कांग्रेस अहिले सत्तासाझेदार नबन्ने डा. महतको दाबी

कांग्रेस अहिले सत्तासाझेदार नबन्ने डा. महतको दाबी



विशेष प्रतिनिधि, कपिलवस्तु


कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको भेटलाई सामान्य सन्दर्भको रुपमा चित्रित गरेका छन् । कांग्रेस अहिले सत्तासाझेदार नबन्ने उनको दाबी छ ।

ओली र देउवाको भेटलाई सत्ता साझेदारीका लागि कुरा भएको भन्ने कुरा गतल भएको भन्दै उनले यसलाई धेरै ब्याख्या गर्नु आवश्यक नरहेको बताए । नेपाल प्रेस युनियन कपिलवस्तु शाखाले तौलिहवामा राखेको पत्रकार भेटघाट कार्यक्रममा नेता महतले भने ‘कांग्रेस अहिले सत्तासाझेदारमा जाँदैन ।’

उनले ओलीले देउवालाई विपक्षी दलसँग संवैधानिक निकाय लगातयका विषयमा मात्र रुलिङ गर्नका लागि भएको दाबी गरे । ओली नेतृत्वको सरकार पुर्णतया असफल भएको उनले बताए । उनले अहिलेको सरकारले भ्रष्टाचारमा डुबेको यो कुरा अर्का अध्यक्ष प्रचण्डले नै राजनीतिक प्रतिवेदन पेश गरेर प्रमाणित गरेको उनले तर्क गरे । उनले देशमा अहिले विदेशी हस्तक्षेप समेत बढेको र ओलीको राष्ट्रियताको नारा सबै झुठो सावित भएको बताए । ‘ओलीले देखाएको सपना सबै झुठो सावित भएका छन्, जनताले सबै कुरा बुझेका छन्’ उनले भने।

नेकपाको दुई तिहाईको सरकारलाई जनताले हेरिसकेकोले अब आउने निर्वाचनमा कांग्रेसले यसलाई अवसरको रुपमा लिने उनले बताए । नेता महतले कोभिड महामारीमा समेत वर्तमान सरकारले केही गर्न नसकेको तर २० अर्ब रुपैयाँको लेखाजोखा समेत नभएको बताए । कोभिड अनुगमन समितिका संयोजक समेत रहेका नेता महतले ५ महिना बढीको लकडाउनमा समेत जनताले कुनै राहत नपाएको, उपचार समेत राम्रो नभएको, सर्वोच्च अदालतको समेत आदेशको पालना नगरेको बताए ।

उनले आगामी फागुन महिनामा गर्ने भनिएको पार्टीको महाधिवेशन समेत कोभिडका कारण अन्यौलमा परेको बताए । उनले फागुनमा महाधिशेन हुन कठिनाई हुने बताए । उनले पार्टीको केन्द्रीय नेताहरु बीच ठूलो मतभिन्नता नरहेको दाबी गरे । आफू उम्मेदवार हुने भएकाले केही कुराहरु केन्द्रीय नेताबाट आएको र त्यसलाई ठूलो मत भिन्नता भन्न नमिल्ने उनले बताए । युनियका जिल्ला सभापति गोपाल भन्डारीको अध्यक्षता, मणि गैरे र युनियनका उप सभापति खगप्रसाद चापागाईको संचालनमा भएको कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा सांसद अतहर कमाल, आमन्त्रित केन्द्रीय सदस्य राजेश सिंह, नेवि संघका सभापति राजीव ढुंगाना, पार्टी सभापति सुरेन्द्रराज आचार्य लगायत सहभागी थिए ।