राणा पनि माग्थे तर देशका लागि

राणा पनि माग्थे तर देशका लागि


(इतिहास)


वि.सं. १९७५ फागुन १५ र १६ गतेका दिन श्री ५ महाराजाधिराज त्रिभुवन वीरविक्रम शाहदेवको शुभविवाह भारत-विहार राज्यका राजपूत दुई कन्याहरू जेठी श्री ५ बडामहारानी कान्ति राज्यलक्ष्मीदेवी शाह र कान्छी श्री ५ बडामहारानी ईश्वरी राज्यलक्ष्मीदेवी शाहहरूसित एकैसाथ धूमधामसँग सम्पन्न भयो । विवाह हुँदा श्री ५ महाराजाधिराज त्रिभुवनको उमेर जम्मा १२ वर्ष ९ महिनाको मात्र थियो ।

सो कलेज निजले त्यस स्थानमा बनाउनको तात्पर्य स्व. श्री ३ वीरको उपरोक्त कीर्तिलाई महत्व नदिनाखातिर हो भनिन्छ । हुन पनि श्री ३ चन्द्रले कहीँ जग्गा-जमीन नपाई निज स्व. श्री ३ वीरको कीर्तिसँगै सो त्रि-चन्द्र कलेज बनाउनको तात्पर्य अरू केही देखिँदैन । नेपाल अधिराज्यमा सर्वप्रथम कलेज श्री ३ चन्द्रकै समयमा स्थापना भएको हो भनी ‘नाम’ राख्नको निमित्त त्रि-चन्द्र कलेजको निर्माण त गराए, साथै यिनलाई डर, त्रास पनि थियो । तसर्थ, त्रि-चन्द्र कलेजको उद्घाटन सकिएपछि श्री ३ चन्द्रले सबै समक्ष ‘म आफ्नो खुट्टामा आफैले बन्चरो हान्दैछु’ भन्ने अभिव्यक्ति दिए ।

त्यसै अवसरमा भाइ भीमशमशेर र भाइ जुद्ध शमशेरहरूलाई औल्याउँदै- ‘एउटा गँजडी छ त अर्को रण्डीबाज, यस्ताले पछि कसोगरी राजकाज चलाउलान्, जंगबहादुरको समयमा जनता भेँडासमान सोझा थिए भने वीरशमशेरको समयमा जनता साँडेसमान भइसकेका थिए, मेरो समयमा अहिले जनता सिंहसमान भइरहेछन् । पछि हुने यस्ता नाथेहरूको समयमा जनता के-के, कस्ता-कस्ता हुने हुन् र यी नाथेहरूले कसो गरी राजकाज संभाल्ने हुन्’ भने । त्यस अवसरमा त्रि-चन्द्र कलेजको सम्बन्धन भारतको बिहार राज्य पटना विश्वविद्यालयसँग कायम गराए ।

वि.सं. १९७६ तदनुसार १९१९ ई. मा अफगानिस्थानका अमीर हबीब उल्ला खानको हत्यापछि नासिर उल्ला खानले म वैधानिक शासक हूँ भनी घोषणा गरी बृटिश सरकारको विरोध गरे । सो विद्रोह दमन गर्नाको खातिर बृटिश-भारतको तर्फबाट मे. १९१९ ई. मा सैनिक सहायताको माग गरेको हुँदा जुन २ ता. १९१९ इ. का दिन जनरल बबरशमशेरकै नेतृत्वमा फेरि २००० जवानको पूर्ण सुसज्जित सेना काठमाडौंबाट भारततर्फ पठाए । तर पछि सेनाको जरुरत नपरेकाले सो सेना सितम्बर–अक्टूबर १९१९ ई. सम्ममा फर्की काठमाडौं आइपुगे ।

एकदिन रेजिडेन्ट र श्री ३ चन्द्रबीच वार्ता हुँदा कुरैकुरामा रेजिडेन्टले श्री ३ चन्द्रलाई घुमाइफिराइ ‘के गर्नाले र के दिनाले तपाईं र तपाईंका जनता खुशी होलान् ?’ भनी प्रश्न गरे । श्री ३ चन्द्रले पनि यो चाहिन्छ भनी भन्न गाह्रो माने र आखिर रेजिडेन्टले नै श्री ३ चन्द्रलाई पदक दिने प्रसङ्ग उठाए । श्री ३ चन्द्रले पदक त आफ्नो छातीभरि भइसकेको कुरा बताइ सन् १८५७ को गदरमा सर जंगबहादुरले सालाना दश लाख रुपियाँ आय हुने नयाँ मुलुक पाएथे, मैले पनि सर जंगबहादुरले भन्दा कम बृटिशभारत सरकारको सेवा गरेको छैन जस्तो लाग्दछ भने ।

त्यसपछि वि.सं. १९७६ पौष, तदनुसार दिसम्बर २७ ता. १९१९ ई. का दिन बृटिश भारत सरकारतर्फबाट श्री ३ चन्द्रलाई बृटिश आर्मीको अनरेरी जनरलको पदका साथै नेपाली जनतालाई एकमुष्ट एक्काइस लाख रुपियाँ र १० लाख पौण्ड दिने घोषणा गरी लण्डनको Bank of London मा नेपाल सरकारको नामबाट खाता खोली १० लाख पौण्ड त्यस खातामा राखिदिए । प्रत्येक वर्ष आउने ब्याज मात्र सो Bank of London ले नेपाल सरकारकहाँ पठाउने गर्‍यो । श्री ३ चन्द्रको मनसाय स्व. श्री ३ जंगले नयाँ मुलुक आर्जे झै आफूले पनि भूमि नै आर्जन गरूँला भन्ने थियो, तर नेपाली बनियाँ, लोभी, कन्टक श्री ३ चन्द्र, उनको मुखबाट निस्केको (सालाना १० लाख रूपैयाँ आय हुने) शब्दले गर्दा १० लाख पौण्ड नेपाली जनताको नाममा Bank of London मा राखिदिए र अंग्रेजले श्री ३ चन्द्रलाई चित नेपाली जनतालाई हिस्स पार्‍यो ।

(पुरुषोत्तम शमशेर जबराकृत श्री ३ हरुको तथ्य वृत्तान्तबाट)