समुदायमा संक्रमण बढेपछि फेरि बन्द हुन थाले बझाङका विद्यालय

समुदायमा संक्रमण बढेपछि फेरि बन्द हुन थाले बझाङका विद्यालय


सुरेश धामी, बझाङ

समुदाय स्तरमा कोरोना संक्रमण बढेपछि नगरपालिकाभित्रका विद्यालय पुनः बन्द हुन थालेका छन् । समुदायमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि बालबालिकालाई विद्यालयमा बोलाएर शिक्षण गर्ने कार्य जोखिमयुक्त हुन सक्ने भन्दै कोरोनाप्रभावित क्षेत्रमा सञ्चालित विद्यालयमा शिक्षण सिकाई क्रियाकलाप बन्द गरिएको बुङ्गल नगरपालिका स्वस्थ्यशाखा संयोजक धनकृष्ण रेग्मीले जानकारी दिए ।

पछिल्लो समय बुङ्गल नगरपालिकाले कार्तिक १७ गतेदेखि नगरका सम्पूर्ण विद्यालयमा शिक्षण सिकाईको कार्य सञ्चालन गरेको थियो । बुङ्गल नगरपालिकाको वडा नं ४, ६ र ८ का ६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि स्वरस्वति माध्यामिक विद्यालय बिजगडा, शारदा आधारभूत विद्यालय खिरातडी, कन्या माध्यामिक विद्यालय बटुलसेरा, महेन्द्र आधारभूत विद्यालय, कफलसेरी आधारभूत कफलसेरी लगायत कोरोनाप्रभावित क्षेत्रका अन्य सात वटा विद्यालयहरु अर्को सूचना जारी नहुन्जेलसम्मको लागि नगरपालिकाको शिक्षा शाखालाई जानकारी दिई विद्यालय बन्द गरेको सम्बन्धित विद्यालयहरुले जानकारी दिएका छन् ।

यस्तो अवस्थामा विद्यालय खोले थप जोखिम हुन सक्ने भन्दै विद्यालयहरु बन्द गरिएको हो । नगरपालिकाभित्रका विद्यालयमा कक्षा ११ को परीक्षा भने मंसिर ८ गतेसम्म सञ्चालन भइहेको छ । त्यस्तै, मंसिर ०९ गतेबाट हुने १२ को परीक्षाको भने सञ्चालनको तयारी भइरहेको छ भने पठनपाठन बन्द गरे पनि विद्यालयको दैनिक प्रशासनिक कार्य चाहिँ सञ्चालन गर्न दिने निर्णय भएको छ ।

बुङ्गल नगरपालिकाकै पनि कारोनाप्रभावित स्थानबाहिरको विद्यालय भने सञ्चालन भइरहेका छन् । बुङ्गल नगरपालिकाका शिक्षा शाखा प्रमुख रेग्मीले भने जोखिम आँकलन गरेर विद्यालय सञ्चालन गर्न निर्देशन दिइसकेको बताए । विद्यालयहरुलाई अवस्था हेरेर मात्रै सञ्चालन गर्न सर्कुलर जारी गरिएको उनको भनाइ छ ।