चन्दाको धन्दा !?

चन्दाको धन्दा !?



■ मोहन लामा रुम्बा

‘भाइ.. म दुर्गा प्रसाईं हो माफिया होइन, बोल्दा ध्यान पुऱ्याएर बोल्नु, तिम्रो बुबाले र तिमीले के काम गर्दैछ त्यो त समयले बताउँला ! र, म हरिश न्यौपाने (चितवन मेडिकल कलेज सञ्चालक) र बसरुद्दीन (नेशनल मेडिकल कलेज) पनि होइन । र, तेरो बुबाको धम्की मलाई नदे ।’

केही दिनअगाडि विप्लवको छोरा र उनको (दुर्गा प्रसाईं) टेलीफोन वार्ता भएको भिडियो हेरेँ । हेरेपछि सर्वसाधारणको कस्तो धारणा रहेछ भनेर कमेन्टमा गएर हेरेको त त्यसमा ९९ प्रतिशतले विप्लवपुत्र प्रकाशको पक्षमा प्रशंसा गर्दै दुर्गा प्रसाईंलाई न्वारनदेखिको बल निकालेर गालीको बौछार गर्दै रहेछन् ।

यो भिडियो हेरेपछि मेरो मनमा धेरै तरङ्ग उठ्यो । सत्य के हो झुठ के हो, मान्छे भएपछि आफ्नो ब्रम्हले देखेको सत्यको पक्षमा उभिनुपर्छ कि भीडमा ? म अन्यौलमा पर्दै गएँ ! मलाई लागेको सत्य त्यहाँ कमेन्ट गरौँ भीडबाट एक्लो हुने डर, झुठो बोलेर हिँड्न नसकिने ! म दोधारमा धेरै दिन टोलाइरहेँ ।

दुर्गा प्रसाईंलाई आमजनमानसले जति चिन्छ मिडियाको माध्यमबाट मैले पनि त्यति नै चिन्ने हुँ, फरक यत्ति हो कि अरुले मेडिकल माफियाको रूपमा चिन्छन् भने म भारतीय दूतावासको संरक्षणमा सञ्चालित भारतीय लगानीका मेडिकल कलेजहरूसँग प्रतिस्पर्धा गर्ने एक स्वदेशी मेडिकल कलेजको मालिकको रूपमा चिन्छु । बस्, फरक यति हो ।

हाम्रो मानवीय स्वभाव यस्तो हुन्छ कि महिला र पुरुषको विवाद परे हामी स्वतः महिलाको पक्षमा उभिन पुग्छौँ । त्यस्तै, मजदुर र मालिकको विवाद परे स्वतः मजदुरको पक्षमा उभिन पुग्छौँ ! ठिक त्यस्तै २०४७ सालदेखि जब पार्टी-पार्टीको मजदुर युनियन नेपालमा बन्न थाले, उद्योग-कलकारखानामा हडताल हुन थाले, त्यसपछि के भयो जगजाहेर नै छ । कुनैबेला पूरै युरोपमा नेपालको गलैँचाले एकछत्र मार्केट ओगटेको थियो । यतिसम्म ख्याति थियो कि भारतीय फिल्म हरे राम हरे कृष्णको सुटिङ नै देव आनन्दले गलैँचा उद्योगमा आएर छायाङ्कन गरेका थिए । तर, बहुदल आएपछि एकाएक गलैँचा कारखानामा ‘बाल मजदुर’ प्रयोग गरेको नाममा हडताल शुरु भयो र त्यो हडतालले अन्ततः नेपालको गलैँचा उद्योग कहिल्यै उठ्न नसक्ने गरी धरासायी भएर गयो । कुनै बेला विदेशी मुद्रा आर्जन गर्ने नेपालको प्रमुख श्रोत रहेकोे गलैँचा उद्योग अब त अहिलेको नयाँ पुस्तालाई नेपालमा पनि गलैँचा उत्पादन हुन्थ्यो र ? भन्ने अवस्थामा पुऱ्याएर छोड्यो !

पुर्वतिर केही वर्ष अगाडिसम्म नेपालको सबैभन्दा ठूलो एउटा गार्मेण्ट कारखाना थियो । त्यहाँबाट उत्पादित हुने लत्ताकपडा अमेरिका निर्यात हुन्थ्यो । मजदुरलाई तलब-सुविधा प्रदान गर्ने सवालमा नेपालको सबैभन्दा बढी तलब दिनेमा त्यही गार्मेण्ट कारखाना थियो । हजारौँ मजदुर कारखानामा कार्यरत थिए तर जतिबेला ठूलो मात्रामा अमेरिकाबाट तयारी पोशाकको माग आएको थियो ठिक त्यही मौकामा मजदूर-हडताल गरियो । त्यतिबेलासम्म ट्रेड युनियनले हडताल रोकेन जतिबेलासम्म अमेरिकाबाट आएको माग खारेज भएन ! अन्ततः विस्तारै गार्मेन्ट उद्योग धरासायी हुँदै गयो । सम्बन्धित मालिक बैंकको कालो सूचीमा पऱ्यो । धितो लिलामी भएर मालिक सडकमा पुग्यो भने मजदुर खाडीमा उँट चराउन पुगे । मजदुरको नाउँमा हडताल गराउने नेताहरू चाहिँ चिल्लो कारमा सवार हुन थाले ! अमेरिकाबाट आउने त्यही लत्ताकपडा बंगलादेशबाट निर्यात हुन थाल्यो । यही हो तितो यथार्थ !

र, यही यथार्थभन्दा धेरै पर छैन विप्लवपुत्र प्रकाश चन्दको खेती पनि ! जब-जब मलेसिया बंगलादेश भारतको कलेजमा एमबीबीएसको भर्ना खुल्ने सिजन सुरु हुन्छ नेपालको विदेशी मेडिकल कलेजको दलालहरू सलबलाउन थाल्छन् । ठिक त्यही बेला नेपाली लगानीको मेडिकल कलेजमा हडताल सुरु हुन थाल्छ ताकि नेपाली विद्यार्थीहरू स्वदेशी मेडिकल कलेजमा असुरक्षित महसुस गरेर विदेशमा पढ्न जाओस् ! ठिक गार्मेण्ट कारखानाको नियति !

अचम्म लाग्ला यसो भन्दा, तर यो तितो सत्य हो कि अहिलेसम्म प्रकाश चन्दको आन्दोलन खोजीखोजी नेपाली लगानीको कलेजमा मात्रै बन्द हडताल आन्दोलन भैरहेको छ, तर त्यहीँ सँगै जोडिएको भारतिय लगानीको मेडिकल कलेजभित्रको चरम ब्रम्हलुटमा उनको आवाज अहिलेसम्म बन्द छ !

उनलाई राम्रोसँग थाहा छ त्यहाँ चलाउनु भनेको कसलाई जिस्काउनु हो भनेर, त्यसैले उनी स्वदेशी उद्योगपति या स्वदेशी लगानीमा सञ्चालितलाई तिघ्रा ठटाएर अर्को ‘गार्मेन्ट’ बनाउन उद्यत् छन् ।

हो, सबैलाई थाहा भएको कुरा नेपालमा स्वास्थ्यक्षेत्रमा बेथिति छ, मेडिकल कलेज अस्तव्यस्त छ । यो जोसुकैले पनि बुझ्ने कुरा हो, यसमा कुनै दुई मत छैन । तर यसको सुधार ब्यक्तिले गर्ने हो कि राज्यले ? यो राज्यको कमजोरी हो कि ब्यक्तिको ?

उदाहरणका लागि बाटोमा ट्राफिक जाम भयो भने ट्राफिकले पहल गर्ने हो न कि ड्राइभरले । बाटो जाम हुँदा ट्राफिक (सरकार) जवाफदेही हुनुपर्छ भनेजस्तै नेपालमा मेडिकल कलेजमा भएको बेथितिको जवाफदेही सरकार होइन र ? सरकारले नियमन गर्नुपर्ने होइन र ? मेडिकल कलेजको ब्यक्ति–ब्यक्ति छान्दै हडताल जुलुस धर्ना गर्ने हो र ?

यदि तिम्रो नियतमा कुनै खोट छैन र चन्दाको धन्दा होइन भने गोविन्द केसीले जस्तो मेडिकल कलेजको बेथितिविरुद्धमा सरकारलाई दबाब दिन आन्दोलन किन गर्दैनौ ? आन्दोलन त गोविन्द केसीले पनि गर्दै छन् तर उनलाई कसैले खोट लगाएको छैन, किनकि उनले सिस्टमविरुद्ध आन्दोलन गर्दै छन् कुनै ब्यक्तिविरुद्धमा होइन । सिस्टम प्रधान हो ब्यक्ति गौण हो ।

तर तिमी फलानोको मेडिकल कलेज यस्तो ढिस्कानोको मेडिकल कलेज उस्तो भन्दै छान्दै गेट–गेटमा गएर जुलुस गर्दैछौ, त्यो पनि भारतीय लगानीको मेडिकल कलेज छोडेर !

भलै गोविन्द केसीको माग जायज/नजायज जेसुकै होस् यसमा बहस हुन सक्छ, तर उनले आन्दोलन सरकारसँग गरेका छन् । कुनै मेडिकल कलेजका साहुलाई नाम तोकेर मेडिकल कलेजअगाडि गेट बन्द गरेर आन्दोलन गरेको छैन ठिक त्यस्तै प्रकाश चन्दले पनि यी समग्र बेथितिविरुद्धमा एउटा सूत्रबद्ध माग राखेर सरकारविरुद्धमा आन्दोलन गर्न किन सक्दैन ? सरकारलाई दबाबमा पारेर स्वास्थ्यक्षेत्रमा भैरहेको ब्रम्हलुट रोक्न नियमन गर्न आम समुदायलाई परिचालन गर्न किन सक्दैन ? किन गर्दैनौ ?

तिमीले सक्छौ, बिल्कुल सक्छौ, तर गोविन्द केसीले जस्तो समग्र सिस्टमसँग जोडेर आन्दोलन गर्दा मेडिकल कलेजबाट चन्दा आउँदैन ! त्यसैले तिमी छानी-छानी मेडिकल कलेजको गेटअगाडि धर्ना जुलूस तोडफोड गरेर आन्दोलन गर्दैछौ, सक्नेलाई थर्काउँदै हिँडेका छौ, कुरा यही होइन र ?

तिमीलाई राम्रोसँग थाहा छ गोविन्द केसी जस्तो सरकारविरुद्ध आन्दोलन गर्दा कोही मेडिकल कलेजको साहु झोला बोकेर चन्दा दिन आउँदैन भनेर । त्यसैले तिमी गेट-गेटमा गएर धर्ना राख्छौ, यही हो तितो सत्य !

हो, यही सत्य कुरा ओकलेका रहेछन् दुर्गा प्रसाईंले ! यही कुरा हरिश न्यौपाने र बसरुद्दीनले ओकल्न सकेनन्, किनकि यिनको पछाडि दुर्गाको जस्तो दायाँबायाँ प्रचण्ड-केपी भएनन् होला, त्यति भएर यति ओकले होला । त्यति पनि नहुने नेपालको उद्योगपतिको हालत के होला नेपालमा ? सहजै अनुमान लगाउन सक्छौँ नेपालमा चन्दा माफियाहरूको बिगबिगी !

अन्तमा, दुर्गा प्रसाईंको आगे-पिछे मलाई मतलब भएन तर चन्दा-माफियाविरुद्धमा बोलेको निडर अभिव्यक्तिलाई जोडदार सल्युट ठोक्छु !!