नेता पाण्डेमाथि ‘दुर्व्यवहार’को घटनाबाट नेकपाको गुटगत झगडा छरपस्ट !

नेता पाण्डेमाथि ‘दुर्व्यवहार’को घटनाबाट नेकपाको गुटगत झगडा छरपस्ट !


सुरेन्द्र पाण्डेमाथि ‘दुर्व्यवहार’को घटनामा थापाले भने- ‘तब न नारायणकाजी !’


सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता सुरेन्द्र पाण्डेमाथि चितवनमा आफ्नै पार्टीका कार्यकर्ताहरूद्वारा दुर्व्यवहार तथा हुलहुज्जत गरिएको सन्दर्भ यतिबेला चर्चामा छ । उक्त पार्टीमा हाल उत्पन्न गुटबन्दी र विवादले पार्टीलाई फुटकै सङ्घारमा पुर्‍याएको र पार्टीलाई कुनै हालतमा फुट्न दिन नहुने भनी ‘मध्यमार्गी’ भूमिकामा आफूलाई प्रस्तुत गर्दै आएका नेकपा स्थायी कमिटी सदस्य पाण्डेमाथि पार्टीका कार्यकर्ताहरू अराजक शैलीमा प्रस्तुत भएको सन्दर्भलाई उक्त पार्टीभित्रै दुई कोणबाट चित्रित गरिन थालिएको छ ।

गृह जिल्ला चितवनका विकास आयोजनाहरूको अनुगमन तथा पार्टीका कार्यक्रमहरूमा सहभागी भइरहेको बेला दिइएको पार्टीसम्बन्धी अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गर्दै नेकपाका स्थानीय कार्यकर्ताहरूले नेता पाण्डे सहभागी रहेको कार्यक्रममा नाराबाजी र हुलहुज्जत गरेका थिए । कथित रूपमा ‘केपी ओली पक्षधर’ ती कार्यकर्ताहरूले मदन भण्डारी प्रतिष्ठानको विरोध गरेको र पार्टी-विवादका सन्दर्भमा एक पक्षीय भएर कार्यकर्तामा भ्रम छर्न खोजेको आरोप पाण्डेमाथि लगाएका छन् । तर, स्वयम् पाण्डेले भने पार्टी-विवादलाई साम्य तुल्याउने सन्दर्भमा आफूले निर्वाह गरेको भूमिकाको बारेमा प्रष्ट्याइरहँदा केही कार्यकर्ता अराजक शैलीमा प्रस्तुत भएको उल्लेख गरेका छन् ।

यथार्थ जे भए पनि यस प्रकरणले सत्तासीन नेकपामा पन्पिएको विवाद र गुटबन्दीले स्थानीय तहसम्म जरो गाडेको सन्देश प्रवाह गरेको छ भने केन्द्रीय स्तरमा जारी विवादलाई गुटगत रूपमा अझ सघन तुल्याएको अनभूति गरिएको छ ।

राप्ती नगरपालिकाको वीरेन्द्रनगरमा आयोजना गरिएको अगुवा कार्यकर्ता भेलामा शनिबार दिउँसो घटना भएलगत्तै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले उक्त घटनाको भत्सर्ना गरेका थिए भने वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनालले पनि विज्ञप्ति जारी गर्दै ‘सुनियोजित रूपमा नेता पाण्डेमाथि अभद्र व्यवहार गरेको’ जनाएका छन् ।

घटनामा संलग्न कार्यकर्ताहरूलाई कारवाही गरिनुपर्ने मागसहित माधव नेपालले आफ्नो वक्तव्यमा भनेका छन्- ‘सभ्य, सुसंस्कृत एवम् समुन्नत समाज निर्माण गर्ने उद्देश्य बोकेको कम्युनिष्ट आदर्श अवलम्बन गर्ने लोकतान्त्रिक कम्युनिष्ट पार्टीका लागि पटक्कै नसुहाउने उक्त कार्य गर्ने र गराउने जोसुकै भए पनि छानबिन गरी कडाभन्दा कडा कारबाही गर्न स्थानीय पार्टी एवम् सम्बन्धित सबैको गम्भीर ध्यानाकर्षण गराउँछु ।’

यसरी शीर्षतहका नेताहरूबाट कारवाहीको माग गरिएपछि ओली पक्षधर पङ्क्तिबाट पनि प्रतिरोधमा वक्तव्यहरू जारी गरिएका छन् । चितवनका कार्यकर्ताहरूले कसैमाथि दुर्व्यवहार गरेको नभई पार्टी एकताको पक्षमा नारा लगाएको ओलीपक्षीय नेताहरूको दाबी छ ।

प्रधानमन्त्री ओलीका लागि प्रेस संयोजकको भूमिकामा समेत रहेका नेकपा केन्द्रिय सदस्य सूर्य थापाले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठको वक्तव्यप्रति व्यङ्ग्य गर्दै ‘गुटगत अन्तर्दृष्टि र छनोटपूर्ण वक्तव्यबाजी’को अभियोग लगाएका छन् । ट्वीट गर्दै सह-प्रवक्तासमेत रहेका नेता थापाले भनेका छन्- ‘बुटवलमा मुख्यमन्त्री शंकर पोखरेलले चढ्नुभएको गाडीमाथि ढुंगा प्रहार गरिँदा निदाउनुभएको थियो क्यारे ! चितवनमा पार्टी एकता जिन्दावादको नारा लगाउँदा सुनियोजित दुर्व्यवहार देख्नुभएछ – गज्जब छ गुटगत अन्तर्दृष्टि र छनोटपूर्ण वक्तव्यबाजी ! दुवै (पोखरेल र पाण्डे) स्थायी कमिटी सदस्य – तब न नारायणकाजी !’

यसरी सत्तारुढ दलभित्र गुटगत झगडा नाङ्गो रूपमा सतहमा आएबाट उक्त दल लामो समय अब एक भएर रहन सक्नेमा सन्देह प्रकट गरिएको छ । कुनै शक्तिविशेषको आग्रह र पहलमा जबर्जस्ती एकै ठाउँमा रहे पनि यस्तै प्रकारका झगडा र झमेलाबाट गुज्रँदै पार्टी क्षयीकरणको शिकार हुने निश्चित मानिएको छ ।