रजनीकान्तद्वारा नयाँ पार्टी खोल्ने घोषणा

रजनीकान्तद्वारा नयाँ पार्टी खोल्ने घोषणा



भारतका चर्चित फिल्म कलाकार रजनीकान्तले नयाँ पार्टी खोल्ने घोषणा गरेका छन् । विषेश गरेर तमिल सिनेमाबाट धेरै चर्चामा रहेका रजनीकान्तले आफूले नयाँ पार्टी खोल्न लागेको बिहिबार जानकारी दिएका छन् ।

पार्टीको औपचारिक घोषणा भने यही डिसेम्बर ३१ तारिखका दिन गर्ने रजनीकान्तको भनाइ छ । तमिलनाडुमा निर्वाचन हुन लागेको पूर्वसन्ध्यामा उनले पार्टी खोल्ने र निर्वाचनमा जाने अवधारणा बनाएका हुन् ।

‘हामीले एउटा नयाँ राजनीतिक पार्टी गठन गरेर घोषणा गर्न लागेका छौँ, जनवरीदेखि दर्ता गरेर त्यसले काम गर्न थाल्ने छ, त्यस मार्फत हामीले अत्यन्त कडाइका साथ काम गर्नेछौँ,’ रजनीकान्तले भनेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले दिएको जानकारीअनुसार पार्टी खोल्ने निर्णयमा पुग्नुअगाडि उनले धेरै जनासँग परामर्श पनि गरेका थिए ।

‘मैले पटक पटक विभिन्न व्यक्तिहरुसँग छलफलहरु गरेँ, उहाँहरुको सल्लाह सुझावलाई लिएर मैले पार्टी खोल्ने निर्णयमा पुगेको हुँ,’ उनले प्रष्ट्याएका छन् । आफूलाई धेरैले सहयोग गर्ने भरोसा दिएका र एक सही राजनीतिक दलको आवश्यकता पनि देखिएको कलाकार रजनीकान्तले उल्लेख गरेका छन् ।

तमिलनाडुमा सन् २०२१ को अप्रिलदेखि मेसम्म विधानसभा निर्वाचन हुने तय भएको छ ।