७८ जना नेपाली विद्यार्थीले जापानको आवासीय अनुमति गुमाए

७८ जना नेपाली विद्यार्थीले जापानको आवासीय अनुमति गुमाए



विशेष प्रतिनिधि, टोकियो (जापान)

जापानमा अध्ययनका लागि आएका ७८ जना नेपाली विद्यार्थीले जापानको आवासीय अनुमति गुमाएका छन् । उनीहरुले अध्ययनको बीचमा काम गर्नका लागि निर्धारित नियमको उल्लंघन गरेपछि बसोबास अनुमति रद्द गरिएको हो ।

ओकिनावाको जेएसएल जापानीज भाषा स्कुलमा अध्ययनरत ती विद्यार्थीले अब बसोवास अनुमति नवीकरण गर्न नपाउने भएका हुन् ।

स्कुलका अनुसार फुकुओका क्षेत्रीय अध्यागमन ब्यूरोको नाहा शाखाले ती विद्यार्थीहरुले ३ महिनाभित्र जापान छाड्नुपर्ने बताएको छ । यो स्कुलको १९८६ मा स्थापना भएपछि यसरी विद्यार्थीले बसोवास अनुमति गुमाएको पहिलो पटक भएको बताइएको छ ।

गत वर्षको जुलाइमा विद्यालयमा भर्ना भएका १४२ विद्यार्थीमध्ये ७८ जनाले अब बसोवास अनुमति नवीकरण गर्न पाउने छैनन् । ६ महिनाको लागि बसोबस अनुमति बढाउने सुविधा पनि उनीहरुले पाउने छैनन्, किनकि उनीहरुले वैधानिक रुपमा काम गर्न पाउने समयभन्दा बढी काम गरेको पाइएको छ । जापानमा अध्ययनका लागि गएका विदेशी विद्यार्थीले पार्ट टाइममा हप्तामा २८ घण्टासम्म मात्र काम गर्न पाउँछन् ।

स्कुलले सहजीकरण गर्ने

पीडित विद्यार्थीलाई स्कुलले सहयोग र सहजीकरण गरेको छ । भिसा रद्द भएकै दिनबाट स्कुलले कुनै शुल्क नलिने घोषणा गरेको छ भने लिएको शुल्कसमेत फिर्ता गर्ने भएको छ ।

साथै नेपाल फर्किंदा गर्नुपर्ने पीसीआर टेष्ट, फर्किने टिकट ओकिनावा-नारीता, नारीता-काठमाडौं र टोकियोमा बस्ने होटलको खर्च समेत स्कुलले ब्यहोर्ने भएको हो । भाषा टेस्ट (तोकुतेई गिनोउ)को प्रक्रियालगायत कुनै कारणले नेपाल फर्कन ढिलो हुनेहरूलाई होस्टेल शुल्क समेत नलिने स्कुलले बताएको छ ।

नेपालमै समेत सम्बन्धित विद्यायलको शाखा रहेको पनि स्कुल सञ्चालकले नेपालीलाई धेरै माया गर्ने र नेपालमा अन्य क्षेत्रमा पनि लगानी गर्न लागेको बताइन्छ । करिब ४५० विद्यार्थीको क्षमता रहेको यस स्कुलमा नेपालसहित चीन, अमेरिका, भियतनाम र श्रीलंकाका विद्यार्थी अध्ययन गर्दै आएका छन् ।