आइपीएलको १४ औँ संस्करणमा फेरबदल हुन सक्ने

आइपीएलको १४ औँ संस्करणमा फेरबदल हुन सक्ने



इन्डियन प्रीमियर लीग (आईपीएल) २०२० को १३औँ संस्करण हालै संयुक्त अरब इमिरेटमा सम्पन्न भएको छ । कोरोनाको महामारीका कारण यो संस्करणको आईपीएल युएईमा खेलाइएको थियो ।

दर्शकविनाको रित्तो स्टेडियममा खेलाइएको आईपीएलको १३औँ संस्करणको उपाधि मुम्बई इन्डियन्सले जित्दै पाँचौं पटक च्याम्पियन बनेको थियो ।

आईपीएलको १३औँ संस्करण सम्पन्न भएको केही समयपश्चात नै सन् २०२१ मा आयोजना हुने आईपीएलको १४औँ संस्करणको चर्चा चल्न आरम्भ भैसकेको छ । हालै बीसीसीआई र आईपीएल गवर्निङ काउन्सिलबीच भएको बैठकपश्चात आउँदो संस्करणमा निकै फेरबदल हुने सङ्केत देखिएको छ ।

आउँदो १४औँ संस्करणमा आईपीएलमा नयाँ टीमले प्रवेश पाउनुको साथै मेगा लिलामी र नियममा केही परिवर्तनसमेत हुने सम्भावना देखिएको छ । जसको खुलासा वीसीसीआईले अहिलेसम्म नगरे पनि यस्तो सम्भावना रहेको कुरा बैठकमा सहभागी एक सदस्यले जानकारी गराएका छन् ।

विगतका केही वर्षदेखि नै फ्रेन्चाइजी टीमहरूले आइपीएलका नयाँ टीमहरुको प्रवेशको लागि आइसीसीलाई दबाब दिँदै आएका छन् । यही कुरालाई मध्यनजर गर्दै आईपीएलको आउँदो १४औँ संस्करणमा फेरवदल हुने सम्भावना देखिएको हो ।

यतिबेला कोरोना महामारी नभएको भए १३औँ संस्करणमै नयाँ टीमलाई प्रवेश पाउने लगभग पक्का थियो । कोरोना महामारीका कारण आईपीएलको १३औँ संस्करण नै अन्योलमा परेका कारण बीसीआईले कुनै निर्णय गरेको थिएन् । कोरोना महामारीका कारण सन् २०२० मा अष्ट्रेलियमा आयोजना हुने टी-२० विश्वकप क्रिकेट प्रतियोगिता स्थगित भएपछि मात्रै आईपीएलको आयोजनाको टुङ्गो लागेको थियो ।

केही फ्रेन्चाइजी टीमहरूले आइपीएलका विगतका केही संस्करणदेखि नै प्लेइङ इलेवनमा चार विदेशी खेलाडीको साटो पाँच जना खेलाडी राख्न पाउनुपर्नेमा आइपीएल गवर्निङ कमिटी समक्ष अनुरोध गर्दै आएका छन् । नियमअनुसार ४ जना विदेशी खेलाडीलाई मात्र खेलाउन पाउने कारणले गर्दा १३औँ संस्करणसम्म यही नियम लागु भएको छ ।

तर सन् २०२१ मा सञ्चालन हुने आईपीएलको १४ औँ संस्करणमा यो नियममा परिवर्तन हुने संकेत देखिएको छ । जसअनुसार आउँदो आईपीएलको संस्करणमा १० टीम र प्लेइङ एलेवनमा पाँच विदेशी खेलाडी देख्न सकिने सम्भावना बढेको छ । यो भन्दाअघि आएपीएलमा ८ वटा टीमले प्रतिस्पर्धा गर्दै आएका छन् ।