‘डाक्टर्स गाउँले’मार्फत् मनिपालका विद्यार्थी गाउँ-गाउँमा

‘डाक्टर्स गाउँले’मार्फत् मनिपालका विद्यार्थी गाउँ-गाउँमा


ग्रामीण भेगमा बसोबास गर्ने नेपालीहरूमा स्वास्थ्यसम्बन्धी सेवा प्रदान गर्न र आवश्यक जानकारी दिनका लागि मणिपालमा अध्ययनरत विद्यार्थीहरूले ‘डाक्टर्स गाउँले’ कार्यक्रम सञ्चालनमा ल्याएका छन् ।

मणिपाल शिक्षण अस्पतालमा अध्ययनरत २०१६ को ब्याचका विद्यार्थीद्वारा २०७५ सालमा संस्था स्थापना गरिएको संस्थाले हृदयाघात, मधुमेह, कोरोना, डेंगु, दाँत रोगलगायतका विभिन्न रोगको बारेमा आवश्यक सेवा दिइसकेको छ ।

संस्थाका प्रचारप्रसार संयोजक राहुल गोइतका अनुसार आगामी दिनमा महिला र जेष्ठ नागरिकहरूलाई लक्षित गरेर स्वास्थ्यसेवा र जानकारी उपलब्ध गराइने छ । रोट्र्याक्ट क्लबसँग मिलेर स्तनपानको महत्वबारे पनि सचेतना कार्यक्रम गरिसकेको उनले बताए । आफूहरूको संस्था डक्टर गाउँले र यसबाट सञ्चालन भएका कार्यक्रमबाट धेरै लाभान्वित भएको र धेरै ठाउँबाट प्रशंसा पाएको गोइतको भनाइ छ ।

स्वास्थ्यसम्बन्धी जानकारी सबैका लागि भन्ने मूल उद्देश्यका साथ सञ्चालन भएको संस्थाले विभिन्न रचनात्मक कार्य गरेको छ । संस्थामा हाल २५ जना सदस्य रहेको प्रचारप्रसार संयोजक गोइतले जानकारी दिए ।

रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै राम्रो भन्दै उनले आफूहरूको सेवा गाउँ-गाउँका नागरिकका लागि हुने स्पष्ट पारे ।

संस्थामार्फत स्वास्थ्य-जानकारीबाट बञ्चित भएका जनतालाई स्वास्थ्यबारे जनचेतना जगाउन देशका कुना-कुनामा पुग्ने संस्थाका सदस्य विनोद अधिकारीले बताए ।

डक्टर गाउँलेले अफिसियल युटुब च्यानलमार्फत विभिन्न १६ वटा स्वास्थ्यसमबन्धी जानकारी गराएको र आगामी दिनमा थप सक्रियतापूर्वक अघि बढ्ने उनको भनाइ छ ।

सञ्चारको क्षेत्र निकै फराकिलो भएको तर यस्तो विकास स्वास्थ्य क्षेत्रमा नभएको भन्दै उनले सञ्चारकै माध्यमबाट कुना-कुनामा रहेका नागरिकलाई स्वास्थ्यसम्बन्धी जानकारी दिँदै जाने प्रष्ट पारे ।