नेपाली शान्ति सैनिकबाट दक्षिण सुडानमा हिंसा नियन्त्रण, राष्ट्र संघद्वारा उच्च प्रशंसा

नेपाली शान्ति सैनिकबाट दक्षिण सुडानमा हिंसा नियन्त्रण, राष्ट्र संघद्वारा उच्च प्रशंसा


लामो समय गृहयुद्दको चपेटामा परेको दक्षिण सुडानमा खटिएका नेपाली सेनाका शान्ति सैनिकहरूले सम्भावित ठूलो जातीय हिंसा नियन्त्रण गरेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएअनुसार नेपाली सेनाको कालिध्वज गणअन्तर्गतको अस्थायी बेसबाट खटिएका सैनिकले त्यहाँ फैलिन थालेको डरलाग्दो जातीय हिंसा नियन्त्रण गरेका हुन् ।

गण हेडक्वार्टर रहेको स्थान रुम्बेकदेखि करिब ७० किलोमिटर उत्तर पश्चिममा रहेको क्युइबेट इलाका नजिकै रहेको गाइगोरु क्याम्पमा चोरी गर्न आएका भनिएका कंगोर जातिका एक व्यक्तिको झडपमा मृत्यु भएपछि अएइल जातिका व्यक्तिहरुबीच हिंसा फैलिएको सेनाले जनाएको छ ।

हिंसा भड्किन लागेको खबर प्राप्त भएपछि अस्थायी बेसबाट सहसेनानी विज्ञान विष्टको कमाण्डमा खटिएको टोलीले ठूलो हिंसा हुनबाट जोगाएको सेनाको विज्ञप्तिमा उल्लेख छ । उक्त इलाकाको सुरक्षा स्थिति सामान्य भएपश्चात राष्ट्रसंघीय मिसनका अन्य इकाइहरुबाट त्यहाँस्थित विभिन्न जातीय समुदायहरुबीच शान्ति कायम गराउने कार्य शुरु गरिएको बताइएको छ ।

जातिय द्वन्द्वका कारण नरसंहारबाट गुज्रेको उक्त मूलुकमा यस प्रकारका घटनाको पुनरावृत्ति हुनबाट जोगाउन नेपाली शान्ति सैनिकहरुले पुर्‍याएको योगदानलाई संयूक्त राष्ट्र संघले उच्च प्रशंसा गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।