बाइडेन ७८ वर्षमा प्रवेश, अमेरिकाकै सबैभन्दा जेष्ठ राष्ट्रपति बन्दै

बाइडेन ७८ वर्षमा प्रवेश, अमेरिकाकै सबैभन्दा जेष्ठ राष्ट्रपति बन्दै



अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनको शुक्रबार जन्मोत्सव परेको छ । शुक्रबारदेखि बाइडेन ७८ बर्षमा प्रवेश गरेका छन् ।

उनले सपथ ग्रहण गर्दा अमेरिकाको इतिहासमा अहिलेसम्मकै सबैभन्दा जेष्ठ राष्ट्रपति हुने जनाइएको छ ।

यसअघि सन् १९८९ मा ह्वाइट हाउसमा सपथ ग्रहण गरेका बेला तत्कालिन राष्ट्रपति रोनाल्ड रेगन ७७ वर्ष ३४९ दिनका थिए । अहिलेसम्म रेगनलाई नै सबैभन्दा बुढो राष्ट्रपति मानिदै आएको थियो ।

उमेर र स्वास्थ्य दुवै दृष्टिकोणले बाइडेनभन्दा ट्रम्प चार वर्ष कान्छो भएको समाचारमा उल्लेख गरिएको छ ।

उमेरको हिसाबले बाइडेन वृद्ध भए पनि अहिलेको संकटपूर्ण अवस्थालाई व्यवस्थापन गर्न सक्ने अवस्थामा नै उनीरहेको र उनको परिपक्वताले थप सहयोग गर्ने राजनीतिशास्त्रीहरुले बताएका छन् ।

बाइडेनसँगै उपराष्ट्रपतिमा निर्वाचित भएकी कमला ह्यारिस भने उनीभन्दा झण्डै २० वर्ष कान्छी छिन् ।

बाइडेनले आफूलाई अन्तरिम राष्ट्रपतिको रुपमा व्याख्या गरेकाले दोस्रो कार्यकालका लागि उनले उम्मेदवारी नदिने सम्भावना रहेको छ ।

उनी यसअघि सन् २००९ देखि २०१७ सम्म बाराक ओबामा राष्ट्रपति भएको बेला उपराष्ट्रपति हुनुहुन्थ्यो । त्यसअघि बाइडेन सन् १९७३ देखि सन् २००९ सम्म निरन्तर सिनेटर भएका थिए । उनी सन् १९८८ मा पनि राष्ट्रपतिका लागि प्रत्यासीका रुपमा उभिएका थिए । तर बेलायती एक राजनीतिज्ञको भाषण अनधिकृत रुपमा प्रयोग गरेको आरोप लागेपछि उनी त्यतिबेला पछाडि परेका थिए ।

बाइडेनको जन्म सन् १९४२ नोभेम्बर २० अमेरिकाको पेन्सिल्भेनिया राज्यअन्तर्गत पर्ने स्क्रान्सटनमा भएको हो । उनलाई पटक पटक पारिवारिक शोक परेको थियो । उनकी पहिलो पत्नी नेलिया र छोरी नाओमीको कार दुर्घटनामा मृत्यु भएको थियो ।

सिनेटमा पहिलो पटक चुनाव जितेपछि शपथग्रहण गर्न जाँदै गर्दा दुर्घटनामा परेर नेलिया र नाओमीको मृत्यु भएको थियो । दुर्घटनामा दुई छोरा पनि घाइते भएकामा बो बाइडेनको २०१५ मा ४६ वर्षको उमेरमा मस्तिष्क सम्बन्धी समस्याका कारण मृत्यु भएको थियो । बाइडेनका चार सन्तान हुन् ।

उनले उच्च शिक्षाअन्तर्गत कानुन अध्ययन गरेका थिए भने अमेरिकामा लामो समय निरन्तर राजनीतिमा सक्रिय नेताका रुपमा उनी चिनिन्छन् ।