दबाबमा परेका प्रधानमन्त्री ओलीले चाल्न सक्ने नौ कदम

दबाबमा परेका प्रधानमन्त्री ओलीले चाल्न सक्ने नौ कदम



प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै पार्टीभित्रका विपक्षीहरूको चर्को दबाबमा परेपछि आफूलाई सुरक्षित तुल्याउन उनले कुन विकल्प अपनाउलान् भन्ने विषयमा विभिन्न अड्कलबाजी शुरू भएका छन् । वामपन्थी काङ्ग्रेसका सभापति शेरबहादुर देउवासँग गत शनिबार प्रधानमन्त्रीले विशेष भेटवार्ता गरेपछि पार्टी विभाजन भएमा केपीले काङ्ग्रेससँग सत्ता-साझेदारी गरेर अघि बढ्न चाहेको भन्ने विश्वास गर्न थालिएको छ । तर तत्काल केपीको प्राथमिकता काङ्ग्रेससँगको गठबन्धन हुन सक्ने देखिँदैन । प्रधानमन्त्री र पार्टी अध्यक्षका रूपमा केपीले चाल्न सक्ने विभिन्न नौ कदमबारे यहाँ बुँदागत रूपमा प्रस्तुत गरिएको छ-

१) सचिवालय विघटन या विस्तार :

विगत करिव डेढ वर्षदेखि केपी शर्मा ओली पार्टीको हाइकमाण्ड मानिने सचिवालयबाट हैरान छन् । सचिवालयका नौ मध्ये आफ्नो पक्षमा तीन जना देखिए पनि कहिलेकाहीँ उनले एक्लो ठान्नुपरेको बताइन्छ । सरकारमा भएकोले विष्णु पौडेल, ईश्वर पोखरेल र रामबहादुर थापा ‘बादल’ केपीविरुद्ध नजाने विश्वास गरिएको छ । तर, यीमध्ये अन्त्यमा बादलको साथ आफूलाई रहने विश्वास प्रचण्डले गरेका छन् । सचिवालयका बहुमत सदस्यबाट बारम्बार चुनौती र चेतावनी आइरहेकोले बाँकी कार्यकाल सुरक्षित ढङ्गले बिताउन सचिवालय बिस्तार गरेर आफ्ना निम्ति अनुकुल परिस्थिति बनाउने या सचिवालय भङ्ग गर्ने कदम केपी ओलीबाट चालिन सक्ने सम्भावना छ । यसो गर्नु विधानसम्मत हुने–नहुने या अर्को पक्षको सहमति हुने–नहुने एउटा पक्ष हो, तर सचिवालयबाट नै ज्यादा हैरानी भएकोले त्यसको विघटन या बिस्तार केपीका निम्ति एउटा विकल्पको रूपमा रहेको छ ।

२) राजीनामा दिने :

केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने कारण र अवस्था देखिँदैन । ओलीले राजीनामा दिने सम्भावना पनि अहिलेसम्म छैन । तथापि, सहयात्रीहरूबाट उत्पन्न व्यवधानबाट मुक्त हुने एउटा उपायको रूपमा राजीनामालाई लिन सकिन्छ, जुन विकल्प केपीबाट रोजिन असम्भवप्रायः छ । प्रचण्डहरूलाई पार्टी र राज्यसत्ताको अधिपति बनाउने गरी केपीले राजीनामा दिने कल्पनासम्म गरिँदैन । तर केपीका नौ मध्ये एउटा विकल्पचाहिँ पदबाट राजीनामा पनि हो भन्न सकिन्छ ।

३) पार्टी निर्णयलाई मानेर अघि बढ्ने :

केपी शर्मा ओलीले अहिलेसम्म वेस्ट मिनिस्टर प्रणालीमा आधारित ‘सरकारले राज्य सञ्चालन गर्ने’ सिद्धान्तअनुरूप काम गरिरहेका छन् । प्रचण्ड पक्षले कम्युनिष्ट शासनमा झैँ पार्टीले सरकार सञ्चालन गर्ने ‘सैद्धान्तिक अडान’ लिएको छ । राजनीतिक नियुक्ति, ठूला ठेक्कापट्टा, महत्वपूर्ण निर्णयहरू पार्टीको सिफारिशअनुसार गर्नुपर्ने माग प्रचण्ड पक्षको छ । यसबाहेक केपीमाथि पार्टी अध्यक्ष या प्रधानमन्त्रीमध्ये एउटा मात्र पदमा बस्न र एक पद छोड्न पनि दबाब दिइएको छ । पार्टीका हरेक निर्णयलाई जस्ताको त्यस्तै स्विकार गरेर जाने या जानसक्ने अवस्थामा केपी देखिँदैनन्, तर उनका अघिल्तिर पार्टीका हरेक निर्णय पालना गरेर जाने पनि एउटा विकल्प रहेको छ ।

४) स्वतन्त्र ढङ्गले मन्त्रिमण्डल पुनर्गठन :

सरकार सञ्चालनमा असफल भएको भन्दै सबैतिरबाट र विशेषगरी पार्टीभित्रबाट प्राप्त गाली र आलोचना केपीले एक्लै ब्यहोरिरहनुपरेको भए पनि मन्त्रिमण्डलको गठनचाहिँ केपीले एक्लै गरेका होइनन् । प्रचण्ड, माधव र बामदेवसहितको कोटाबाट मन्त्री बन्नेहरूको सङ्ख्या झण्डै एक दर्जनको हाराहारीमा छ । यदि आलोचना र गाली एक्लै खान पर्ने हो भने मन्त्रिमण्डलको गठन या पुनर्गठन पनि केपी एक्लैले स्वतन्त्र ढङ्गले गर्न पाउनुपर्छ भन्ने मत सत्तापक्षभित्र उत्पन्न भएको छ । प्रधानमन्त्रीले एकल निर्णयबाट सन्तुलित एवम् प्रभावकारी मन्त्रिमण्डल निर्माण गरेर बाँकी कार्यकाल पूरा गर्ने योजना बनाए भने त्यो अस्वाभाविक र आश्चर्यजनक हुनेछैन ।

५) केन्द्रीय समितिको विघटन र तदर्थ समिति गठन :

नेकपाको महाधिवेशन आगामी चैतमा गर्ने निधो गरिएको छ । त्यसनिम्ति भीमकाय केन्द्रीय समिति विघटन गरी सानो, तर प्रभावकारी ‘महाधिवेशन तयारी समिति) गठन गर्ने तत्परता केपीबाट लिइन सम्भव छ । महाधिवेशनबाट नै सबै प्रकारका विवादहरूको टुङ्गो लगाउने अठोट यसअघि पनि प्रकट भएकै हो । उक्त अठोटलाई कार्यान्वयनमा ल्याउन केपी ‘केन्द्रीय तदर्थ समिति’ गठन गरी परिस्थिति अनुकूल बनाउँदै अगाडि बढ्ने निर्णयमा पुग्न असम्भव छैन ।

६. नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण :

प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री र पार्टी अध्यक्ष पदका निम्ति प्रचण्ड, माधव नेपाल, बामदेव गौतम र झलनाथ खनाललाई आफूभन्दा योग्य, सक्षम र गतिशील ठान्दैनन् । त्यसैले आफू पदमा अडिन कुनै हालतमा पनि नसकिने अवस्था आएमा ओलीले आफूसहित पुरानो पुस्ताका पाँचै जनाले अनिवार्य अवकाश लिने र नयाँ पुस्ताका नेतालाई नेतृत्व हस्तान्तरण गर्ने प्रस्ताव अघि सार्न सक्छन् । ओलीको यस्तो प्रस्ताव आउँदा नयाँ पुस्ताका नेता, कार्यकर्ता र आमनागरिकको समर्थन हुने हुँदा प्रचण्ड, माधव र बामदेव निकै अप्ठ्यारोमा पर्न सक्छन् । उनीहरूलाई अप्ठ्यारोमा पार्नका निमित्त पनि केपीबाट यस प्रकारको कदम चालिन सम्भव छ ।

७) सङ्कटकाल घोषणा :

केपीले तत्कालको राजनीतिक सङ्कटलाई केही पछाडी धकेल्न ‘स्वास्थ सङ्कटकाल’ या सङ्कटकाल घोषणा गरेर जाने र, केही समय लिएर परिस्थिति आफ्नो अनुकुल बनाउन सक्ने सम्भावना पनि छ । तर यस्तो कामले समस्याको समाधानभन्दा पनि समस्यालाई पछि सार्ने काम मात्र गर्नेछ ।

८) विपक्षीलाई समेटेर सरकार गठन गर्ने :

आफ्नो नेतृत्वको सरकारलाई निरन्तरता दिन केपीबाट मधेशकेन्द्रित समूह या नेपाली काङ्ग्रेसलाई सत्ताको साझेदार बनाउने कदम पनि चालिन सम्भव छ । पार्टीकै मित्रहरूले बारम्बार दुःख दिइरहेमा, फुटेर जाने सम्भावना रही रहेमा या विधिवत पार्टीको विभाजन भएको अवस्थामा केपी ओली विपक्षी समूहलाई सरकारमा सामेल गरेर आफूलाई सुरक्षित तुल्याउन पनि सक्छन् । यसो गर्दा मधेशकेन्द्रित भन्दा काङ्ग्रेस नै भरोसायोग्य हुने बुझाइ केपीको हुन सक्छ । त्यसैले मङ्सिर १३ गतेको बैठकले सकारात्मक मोड नलिएमा केपीले काङ्ग्रेससँग संयुक्त सरकार गठनको प्रक्रिया शुरु गर्न सक्ने सम्भावनालाई पूरै इन्कार गर्न सकिँदैन । नेकपाको संसदीय दलमा पचहत्तर मात्र सदस्यहरू केपीको पक्षमा उभिए पनि काङ्ग्रेससँग गठबन्धन भएर संयुक्त सरकार चल्न सक्ने गणितीय अवस्था छ ।

९) संसद भङ्ग गरी चुनावको घोषणा :

वर्तमान संविधानको भाग ७ धारा ७६ को उपधारा ७ मा ‘प्रधानमन्त्री बन्न नसकेका प्रधानमन्त्रीले मात्र संसद विघटन गरी चुनाव गराउन सक्ने’ हास्यास्पद व्यवस्था गरिएको छ । यो प्रावधानले वेस्ट मिनिष्टर प्रणालीको संसदीय व्यवस्थाकै खिल्ली उडाएको छ । यदि संविधानमा उल्लिखित अक्षरलाई मात्र ध्यान दिइयो भने प्रधानमन्त्री ओली संसद विघटन गरेर चुनावमा जान सक्दैनन् । तर संविधानको भावना, पुराना नजीर तथा विश्वव्यापी संसदीय प्रजातान्त्रिक मान्यतासमेतलाई विचार गर्ने हो भने प्रधानमन्त्रीलाई संसद विघटन गरेर चुनावमा जान कसैले पनि रोक्न सक्ने छैनन् । चुनावी परिणाम केपीका निम्ति सुखद नहुन सक्ला, तर त्योभन्दा दुःखद अवस्थाको सामना प्रचण्ड, माधव र बामदेवले गर्नुपर्ने हुन सक्छ । यद्यपि, प्रधानमन्त्री ओलीको अन्तिम विकल्पका रूपमा मात्र यस्तो कदम चालिन सक्ने सम्भावना छ ।

उल्लिखित नौ बाहेक राष्ट्रपति शासन र अन्य अप्रत्याशित एवम् आपतकालिन विकल्पहरू पनि नभएका होइनन्, तर यतिबेला यहाँ प्रस्तुत नौ विकल्पमध्ये कुनै न कुनै या केही विकल्प केपीको रोजाइमा पर्न सक्ने सम्भावना रहेको छ ।