पत्नी र पुत्र केपीतिर, वामदेव अझै तटस्थ !

पत्नी र पुत्र केपीतिर, वामदेव अझै तटस्थ !



पार्टी विभाजन हुनुभन्दा अघिल्लो दिनसम्म प्रचण्ड पक्षमा उभिएर केपी ओलीको विपक्षमा लाग्नुभएका वरिष्ठ नेता वामदेव गौतम बितेका दुई सातादेखि तटस्थ रहनुभएको छ । विभाजित पार्टीलाई पुनः एकीकृत गराउन कोही तटस्थ व्यक्तिको भूमिका महत्वपूर्ण रहने भएकोले गौतमले आफूलाई तटस्थ राख्नुभएको उहाँका हितैषीहरूले जनाएका छन् ।

तर, वामदेवको तटस्थतालाई अन्य पक्षले भने अर्कै अर्थ लगाएका छन् । भनिन्छ, वामदेव गौतमले सर्वोच्च अदालतको निर्णयसम्म पर्खनुहुनेछ । अदालतले संसद् पुनर्स्थापना गर्ने विश्वासमा वामदेव अहिले पनि हुनुहुन्छ ।  पुनर्स्थापित संसदले नयाँ प्रधामन्त्री बनाउने र त्यस्तो अवस्थामा प्रचण्ड र माधव नेपाल दुवैले प्रधानमन्त्री बन्न खोज्ने, दुवैले एकअर्कोलाई अस्विकार गर्दा वैधानिक बाटो खोलेर आफूलाई प्रधानमन्त्री बनाउनुपर्ने बाध्यात्मक अवस्था पैदा हुने आशा गौतममा रहेको बताइन्छ ।

अर्का एकथरीले भने चुनाव चिन्ह ‘सूर्य’को टुङ्गो लागेपछि वामदेव गौतमको तटस्थताले विश्राम लिने ठानेका छन् । सूर्य चिन्हका निम्ति बाँकी धेरै कुरा छोड्न वामदेव तयार रहने ठानिएको छ ।

गौतम ‘तटस्थ’ रहे पनि उहाँकी पत्नी तुलसा थापा र छोरा हरिश गौतम केपीको कित्तामा उभिनुभएको छ । विघटित प्रतिनिधिसभाकी सदस्य तुलसा यतिबेला नेकपा (केपी)का केन्द्रीय सदस्य पदमा रहनुभएको छ भने छोरा हरिश बर्दिया जिल्ला समितिका सदस्यको हैसियतमा हुनुहुन्छ । तुलसा र हरिश यसरी केपीका पक्षमा उभिएकोले पनि वामदेवको तटस्थता अरु धेरै दिनसम्म नटिक्ने ठानिएको छ ।