पारस खड्का आइसिसी अवार्डका लागि मनोनयनमा

पारस खड्का आइसिसी अवार्डका लागि मनोनयनमा



नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का ‘आइसिसी मेन्स एशोसिएट प्लेयर अफ दि डिकेड’ अवार्डको मनोनयनमा परेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले मंगलबार सार्वजनिक गरेको सूचीमा पूर्वकप्तान खड्का दशकको उत्कृष्ट क्रिकेटरमध्ये एशोसिएट विधाको मनोनयनमा परेका हुन् ।

मनोनयनमा नेपालबाट खड्कासँगै स्कटल्यान्डका तीन तथा नेदरल्यान्ड्स र पपुवा एण्ड न्यूगिनीका एक एक खेलाडी मनोनयनमा परेका छन् । स्कटल्यान्डका रिची बेरिनटन, केल कोइजर र कोलम म्याकलियोड तथा नेदरल्यान्ड्सका पिटर बोरेन र पपुवा एन्ड न्युगिनीका असद भालासमेत मनोनयनमा परेका छन् ।

आइसिसीले विश्व क्रिकेटको पुरुष तथा महिला खेलाडीलाई विभिन्न विधामा अवार्ड प्रदान गर्दै आएको छ । यस वर्ष आइसिसीले दशकको क्रिकेट खेलाडी (महिला तथा पुरुष), दशकको पुरुष टेस्ट खेलाडी, दशकको एकदिवसीय खेलाडी (महिला तथा पुरुष), दशकको टी-२० खेलाडी (महिला तथा पुरुष), दशकको एशोसिएट खेलाडी (महिला तथा पुरुष) र आइसिसी स्पिरिट अफ क्रिकेट अफ दि डिकेड विधामा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

अवार्डका लागि मनोनयनमा पर्नुभएका खेलाडीलाई मत दिन आइसिसीले आफ्नो वेभपोर्टलमा व्यवस्था गरेको छ । आइसिसीले सो अवार्ड आगामी पुस २ गते घोषणा गर्ने जनाएको छ । गत वर्ष खड्काले नेपाली टोलीको कप्तानी छाडेका थिए । खड्का २००९ मा विनोद दासको ठाउँमा नेपाली टोलीको कप्तान बनेका थिए ।