परराष्ट्र सचिवको निम्तोमा भारतीय विदेश सचिव आउँदै

परराष्ट्र सचिवको निम्तोमा भारतीय विदेश सचिव आउँदै


‘द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाउन भ्रमण निकै महत्वपूर्ण हुने’


भारतका विदेश सचिव हर्षवर्द्धन श्रृङ्गाला आगामी बिहीबार (११ मङ्सिर) नेपालको दुई दिवसीय भ्रमणमा काठमाडौं आउने भएका छन् । परराष्ट्र सचिव भरतराज पौड्यालको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् ।

दुई देशबीच उच्चस्तरीय भ्रमण आदानप्रदानकै निरन्तरताका सिलसिलामा भारतीय विदेश सचिवको भ्रमण हुन लागेको बताउँदै परराष्ट्र मन्त्रालयले भ्रमणको पहिलो दिन नेपाल-भारत परराष्ट्र सचिवस्तरीय वार्ता हुने र त्यसमा द्विपक्षीय सम्बन्ध एवं सहयोगका विविध विषयमा विचारविमर्श हुने जनाएको छ ।

बिहीबार नै भारतका विदेश सचिवले नेपालका उच्चपदस्थ व्यक्तित्वसँग शिष्टाचार भेट गर्ने तथा कोभिड-१९ सम्बन्धी भारतीय सहायता हस्तान्तरण गर्ने कार्यक्रम रहेको मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

नेपाल भ्रमण सम्पन्न गरी विदेश सचिव श्रृङ्गाला मङ्सिर १२ गते नयाँदिल्ली प्रस्थान गर्ने बताइएको छ ।

यसैबीच भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै विदेशसचिव हर्षवर्धन श्रृंगलाले यही मंसीर ११-१२ मा नेपालको औपचारिक भ्रमण गर्न लागेको बताउँदै यो भ्रमण भारतको नेपालसँगको सम्बन्धको प्राथमिकता र दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको निरन्तरताअनुरुप रहेको उल्लेख गरेको छ ।

विदेश सचिव श्रृंगलाले कार्यभार सम्हालेपश्चात नेपालका लागि उनको यो पहिलो भ्रमण रहेको जानकारी दिँदै विज्ञप्तिमा विदेश सचिवले भ्रमणको क्रममा आफ्ना समकक्षी र अन्य विशिष्ट नेपाली अधिकारीहरूलाई भेटेर दुई देशबीच विस्तृत द्विपक्षीय सहयोगको बारेमा छलफल गर्ने कार्यतालिका रहेको प्रष्ट्याइएको छ ।

नेपालस्थित भारतीय दूतावासद्वारा सम्प्रेषित उक्त विज्ञप्तिमा भनिएको छ– ‘नेपालसँग भारतको ऐतिहासिक तथा मानव सभ्यताका कडीहरू जोडिएको छ । हालका वर्षहरुमा भारतको सहयोगमा कैयौं प्रमुख पूर्वाधार तथा अन्तरदेशीय कनेक्टिभिटि परियोजनाहरु सम्पन्न हुनुका साथै द्विपक्षीय सहयोग सुदृढ भएको छ । भारत र नेपालबीच रहेको द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाउन यो भ्रमण निकै नै महत्वपूर्ण हुनेछ ।’