‘चुनावको निश्चितता छैन, भएमा कांग्रेस एक ढिक्का भएर जान्छ’ : डा. कोइराला
प्रकाशित मिति
१६ पुष २०७७, बिहीबार १५:४५
कपिलवस्तु । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आगामी निर्वाचनमा नेपाली कांग्रेस कसैसँग गठजोड नगरी चुनावमा जाने बताएका छन् ।
नेपाल प्रेस युनियन कपिलवस्तु शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले निर्वाचनमा कांग्रेस एक्लो उभिनु पर्छ भन्दै कांग्रेसको राजनीतिक परिस्थिति अत्यन्तै राम्रो रहेको दाबी गरे ।
कपिलवस्तुमा कांग्रेसजनमा उत्साह रहेको उल्लेख गर्दै नेता कोइरालाले सरकारले तोकेको समयमा चुनाव हुने निश्चितता चाहिँ नभएको धारणा राखे । प्रधानमन्त्री ओलीले वैशाखमा चुनाव हुन्छ भन्नुभए पनि त्यो हुने सम्भावना नरहेको तर्क गर्दै उनले नेकपाको चुनाव चिन्हमा नै विवादित रहेकोले पनि चुनाव अनिश्चित रहेको धारणा राखे ।
संविधानको रक्षाका लागि नेपाली कांग्रेसले सरकारको कदमको विरोध गरेको जानकारी दिँदै डा. कोइरालाले संविधानमाथि कुठाराघात हुन्छ भने त्यसको रक्षाको लागि विरोध जनाउनैपर्ने बताए ।
नेपाल प्रेस यूनियनका सभापति गोपाल भण्डारीको अध्यक्षतामा भएको सो कार्यक्रममा नेता कोइरालाले नेपाली कांग्रेस चुनावमा एक ढिक्का भएर जाने पनि बताए ।