कसले गर्‍यो मेचीनगरका उपप्रमुख चढेको गाडी जलाउने प्रयास ?

कसले गर्‍यो मेचीनगरका उपप्रमुख चढेको गाडी जलाउने प्रयास ?



मेचीनगर नगरपालिकाका उपप्रमुख मीना उप्रेती सवार मे १ झ १७२ नंं गाडी एक समूहले बिहीबार जलाउने प्रयास गरेको जनाइएको छ । नेपाल आयल निगम चारआली डिपोको कार्यक्रममा सहभागी भएर नगरपालिका कार्यालयतर्फ फर्किरहेका बेला आज अपराह्न ३ बजेतिर पूर्वपश्चिम राजमार्गको धाइजन खण्डमा बाटो छेकेर आफू सवार गाडीमा आगो लगाउने प्रयास भएको उपप्रमुख उप्रेतीले जिकिर गरेकी छन् ।

गाडी जलाउन खोज्ने दुई युवाले आफूहरु नेपाल विद्यार्थी सङ्घका कार्यकर्ता भएको बताएको दाबी गर्दै उपप्रमुखले बाटो छेकेर गाडीको चक्कामा पेट्रोल छर्किएको आरोप लगाएकी छन् ।

‘पेट्रोल छर्किएको चक्कामा सलाई निकालेर आगो लगाउन लागेपछि मैले ड्राइभरलाई जसरी भए पनि छिटो गाडी हुइँक्याउन लगाएँ’’, उपमेयर मीनाको भनाइ छ ।

घटनाबारे इलाका प्रहरी कार्यालय काँकडभिट्टामा तत्कालै जानकारी गराइएको र प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ भने नेपाली कांग्रेसका जिल्ला उपसभापति राम कट्टेलले घटना भत्सर्नायोग्य भए पनि कसले गरेको हो भनी आफूहरुले बुझ्ने प्रयास गरिरहेको जनाएका छन् ।