जापानमा हालसम्मकै धेरै कोरोनासंक्रमित पुष्टि

जापानमा हालसम्मकै धेरै कोरोनासंक्रमित पुष्टि


विशेष प्रतिनिधि, टोकियो (जापान)

नोभेम्बर १९ तारिख बिहीबार जापानमा हालसम्मकै धेरै कोरोनासंक्रमित पुष्टि भएको छ ।

बिहिबार राती ९ः३० बजेसम्मको अपडेट अनुसार जापानभरका सबै स्थानका संक्रमितहरूको संख्या जोड्दा २ हजार ३ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । एकैदिन संक्रमण पुष्टि भएको यो हालसम्मकै धेरै हो । हिजो बुधबार पनि २ हजार २ सय ३ जनामा संक्रमण पुष्टि भएको थियो ।

बिहीबार टोकियोमा ५३४ जना, ओसाकामा ३३८ जना, खानागावा केनमा २०५ जना, आईची केनमा २१९ जना, होक्काइदोमा २६७ जना, चिबा केनमा १०६ जना, साइतामा केनमा १०८ जना, ह्योगो केनमा १३२ जनाको उच्च संक्रमणसहित जापानका कुल ४७ मध्ये ४१ वटा प्रान्तमा संक्रमण देखिएको छ ।

बिहीबार संक्रमित संख्यासँगै मृत्यु हुनेहरुको संख्यामा पनि वृद्धि भएको छ । जापानी संचारमाध्यमहरुमा जनाइएअनुसार होक्काइदोमा ७ जना, चिबा केनमा एक जना, साइतामा केनमा एक जना, खानागावा केनमा एक जना, फुकुओका केनमा एक जना, गुन्मा केनमा एक जना, इबाराकी केनमा एक जनासहित कुल १६ जना संक्रमितहरुको निधन भएको छ ।

जापानमा हालसम्म १ लाख २६ हजार ५ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । संक्रमित मध्ये १ लाख ४ हजार जनाभन्दा बढीले स्वास्थ्य लाभ लिएका छन् भने १९ सय ६३ जनाको मृत्यु भइसकेको छ ।