पोखरामा पारसको बेग्लै तस्बिर

पोखरामा पारसको बेग्लै तस्बिर


  • बबिता बस्नेत

गत हप्ता (२०७७ साल पौष १५ गते बुधबार) साँझ पोखराको लेकसाइडस्थित बुमर्‍याङ्ग रेष्टुरेण्टमा साँझको खाना खान गएका थियौँ । विदेशी पर्यटकबिनाको लेकसाइड यसअघि नदेखेकाले होला हेर्दै उराठलाग्दो, कस्तो-कस्तो नरमाइलो लाग्ने रहेछ । अघिल्लो दिनसम्म सुनसान लेकसाइड डिसेम्बर ३० तारिखका दिन भने अङ्ग्रेजी नयाँ वर्ष मनाउन पोखरा पुगेका आन्तरिक पर्यटक र स्ट्रीट फुड फेस्टिभलका कारण एकाएक भरिभराउ बनेको थियो । गीत-सङ्गीतको धुनका बीच हामी सामूहिक गफगाफमा रमाइरहेका थियौँ ।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको ‘टिम बिल्डिङ वर्कशप’का लागि हामी पोखरा पुगेका थियौँ । साथमा थिए यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको अधिकारमा कार्यरत मितिनी नेपाल, ब्लु डाइमन सोसाइटी र इन्क्लुसिभ फोरमका साथीहरू । नेपालीले लिने मात्र होइन दिने बानी बसाउनु पर्छ भनी नेपालीहरूबाटै सहयोग जुटाएर पछाडि पारिएका वर्गलाई सहायता पुर्‍याइरहनुभएकी टेवा र नागरिक आवाज संस्थाकी संस्थापक रीता थापा, लामो समयसम्म युएन सिस्टममा काम गरी अहिले महिलावादी अन्तरपुस्ता समूहमा सम्बद्ध सरु जोशी र यो पङ्क्तिकार साथीहरूसँग रमाइरहेका बेला एउटा कालो रङ्गको कार रेष्टुरेण्टको कम्पाउण्डमा रोकियो । कारबाट निस्किए पूर्वयुवराज पारस शाह ।

साँझमा सडकमा घुम्दै गर्दा ‘आज पारस सरकारको बर्थ डे छ’ भन्दै मानिसहरू हातमा फूल बोकेर हिँडेको देखिएको थियो । तीमध्ये केही चिनजानका मानिस पनि थिए, जो राजनीतिक दलसँग सम्बद्ध थिए, तर उनीहरूले भनेको स्थान अर्कै थियो ।

अकस्मात पारसलाई देखेपछि रेष्टुरेण्टको गार्डेनमा रहेका केही मानिसहरू जर्‍याकजुरुक उठे । हाम्रा साथीहरू पनि आफ्नो परिचय दिँदै कुरा गर्न थाले- लक्ष्मी घलान, सञ्जय शर्मा, पिङ्की गुरुङ, उमिशा, मनिषा, बद्री पुन, कल्पना, सरिता.. माहौल रमाइलो थियो । केही साथीहरूसँग हात मिलाएर पारसको समूह अलि तल रहेको (सायद पहिल्यै बुक गरिएको) छुट्टै सानो छाप्रोमा प्रवेश गर्‍यो । केही छिनपछि गोपाल गुरुङ, हरिहर सापकोटालगायतका राजनीतिकर्मी तथा ब्यवसायीहरू हातमा केक र फूल बोकेर आए । ‘हामीले भेटिसक्यौँ, मनाइसक्यौँ’ भन्ने मानिसहरू भेटिएबाट त्यसअघि नै पोखाराबासीले विभिन्न स्थानमा बर्थ डे मनाइसकेका भन्ने बुझ्न गाह्रो पर्दैनथ्यो ।

हामी पूर्वनवयुवराज हृदयन्द्रको कुरा सुन्दै छेउमै उभिएका थियौँ । १८ वर्षका ती युवाले बयस्क मानिसले झैँ मानिसहरूसँग कुरा गरेको देखेर अचम्म लाग्यो । उनले कसैसँग फोटो खिचेनन् र कसैको चित्त पनि दुखाएनन् ।

खाना खाएपछि एकछिन हिडौँ भनेर साथी सरु जोशी र यो पङ्क्तिकार फेवातालको किनारतर्फ जाँदै गर्दा ‘बर्थ डे समूह’मा भेटिइन् पूजा शाह ठकुरी । वैदेशिक रोजगारीमा महिलाको आत्मसम्मान उच्च राख्ने अभियानमा सक्रिय पूजाले हामीलाई ‘सरकारसँग परिचय गरौँ’ भन्दै बगैँचामा लगिन् जहाँ पूर्वयुवराज पारसलाई शुभकामना दिन आएका मानिसहरूसँग फोटो खिचाउन भ्याइनभ्याइ थियो । यो पङ्क्तिकारलाई देख्नासाथ ‘आइ नो हर’ भनेपछि परिचय गर्नै परेन । प्रतिक्रियामा ‘ह्याप्पी बर्थ डे सरकार’ भनियो । सरुलाई बडो सम्मानका साथ हात जोडेर ‘नाइस टु मिट यु’ भने । जवाफमा उनले ‘खुशी लाग्यो, ह्याप्पी बर्थ डे’ भनिन् । त्यहाँ हामी सबै नै बिना योजना अकस्मात भेटिएका पाहुना थियौँ ।

सरुले ‘पोखराले पारसलाई यही रूपमा स्वीकारीसकेछ..’ भन्दै गर्दा बगैँचाको छेउमा देखिए नवयुवराज हृदयेन्द्र, जो आफ्ना बाबाको जन्मदिन मनाउन काठ्माडौंबाट त्यहाँ पुगेका थिए । कालो पाइन्टमा कालै ओभरकोट लगाएर हँसिलो मुहारमा उभिएका उनी आफूवरिपरि झुम्मिएका मानिसहरूसँग बडो शालिन मुद्रामा प्रस्तुत भइरहेका थिए । मानिसहरू फोटो खिच्न आग्रह गरिरहेका थिए, जवाफमा उनी ‘अर्कोपल्ट खिचौँला नि… फेरि भेट भइहाल्छ नि… काठमाडौंमा भेटौँला नि… त्यहीँ फोटो खिच्ने…’ भनिरहेका थिए । हामी पूर्वनवयुवराज हृदयन्द्रको कुरा सुन्दै छेउमै उभिएका थियौँ । १८ वर्षका ती युवाले बयस्क मानिसले झैँ मानिसहरूसँग कुरा गरेको देखेर अचम्म लाग्यो । उनले कसैसँग फोटो खिचेनन् र कसैको चित्त पनि दुखाएनन् । केही समय बसेर फर्कंदै गर्दा पूर्वयुवराज पारसले त्यहाँ रहेका सबैलाई ‘बाई’ भन्न छुटाएनन् ।

केही समयअघि मात्रै बजेको ‘रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो’ गीतमा हाम्रा साथीहरू मच्ची-मच्ची नाचेका थिए । एकैछिनपछि फेरि त्यही गीत गुञ्जिएपछि कसैले सोध्यो- ‘अघि भरखरै लगाएको गीत फेरि किन… ? अर्को लगाए हुने नि… !’ त्यहाँका साँस्कृतिक टोलीका तर्फबाट जवाफ आयो- ‘हामी पारस सरकार आएपछि सधैं यही र यस्तै गीत लगाउँछौँ । सबै रेष्टुरेण्टमा यस्तै गर्ने चलन छ ।’ सुनेर रमाइलो लाग्यो, पारसको उपस्थितिको अर्थ पोखरामा ‘राष्ट्रिय गीत’ रहेछ । हामीले बाहिरबाट हेर्दा लथालिङ्ग पूर्वयुवराज पोखराको पर्यटन क्षेत्रका लागि आकर्षण रहेछन् । युवाहरूका लागि आफू जस्तै मान्छे र दुःखीहरूका लागि दुःख पोख्ने ठाउँ रहेछन् ।

सुनेर रमाइलो लाग्यो, पारसको उपस्थितिको अर्थ पोखरामा ‘राष्ट्रिय गीत ‘रहेछ । हामीले बाहिरबाट हेर्दा लथालिङ्ग पूर्वयुवराज पोखराको पर्यटन क्षेत्रका लागि आकर्षण रहेछन् । युवाहरूका लागि आफू जस्तै मान्छे र दुःखीहरूका लागि दुःख पोख्ने ठाउँ रहेछन् ।

दुःख सम्पत्तिको मात्रै हुँदैन, मनमा उठेका अनेक छाल र जिन्दगीमा आएका उतारचढावको पनि हुने गर्छ । कति युवा मनहरू उनको वरिपरि झुम्मिएर प्रकृति र देशको कुरा गर्ने रहेछन् । थप अचम्म त के भने आफू जे पनि सेवन गर्न नहिच्किचाउने पारस युवाहरूलाई जे पायो त्यही नखाउ भनेर सम्झाउँदा रहेछन् । पोखरामा पारसको छुट्टै प्रकारको चार्म रहेछ । ‘मलाई राजा नभन्नुस्, मसँग राजाको कुरा नगर्नुस्’ भनेपछि धेरैले पारसलाई आफूजस्तै ठान्दा रहेछन् । तर जति नै आफूजस्तो ठाने पनि राजाको छोरा र नाति हुन् भनेर मानिसहरूले बिर्सिएको पाइएन । उनी गएको ठाउँमा उठेर सम्मान दिने, मलाई साधारण नागरिकका रूपमा मात्रै हेरिदिनुस भने पनि ‘सरकार’ भनेरै सम्बोधन गर्ने !

लकडाउनका बेला पारसले माछा मार्ने मछवारेलगायतका परिवारलाई राहत बाँडेका रहेछन् । राम्रा कुराले हामीकहाँ खासै चर्चा पाउँदैन । राहत पाएको परिवारले भगवानझैँ ठान्ने रहेछन् । पारसले पोखरा नछोडिदिउन् भन्नेहरूको सङ्ख्या ठुलो रहेछ । पोखरालाई आफ्नो मुकाम बनाएकोमा धेरै मानिसहरू खुशी रहेछन् । स्थानीयवासीले उनको जीवनशैलीलाई जस्तो छ त्यही रूपमा स्वीकार गरेको पाइयो । उनको जीवन हो हामीले धेरै टाउको दुखाउन हुन्न भन्नेहरू यत्रतत्र भेटिए ।

काठ्माडौं फर्कंदै गर्दा ट्याक्सी ड्राइभरले नेताहरूलाई गाली गरेपछि सोधेका थियौँ- ‘पूर्वयुवराज पारसको चाहिँ खबर के छ नि ?’ उनले भने- ‘पारसलाई बीचमा ल्याउनु बेकार छ । उनले दुःख दिए पनि आफैलाई दिएका छन्, जनतालाई दिएका छैनन् । दुःखी मानिसलाई परेको बेला सहयोग गर्छन्, देशलाई दाउमा राखेर खाएका त छैनन् नि ।’