नेकपा सचिवालय बैठक दश दिनपछि

नेकपा सचिवालय बैठक दश दिनपछि


सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक अब १० दिनपछि पुनः बस्ने गरी सकिएको छ । आगामी बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तर्फबाट राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने तय गरिएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बुधबारको बैठक यही मङ्सिर १३ गते बस्ने गरी सकिएको जानकारी दिए ।

यसैगरी नेकपा स्थायी कमिटीको बैठक यही मङ्सिर १८ र केन्द्रीय कमिटीको बैठक मङ्सिर २५ गते बोलाउने बुधबारको बैठकले निर्णय गरेको छ । यसअघि गत कात्तिक २८ गतेको सचिवालयको बैठकले आजका लागि बैठक तोकेकामा अध्यक्षद्वयका व्यक्तिगत पत्राचार र आरोप–प्रत्यारोप पार्टी बैठकमा दस्तावेजका रुपमा वितरण गरिएपछि विवाद बढेको थियो ।

यसबीचमा अध्यक्ष एवं प्रधानमन्त्री ओली र सह-अध्यक्ष प्रचण्डले आ-आफ्ना तर्फबाट विभिन्न नेतासँग परामर्श गरे पनि सहमतिको निकास ननिस्किएर बैठक बस्ने-नबस्ने अन्योल भएका बेला बैठक भएको हो ।