राजसंस्था र हिन्दू राज्य पुनःस्थापनाको माग गर्दै राजधानीमा व्यापक प्रदर्शन

राजसंस्था र हिन्दू राज्य पुनःस्थापनाको माग गर्दै राजधानीमा व्यापक प्रदर्शन



‘राष्ट्रिय शक्ति नेपाल’को संयोजन एवम् आह्वानमा राजधानी काठमाडौंमा राजसंस्था र हिन्दू राज्य पुनःस्थापनाको माग गर्दै प्रदर्शन भएको छ । काठमाडौंका विभिन्न स्थानबाट सुरु भई थापाथली, माइतीघर मण्डला हुँदै बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको प्रदर्शनमा राजसंस्था एवम् हिन्दुराष्ट्रको पक्षधर अभियन्ताहरुले वर्तमान संविधान च्यात्ने चेतावनीसमेत दिए ।

सभालाई सम्बोधन गर्दै पूर्वमन्त्री एवं राजसंस्थाको पक्षमा वकालत गर्दै आएका अभियन्ता केशरबहादुर बिष्टले आफूहरु शान्तिपूर्ण रुपमा आन्दोलनमा उत्रेको बताउँदै सहज रुपमा माग पूरा गर्न आग्रह गरे । नेपालको पहिचानका लागि राजतन्त्रको उपस्थिति अपरिहार्य भएको उल्लेख गर्दै उनले भने, ‘पछिल्ला दिनमा देशमा धेरै राजा आए तर खास राजाको मात्र नाम छ । विदेशीको गोटी भनेर नेताहरु देशको संस्कार, संस्कृति र मौलिकता मेट्न लागिपरेका छन् ।’

नेपालको जस्तो शालिन राजा विश्वमा कहीँ नभएको दाबी गर्दे उनले आफ्नो सिंहासन छाडेर नागार्जुनको जंगलमा बस्न जाने राजा अन्यत्र नपाइने तर्क गरे । अहिलेका नेताहरुले बेइमानीको सीमा नाघेका आरोप लगाउँदै तातो पानीले नुहाउनका लागि पनि सिंगापुर पुग्ने गरेका उदाहरण उनले पेश गरे ।

वर्तमान संविधान च्यात्नुपर्ने अवस्थामा आउन सक्छ भन्ने तर्कका साथ अभियन्ता विष्टले यो संविधान लागू हुनुअघि र पछि म आन्दोलनमा सहभागी भएको छु, संविधान ठीक नभएकोले सँगै आन्दोलन गरेको नेता त संविधान उत्कृष्ट छ भन्दै भोलिपल्ट नै उपप्रधानमन्त्री पो भएछ भनी कमल थापाप्रति ब्यंग्य गरे ।

काठमाडौंको माइतीघर मण्डलाबाट शुरु भएको प्रदर्शनका सहभागीहरुले संघीय गणतन्त्रात्मक व्यवस्थाले राष्ट्रिय अर्थतन्त्र र राष्ट्रिय अखण्डता कमजोर बनाएको भन्दै ‘राष्ट्र निर्माता शाहवंशीय संवैधानिक राजसंस्था र सनातन धार्मिक अधिराज्य’को माग गरेका थिए । राष्ट्रिय झण्डासहित उनीहरुले ‘दल भन्दा देश ठूलो हो, दलीय झण्डा छोडेर देशको झण्डा बोकौँ’ भन्नेसहितका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

पछिल्ला केही दिनयता मुलुकका विभिन्न शहर बस्तीमा राजसंस्था र हिन्दु राष्ट्रको स्थापनाको माग गर्दै स्वस्फूर्त शैलीका प्रदर्शनहरु हुँदै आएका छन् । यसैको निरन्तरता सोमबार काठमाडौंमा प्रदर्शन भएको ठानिएको छ ।