कहिलेसम्म कुर्ने आँखाको नानीलाई ?

कहिलेसम्म कुर्ने आँखाको नानीलाई ?


(२० वर्षअघिको घटना र विचार)

नेपालमा आँखा दान गर्ने प्रचलनको शुरुवात धेरै अगाडिदेखि नभए पनि अहिले निकै फस्टाइसकेको छ । शुरु-शुरुमा आँखा दान गर्न चाहनेहरूको संख्या औंलामा गन्न सकिन्थ्यो तर अबको स्थिति भने त्यस्तो छैन । बिस्तारै आँखा दान महादान हो भन्ने सबैले बुझ्न थालेका छन् ।

नेपालको पहिलो आँखा बैंक वि.सं. २०४१ मा नेपाल आँखा अस्पताल, त्रिपुरेश्वरमा स्थापना भएको थियो । उक्त आँखा बैंकमा हालसम्म व्यक्तिगत रूपमा १००३ जनाले र संस्थागत रूपमा २१२ जनाले मरणोपरान्त आँखादान गर्ने इच्छापत्र भरेका छन् । नेपाल आँखा अस्पतालको आँखा बैंकभन्दा १० वर्षपछि अर्थात् २०५१ सालमा स्थापना भएको तिलगंगा आँखा केन्द्रस्थित नेपाल आँखा बैंकमा भने यसरी नेत्रदान गर्न चाहनेहरूको सङ्ख्या तेह्र हजार नाघिसकेको छ । नेपाल आँखा बैंकले सन् १९९४ मा २ जना, ९५ मा ४ जना, ९६ मा ३८ जना, ९७ मा ९२ जना, ९८ मा २४० जना र ९९ मा ५४७ जनाको आँखा (नानी) दान लिएको थियो । त्यसयता सन् २००० को जनवरी महिनामा २७ जना, फेब्रुअरीमा ४२ जना, मार्चमा ४२ जना र अप्रिलमा २३ जनाको आँखा दान लिइएको छ । आँखा दान लिँदा आँखाको डल्लो नै निकाल्ने होइन, आँखाको नानी मात्र झिक्ने हो ।

नेपालमा गरिएको अन्धोपनसम्बन्धी एक सर्वेक्षणमा प्रतिसय जनामा ०८ (करिब एक) जना व्यक्ति अन्धो रहेको पाइएको छ । अन्धो हुने दुई प्रमुख कारणहरू मोतिबिन्दु र आँखाको नानीमा फुलो पर्नु हो । यी दुईमध्ये आँखाको नानीमा फुलो परेर दृष्टि गुमाएकाहरूमा मात्र नानी प्रत्यारोपण गर्न सकिन्छ । आँखामा चोटपटक लाग्दा, आँखा पाक्दा, दादुरा, टाइफाइड, विफर, कुपोषण आदिको कारण आँखाको नानीमा फुलो बस्छ । नेपालजस्तो विकासशील राष्ट्र जुन देशको कुल जनसंख्याको ठूलो हिस्सा प्राथमिक स्वास्थ्य सेवाबाट वञ्चित भएको छ, मा फुलो पर्ने सम्भावना पनि विकसित राष्ट्रहरूभन्दा बढी रहन्छ । किनकि उनीहरूले समयमै सही उपचार पाउन सक्दैनन् । मुख्यतः बच्चा र युवाहरू आँखाको नानीमा फुलो परेर अन्धो भएको पाइन्छ ।

तिलगंगा आँखा केन्द्रमा रहेको नेपाल आँखा बैंकका प्रबन्धक शंकानारायण त्वायना भन्नुहुन्छ– ‘आँखाको नानीको विकल्पमा हालसम्म कुनै पनि कृत्रिम साधन बनेको छैन । यसका लागि मान्छेकै आँखाको नानी चाहिन्छ ।’ मान्छेको आँखाको नानी प्रत्यारोपण गरिनुअघि बाँदर, कुकुर र सुँगुरको आँखाको नानी प्रत्यारोपण गर्ने प्रयास भएको थियो । तर त्यसमा सफलता मिलेन । सन् १९४० मा रसियाका डाक्टर फिलाटोभले पहिलोपल्ट मृत शरीरबाट आँखाको नानी निकाली प्रत्यारोपण गरेका थिए । त्वायनाका अनुसार मृत्युपछिको १२ घण्टाभित्र आँखाको नानी झिकिसक्नुपर्छ । ‘जाडो समय, आँखा छोपिएको र आइस प्याक छ भने १२ घण्टापछि पनि आँखाको नानी झिक्न सकिन्छ । तर नेपाली मौसमअनुसार सामन्यतः मृत्युपछिको १२ घण्टा नै उपयुक्त समय हो ।’– उहाँले घटना र विचारसँग भन्नुभयो । आँखादान गर्ने हकमा उमेर, आँखाको पावर आदिले अलिकति पनि असर गर्दैन तर आँखाको नानीचाहिँ स्वस्थ हुनैपर्छ ।

मरणोपरान्त आँखादान गर्नेहरूमा राजनेताहरूको पनि कमी छैन । मनमोहन अधिकारी, हीरालाल विश्वकर्मा, केदारमान व्यथित (वरिष्ठ साहित्यकार), निर्मल लामालगायतका व्यक्तित्वहरूले मृत्युपर्यन्त नेत्रदान गरेका थिए । आँखादान गर्ने सवालमा सामाजिक संस्कार पनि बाधक रहको आँखा बैंकसँग सम्बद्ध व्यक्तिहरू बताउँछन् । ‘आँखादान गरेका खण्डमा अर्को जन्ममा अन्धो भइन्छ भन्ने हाम्रो सामाजिक धारणाको कारण कति मान्छेहरू आँखादान गर्न चाहँदैनन्’- उनीहरूको अनुभव हो यो । यस अतिरिक्त कही निश्चित जातका मान्छेहरूमा पनि नेत्रदानप्रति रुचि देखिँदैन ।

हालसम्म नेपाल आँखा बैंकले १०५० जनाको आँखाको नानी प्रत्यारोपण गरिसकेको छ । यहाँ अझै आठ सयजति फुलो परेर दृष्टिविहीन भएकाहरू आँखाको नानी पर्खेर बसेका छन् । आँखाको नानी प्रत्यारोपण गर्न नेपाल अधिराज्यभरबाट मात्र होइन भूटान, चीनको स्वशासित क्षेत्र तिब्बत र उत्तर भारतबाटसमेत आफूहरूकहाँ आउने गरेको प्रबन्धक त्वायना बताउनुहुन्छ । नेपाल आँखा अस्पताल, त्रिपुरेश्वरको आँखा बैंकमा पनि आँखाको नानी पर्खेर बस्नेहरू चार सयभन्दा बढी छन् ।

मुख्य प्रशासक रामेश्वर गौतमले दिएको जानकारीअनुसार अहिले ३, ४ महिनामा एउटा आँखाको नानी आउन पनि मुस्किल भइसकेको छ । ‘कुनैबला यस्ता दिनहरू पनि थिए, यही अस्पतालमा २÷३ जनासम्मको एकै दिनमा आँखाको नानी प्रत्यारोपण हुन्थ्यो ।’ विगत सम्झदै उहाँले भन्नुभयो । आँखाको नानीको मागका अनपातमा आपूर्ति अझै पनि अपर्याप्त छ भन्ने कुरामाथि उल्लेखित तथ्यहरूबाटै स्पष्ट हुन्छ । तर भविष्यप्रति आशावादी हुँदै नेपाल आँखा बैंकका प्रबन्धक शंकानारायण त्वायना भन्नुहुन्छ–- ‘अबको दश वर्षपछि कसैले पनि आँखाको नानी पर्खिनुपर्ने छैन ।’

(अर्जुन सुब्बा, घटना र विचार साप्ताहिक, २०५७ जेठ ११)