा साहित्यकार दिल पौडेलका हाइकुले उपर्युक्त जिम्मेवारीलाई पूरा गर्ने सत्प्रयत्न गरेका छन् भन्दा अतिशयोक्ति ठहरिने छैन ।

पौडेलका अधिकांश हाइकुमा समयको आवाजलाई प्राथमिकता दिइएको पाइन्छ । समयलाई यथोचित प्रतिबिम्बित गर्ने अभीष्टमा पौडेलको लेखन अघि बढेको प्रतीत हुन्छ । प्राकृतिक सौन्दर्य गाउन र समाजका कुरुप एवम् विकृत पक्षमाथि कठोरताका साथ प्रहार गर्न पौडेल सिपालु छन् । ‘काउसो जून’को रसस्वादन गर्दा यस्तै महसूस गर्न सकिन्छ । कवि पौडेलले आफ्नो यस कृतिमा नेपाली समाजमा देखापरेका विकृत पक्षमाथि व्यङ्ग्य गरेका उदाहरणस्वरुप यी हाइकुलाई लिन सकिन्छ-

ढोँगी समाज
दहभित्र भुमरी
स्वार्थी तुरुप !
–––
मायावी जाली
दुनियाँका आँखामा
बाँझो कोर्काली !
–––
बेचैन छाती
गिरेको मुनिमन
रजनि हात्ती !