राजाको पक्षमा र्‍यालीको तयारी

राजाको पक्षमा र्‍यालीको तयारी



राजसंस्थाको पुनःस्थापना, हिन्दुअधिराज्य र सङ्घीयता खारेजीको माग राख्दै आज (पौष २२ गते) पूर्वाञ्चलबासी नेपाली जनताको तर्फबाट विशाल र्‍यालीको आयोजना गरिँदै छ । इटहरीबाट सुरु हुने मोटरसाइकल र कार र्‍यालीमा १५ हजारको हाराहारीमा पूर्वाञ्चलबासीको सहभागिता रहने दाबी गरिएको छ ।

र्‍यालीका लागि पूर्वाञ्चलका विभिन्न जिल्लाबाट मानिसहरू इटहरी आएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । र्‍यालीमा सहभागी हुने ब्यक्तिहरूले मोटरसाइकल तथा कारमा राखिने राष्ट्रिय झण्डा र आफ्नोनिम्ति पिउने पानीको ब्यवस्था स्वयम्ले गर्नुपर्ने भनिएको छ ।

प्राप्त जानकारीअनुसार मोटरसाइकल र कार र्‍याली भनिएकाले सवारी साधन हुनेहरू मात्रै सहभागी हुन पाउने हुँदा सवारी साधन नहुनेहरूले पनि सहभागी हुन पाउनुपर्ने माग सर्वसाधारणले गरिरहेका छन् । नेपाली जनताको आयोजना भनिएको र कुनै पनि दलको झण्डा नहुने हुँदा सर्वसाधारण उत्साहित भएका छन् ।

यसैबीच पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्रले अङ्ग्रेजी नयाँ वर्ष पूर्वाञ्चलको धुलाबारीमा मनाउनुभएको छ । मेची क्राउन प्लाजा होटेलमा सर्वसाधारणसँग पूर्व श्री ५ ले नयाँ वर्ष मनाएको भिडियो अहिले ब्यापक सेयर भइरहेको छ । यही पौष १२ गते आइतबार राजा ज्ञानेन्द्र पत्नी कोमलसहित झापाको दमक पुग्नुभएको थियो । जाडो छल्न दमक पुग्नुभएका उहाँले धुलाबारीमा नयाँ वर्ष मनाउनुभएको थियो ।

प्राप्त जानकारीअनुसार पूर्वयुवराज्ञी हिमानी र नयवयुवारज हृदयेन्द्र यही पौष २० गते सोमबार दमक पुग्नुभएको छ । राजपरिवारको यो वर्षको माघेसङ्क्रान्ति दमकमै हुने भएको छ । पूर्व श्री ५ सँग भेटघाटका लागि विभिन्न क्षेत्र, पेशा, ब्यवसायका ब्यक्तिहरूबाट अनुरोध आए पनि पौष २७ गतेसम्मका लागि भेटघाटका कुनै कार्यक्रम नराखिएको श्रोतले जनाएको छ ।