पत्नीको बचन काट्न नसकेपछि…!

पत्नीको बचन काट्न नसकेपछि…!



नेकपाको विभाजनपछि नेता-कार्यकर्ताहरूको ध्रुवीकृत हुने क्रम तीव्र गतिका साथ चलिरहेको छ । एउटा पक्षतिर गएकालाई आफूतिर तान्ने प्रयास पनि दुवैतर्फबाट भइरहेको छ । नाम र चुनावचिन्हको टुङ्गो लागिसकेपछि एकपटक फेरि अदलबदलको प्रक्रियाले तीव्रता लिने निश्चित छ । विभिन्न व्यक्तिहरू विभिन्न कारणले ‘यता र उता’ गर्न बाध्य भए पनि दुई नेताहरू आफ्ना पत्नीका कारण इच्छा लागेको क्याम्पमा खडा हुनबाट वञ्चित भएको पाइएको छ ।

प्राप्त जानकारीअनुसार पूर्वमन्त्री शेरबहादुर तामाङको रोजाइमा केपी ओली थिए । कदाचित पार्टी विभाजन भएमा आफू प्रचण्डलाई नेता मान्न र मदन भण्डारीको ‘जबज’ छोड्न नसक्ने जानकारी उनले कतिपय पार्टी नेता र सहकर्मीहरूलाई पनि गराएका थिए । पार्टी विभाजन भएपछि तामाङ केपी पक्षमा लागे र, पटक-पटक ओलीसँग भेटघाट पनि गरे । तर एकदिन उनी अचानक माधव नेपाल पक्षको ‘घेराबन्दी’मा परेको र घरबाट बाहिर कतै लिएर गएको भन्ने हल्ला उच्च तहमा चल्यो । वास्तवमा शेरबहादुर तामाङ आफ्नो पत्नीको दबाबमा परेका रहेछन् ।

पत्नी उषाकला राई खोटाङबाट प्रदेशसभा सदस्य छिन् र, पार्टीमा निकै राम्रो र योग्य नेतृका रूपमा उनलाई लिइन्छ । उषाकला प्रचण्ड-माधवको पक्षमा दृढतापूर्वक उभिइन् र, आफ्ना पति शेरबहादुरलाई पनि अन्ततः प्रचण्डकै पक्षमा उभिन बाध्य पारिन् । शेरबहादुर तामाङलाई मन्त्री बनाइने निश्चित भएको थियो । तामाङबाट अन्तिममा धोखा भएको महसुस गरेपछि तामाङकै निर्वाचन क्षेत्रका दावा लामा नामक व्यक्तिलाई अचानक मन्त्री बनाइएको छ ।

पत्नीका कारण आफूले इच्छाएको क्याम्प रोज्न नसक्ने अवस्थामा रहेका अर्का नेता हुन रघुवीर महासेठ । ओली सरकारमा भौतिक योजनामन्त्री बनाइएका महासेठको रोजाइ प्रचण्ड-माधव क्याम्प हो र, उनले खुलेरै प्रचण्ड पक्षको वकालत पनि गरे । यसरी रघुवीरले कित्ता स्पष्ट गरेको साता दिन नबित्दै उनकी पत्नी जुली महतो मन्त्री पदमा नियुक्त भइन् । आफ्नी श्रीमती केपी सरकारको मन्त्री बनेपछि रघुवीर निकै सकसमा परेको बुझिएको छ ।

माधव क्याम्पमा रहँदा पनि साथीहरूले शङ्का गर्ने र श्रीमती पनि खुशी नहुने स्थिति आएकोले रघुवीर अप्ठ्यारोमा परेको बताइन्छ । ब्यापारिक चरित्रका भएकोले श्रीमान्/श्रीमती दुई जना सल्लाहमै दुईतिर लाग्न सक्ने अनुमान धेरैले गरेका छन्, तथापि पत्नीको दबाब नै निर्णायक हुने विश्वास गरिएको छ ।