बन्दीपुर केवलकारमा एसबिआई र एनएमबी बैंकले लगानी गर्ने

बन्दीपुर केवलकारमा एसबिआई र एनएमबी बैंकले लगानी गर्ने


‘पहाडकी रानी’ भनिने मुलुककै ऐतिहासिक पर्यटकीय गन्तब्य तनहुँको बन्दीपुरमा निर्माण भइरहेको बन्दीपुर केवलकार सहितका परियोजनामा दुई बैंकले लगानी गर्ने भएका छन् ।

बन्दीपुर केवलकार प्रालि र नेपाल एसबिआई बैंक लिको नेतृत्वमा एनएमबी बैंक लिमिटेडका बीच ऋण लगानीका लागि मंगलबार सम्झौता भएको हो ।

फाइनान्सियल क्लोजर अन्तर्गत बन्दीपुर केवलकार एण्ड टुरिजम परियोजनाको लागत १ अर्ब ६६ करोड ८९ लाख रुपियाँमध्ये दुई चरणमा लगानी गर्ने समझदारी गरिएको दुबै बैंकले गरि १ अर्ब ५ करोड भन्दा बढी लगानी गर्नेछन् । पहिलो चरण अन्र्तगत ७० करोड रुपियाँ लगानी हुने छ । त्यसबाट केवलकार, रेस्ट्रो जोन र रिक्रियशन सञ्चालनमा ल्याउने योजना रहेको बन्दीपुर केवलकार प्रालिका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिनुभयो ।

यसैगरी दोस्रो चरणको होटेलसहितको पूर्वाधारलाई सञ्चालनमा ल्याउने गरि थप ३५ करोड रुपैयाँ कर्जा सुनिश्चित गरिएको छ । बन्दीपुर केवलकार परियोजनाका लागि लगानीकर्ताका तर्फबाट आरकेडी रियल स्टेट एण्ड कन्स्टरक्सन लि र टुरिजम इन्भेस्टमेन्ट फण्ड लिमिटेडले ६१ दशमल ५ प्रतिशत, पन्चासे केवलकार एण्ड टुर्स लिमिटेडले २५ दशमलब ५ र बन्दीपुर गाउँपालिका लगायत स्थानीय लगानीकर्ताको १४ दशमलब ५ प्रतिशत लगानी गर्नेछन् ।

‘निर्माणको चरणमा रहेको बन्दीपुर केवलकार सहितको पर्यटन परियोजनामा लगानीकर्ताको टुङ्गो लागेपछि परियोजना निर्माण कार्य समयमा नै सकिने विश्वास लिएका छौँ’, कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले भन्नुभयो- ‘गण्डकी प्रदेशको आकर्षक पर्यटकीय गन्तब्यको रूपमा विकास गर्न लागनी सम्झौता एउटा महत्वपूर्ण घटना सावित हुनेछ ।’

आगामी १० वर्षभित्र बन्दीपुर अवधारणा देशब्यापी रूपमा स्थापित भैसक्ने र १० हजारमाथिको रोजगारीको ग्यारेन्टी गर्ने महत्वकांक्षी योजना समेत बनेको अध्यक्ष शर्माले बताउनुभयो । कम्पनीले स्थानीय शेयरधनीहरुलाइ थप ब्यबसायिक रुपमा प्रवर्द्धन गर्न ३ दशमलब ५ प्रतिशत ब्याज दर निर्धारण गरि २० करोड बराबरको सहुलियत पूर्ण कर्जा सुबिधा उपलब्ध गराउने घोषणा समेत गरेको छ। यस कर्जाको लागि बन्दीपुर केवलकारले यसअघि नै बैंकसँग प्रस्ताव र जमानीको ग्यारेन्टी गर्ने बताइसकेको छ ।

ऋण सम्झौता कार्यक्रममा बोल्दै बन्दीपुर गाउँपालिका अध्यक्ष पूर्णसिङ थापाले बन्दीपुरलाई गण्डकी प्रदेशको स्वागत गन्तब्य बनाउनको लागि परियोजनाले निर्णायक भूमिका खेल्ने विश्वास ब्यक्त गनुइभो । उहाँले परियोजना सम्पन्न गर्नका लागि पालिकाको तर्फबाट सबै प्रकारका सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि जनाउनुभयो । 

बन्दीपुर केवलकारसहितको पर्यटन परियोजना दक्षिण एसियामा नै भिन्न सोचसहित निर्माण भएको छ । यो परियोजनामा केवलकारबाट सिधै चारतारे होटेलमा प्रवेश पाइनेछ । जहाँबाट सुर्योदय, ह्वाइट सी, सीस महल, वाक्स म्युजियम, प्लानेटरियम, भुत बंगला, भ्युज रुम, १००० अट्ने क्षमताको सम्मेलन केन्द्र, रेस्ट्रो जोन , स्विमिङ पुल र ६६ कोठाको होटेल निर्माण हुने बताइएको छ ।

कम्पनीले परियोजना थप आकर्षक बनाउन संसारकै अग्लो बन्जी जम्प, अग्लो मेकानिकल स्विङ, म्युजिकल वाटर शो समेत बनाउने तयारी गरेको छ । जसले दशौँ हजार पर्यटक बन्दीपुरमा लैजाने रणनीतिक योजना बुनेको कम्पनीले जनाएको छ । केही महिनाभित्र बटम स्टेशनमा सुविधा सम्पन्न रेस्ट्रो जोनको ब्यवसायिक सुरुवात गर्ने लक्ष्य कम्पनीको छ ।