सङ्गीत र सिने-संसारसँग जोडिएका यी खानेपानी मन्त्री

सङ्गीत र सिने-संसारसँग जोडिएका यी खानेपानी मन्त्री


  • राजन घिमिरे

शुक्रबार खानेपानी मन्त्रीको रूपमा जब मणि थापा नियुक्त गरिए, उनको मोबाइलमा बधाईका ओइरो लाग्यो, जसमध्ये अन्य क्षेत्रका व्यक्ति-व्यक्तित्वको तुलनामा कला जगतसँग जोडिएका पात्रहरूबाट प्राप्त बधाईको खात अग्लो थियो ।

कलाकर्मीका तर्फबाट सबैभन्दा पहिला कल गरेका थिए अभिनेता तथा निर्देशक नवल खड्काले । मणि थापालाई पछिल्लो चरणमा राजनीतिज्ञको रूपमा मात्र चिन्नेहरूले उनको साङ्गीतिक पाटोबारे जानकारी नराखेका हुन सक्छन् । त्यसमाथि नेपाली चलचित्र फाँटमा समेत कथाकार, गीतकार र संगीतकारको रूपमा उभ्याउने तथा ‘परिचय’ दिलाउने कार्यमा उनै नवलको महत्वपूर्ण भूमिका रहेको हेक्का कमैले राखेका हुन सक्छन् । त्यसो त, जनयुद्धकालीन समयमा मणिका गीत–संगीतले गाउँ-बस्ती ब्युँझाएको इतिहास मेट्न खोजेर मेटिँदैन ।

जनयुद्धकालीन समय-खण्डमा क्रान्ति, प्रगति र अग्रगमनका सन्देश प्रवाह गर्ने साङ्गीतिक सिर्जनादेखि नेपाली चलचित्रको ब्यावसायिक गीत-संगीतको फाँटसम्म उत्तिकै जमेका नवनियुक्त खानेपानी मन्त्री मणि थापाले नवल खड्काको दशगजा, भीम दत्त र काँडेतार चलचित्रमा गीत मात्र लेखेनन्, संगीत भरे र कथा पनि तयार पारे ।

फक्लिनको टापुबाट, युद्धको मैदानबाट
चिट्टी लेख्दैछु आमा
लड़ाइँको मैदानबाट…

भूमिगतकालमा मणिले सिर्जना गरेका यो गीत आज पनि उत्तिकै दमदार र सन्देशमूलक मानिन्छ ।

अरुण तरेर नाना
तमोर तरेर
आयौँ हामी पिरतीको
गाथा लिएर…

जनयुद्धको समयमा यो गीतले नेपाली जन-जनमा छोडेको छाप र पैदा गरेको तर्ङ्गको चर्चा जति गरे पनि थोरै हुन्छ । ‘उहाँ राजनीतिमा मात्र होइन, सृजनात्मक कार्यमा पनि उत्तिकै निपुर्ण र दक्ष सर्जक हुनुहुन्छ’- अभिनेता तथा निर्देशक नवल खड्का सम्झन्छन् ।

नवलद्वारा निर्मित दशगजा, भीमदत्त र काँडेतार गरेर तीन चलचित्रका गीत–संगीतको जिम्मेवारी पाएका थिए मणि थापाले । दशगजा र भीमदत्त रिलिज भैसकेका छन् भने काँडेतार रिलिज हुन बाँकी छ ।

फूल झैँ फुल्न मन लाग्यो
लहरामा झुल्न मन लाग्यो
इन्द्रेणीको रंग शीरमा
लाउन मन लाग्यो…

चलचित्र दशगजामा समेटिएको यो रोमान्टिक गीतका संगीतकर्मी पनि मणि थापा नै हुन् । युद्धको मैदानदेखि रोमान्टिक भाव पैदा गराउन सक्ने सृजनाका स्रष्टा हुन् नवनियुक्त खानेपानी मन्त्री मणि थापा । उनको सृजनाबाट लाखौँ श्रोताहरूले गीत संगीतको प्यास त मेटेका छन्, अब हेर्नु छ कि यी मन्त्रीको कार्यकालमा काकाकुल बनेका काठमाडौवासीले पानीको प्यास मेट्न पाउने हुन् कि होइनन् !