सञ्चितालाई आपत् !-राजन घिमिरे

सञ्चितालाई आपत् !-राजन घिमिरे


सभ्य, शालीन र भद्र लाग्ने नायिका सञ्चिता लुइँटेल यतिबेला बद्नाम छिन् । आफ्नो विशेषताभन्दा बाहिर गएर अरूको परिवार नै बिथोलिने क्रियाकलाप गरेपछि बद्नाम हुन पुगेकी नायिका सञ्चिता लुइँटेल यतिबेला मुर्म्बईमा छिन् भने उनीसँगै नायक निखिल उप्रेती पनि ।
कुनै समय साँचो प्रेम गर्नेहरू डराउनु हुँदैन भनेर प्रेमका बारेमा ठूलै ‘प्रवचन’ दिने सञ्चिता आफैंले यतिबेला प्रेमको खिल्ली उडाएकी छिन् । दुवै विवाह गरेर मुर्म्बई बसेको अब तीन महिना पनि बितिसकेको छ । दुवै नेपाल फर्कने सुरसारमा भने छैनन् । तर, मुर्म्बईबाटै सञ्चिता भने निखिलविरुद्ध कुर्लन थालेकी छिन्, ‘मैले निखिललाई फसाएकी होइन ऊ आफैं मसँग आएको हो ।’ नेपालमा डराएर मुर्म्बईमा गएर निखिलसँग घरजम गरेकी सञ्चिताले यतिबेला आएर यसो भन्नुमा विभिन्न कारणहरू हुन सक्छन् । आफ्नो प्रेमीलाई धोका दिएर निखिलसँग दोस्रो विवाह गरेकी सञ्चिताले कतै फेरि निखिललाई धोका दिन लागेकी त होइनन् – यस विषयमा भने सञ्चिताका सहकर्मीहरू यसो भन्छन्, ‘भन्न सकिन्न । सञ्चिता ज्यादै महत्त्वाकाङ्क्षी केटी हो । महत्त्वाकाङ्क्षा पुगेन भने ऊ जे पनि गर्न सक्छे ।’ एक छोराका पिता नायक निखिललाई उचालेर उनले नै मुर्म्बई पुर्‍याइन् । नेपालमा यत्रो क्रेज र नाम पनि माटोमा नै मिलाइन् सञ्चिताले निखिलको तर, यतिबेला सञ्चिता निखिलविरुद्ध कुर्लन थालेपछि उनले आफ्नो पहिलो श्रीमान् आकाश शाहलाई जस्तै निखिललाई पनि धोका दिन लागेकी त होइनन् – चलचित्र उद्योगमा शङ्का गर्न थालिएको छ । त्यसो त जिन्दगीभर साथ दिने वाचा खाँदै विवाह गरेकी आकाशलाई धोका दिने सञ्चिताले अर्काको पति अनि बाबु बनिसकेका निखिललाई धोका नदेलिन् भनेर कसरी भन्ने –
साथीको इन्गेजमेन्टमा सरिक हुन मुर्म्बई गएको बताउने सञ्चिताले त्यहाँ फ्ल्याट पनि लिएकी रहिछिन् । आफू पहिले मुर्म्बई गएर पछि निखिललाई उनले बोलाएको रहस्य यतिबेला खुलेको छ । यसमा उनको कुटिल चाल नभएको भए साथीको इन्गेजमेन्टमा सरिक हुन गएकी सञ्चिताले मुर्म्बईजस्तो महँगो सहरमा किन फ्ल्याट लिनर्ुपर्दथ्यो र – यता निखिलकी श्रीमती कोपिला थापा भने सञ्चिताले आफ्नो सोझो पतिलाई फसाएको कुरा बताउँछिन् । ‘हेर्दा सोझी लाग्ने सञ्चिता त निकै कुटिल खेल खेल्दिरहिछे,’ कोपिलाको आक्रोश छ ।
नेपाल आएर केही गर्न नसक्ने तर मुर्म्बईमा बसेर यताका मिडिया र कलाकर्मीहरूविरुद्ध निकै कुर्लने सञ्चिता कुन हैसियत बोकेर नेपाल आउँछिन् हेर्न बाँकी छ । तर, अभिनय गरेको र डबिङ गर्न बाँकी रहेको केही चलचित्रमा डबिङ गर्न भने उनी चाँडै आउने तयारीमा रहेकी छिन् रे, कुरा भने निक्र्योल भइसकेको छैन ।
केही गरी सञ्चिता नेपाल फरि्कन् भने उनीविरुद्ध मुद्दा हाल्ने तयारीमा रहेका छन् निखिलका परिवार । सञ्चिता निखिलले पहिलो श्रीमतीसँग सम्बन्धविच्छेद गरेको गलत हल्ला सुनेपछि निखिलसँग नजिक भएकी थिइन् । तर, निखिलले पहिलो श्रीमतीसँग सम्बन्धविच्छेद गरेका छैनन् । त्यसैले सञ्चिताजी तपार्इं कुन मुखले नेपाल आउनुहुन्छ ? यता आएपछि त तपाईंलाई निखिलको परिवारले त छाड्दैनन् ? किनकि सिनेमाको पर्दाबाट समाज र परिवार सुधार्न गफ दिने तपार्इंले नै एउटा सुखमय परिवारमा आगो लगाइदिनुभएको छ नि होइन र ?
नेपालमा राम्रो नाम र दाम हात पारिरहेको समयमा निखिललाई च्यापेर मुर्म्बई गएकी सञ्चितासँग यतिबेला लगेको पैसा पनि क्रमशः सकिँदै छ । अब त न उनको हातमा फिल्म छ न त पैसा नै । त्यही पैसाको अभाव भएपछि बाँकी रहेको पैसा पाइने आशमा डबिङ गर्न नेपाल आउने तयारीमा रहेकी सञ्चितालाई ठीक पार्न निखिलका परिवार तयार भएर बसेका छन् । परे न त सञ्चितालाई आपत् ।

चलचित्रमा अब पुरुष वेश्या
हुन त वेश्यावृत्ति भन्नेबित्तिकै सबैको एउटै आवाज हुन्छ महिला जाति । यो पेसामा संलग्नताको कुरा गर्दा सबै यस्ती महिला अनि उस्ती महिला भनेर महिलाहरूको कुरा काट्न थाल्छन् । तर, वेश्यावृत्तिमा महिला मात्र होइनन् पुरुषहरूको सङ्ख्या पनि यतिबेला बढ्दो छ, अर्थात् अब वेश्यावृत्ति भन्नासाथ महिला मात्र होइनन् पुरुषको नाम पनि आउन थालेको छ । यस्ता पुरुषलाई भन्ने गर्छन् पुरुष वेश्या !
पुरुषले कसरी वेश्यावृत्ति गर्छन् त – सबैमा कौतुहलता हुन सक्छ । यस्तै कौतुहलतालाई मेटाउने प्रयास गरेका छन् निर्माता, निर्देशक उकेश दाहालले चलचित्र ‘पलपलमा’मा । उनी कथा, विषय, चरित्र अनि सिनेमाले उठाउन खोजेको हरेक पक्ष यो चलचित्रमा नयाँ भएको दाबी गर्छन् । लामो अध्ययनपछि आफूले यस्तो प्रकारको सिनेमा बनाउने सोच लिएको कुरा बताउँछन् उकेश दाहाल । ‘यहाँ बाहिर आएका कुरालाई मात्र समातेर चलचित्र बनाइयो । तर भित्री र दिनप्रतिदिन विकराल रूप लिँदै गएको विषयमाथि सिनेमा बनाउने सोच कसैले लिएन । यसैकारण मैले यो विषय छानेको हुँ,’ उनी भन्छन् । ‘धेरै पुरुषसँग शारीरिक सम्पर्क राख्ने नारीलाई वेश्यावृत्तिमा संलग्न भनेर आक्षेप लगाइन्छ तर धेरै महिलासँग यस्तो सम्पर्क राख्नेलाई किन पुरुष वेश्या भनिँदैन त ?’ निर्देशक उकेश दाहालको भनाइ छ, ‘यस्ता पुरुषहरूको सङ्ख्या बढिरहेको छ तर यसले भोलि विकराल रूप नलेला भन्न सकिन्न । यही कुरालाई मैले यो चलचित्र पलपलमा देखाउन खोजेको छु,’ दाहालले भने । विभिन्न प्रलोभन, गफ र सपना देखाएर धेरै नारीहरूसँग शारीरिक सम्पर्क राख्ने अनि दोस्रोपटक अर्को खोज्दै हिँड्ने नेपाली समाजमा नै रहेका पुरुष वेश्यावृत्तिमा संलग्न पुरुषहरूको वास्तविक जीवनलाई आफूले यो चलचित्रमा उतारेको कुरा बताउँछन् निर्देशक दाहाल ।

लोकगीत भनेपछि हुरुक्कै
जहाँ इच्छा त्यहाँ उपाय भनेजस्तै रहर र इच्छा भएमा मिहिनत, कामप्रति इमानदारिता अनि लगनशीलता भएमा सफलता मिल्दोरहेछ । यो कुराको गतिलो उदाहरण बनेका छन् प्रेमबहादुर थापा ।
काभे्रमा जन्मिएका प्रेमबहादुर सानोमा लोकगीत खुव सुन्दथे र यतिबेला सोच्दथे यस्ता गीत गाउनेसँग भेट्न पाए पनि हुन्थ्यो । ‘कस्ता हुन्छन् होला यस्ता मान्छे,’ उनले भने । तर, आज प्रेमको उठबस गायक-गायिकासँग मात्र नभएर थुप्रै सर्जकहरूसँग हुने गर्छ । यस कारणले पनि उनले एउटा लोकदोहोरी गीतमा लगानीसमेत गरिदिए- पूर्वपश्चिम मोटर गुडाउँदै । राजु परियारजस्ता चर्चित र सफल गायकको स्वरले सजिएको एल्बम ‘पूर्वपश्चिम मोटर गुडाउँदै’का निर्माता प्रेमबहादुर थापा यतिबेला अनुपा रिकन्डिसन मोटर हाउस र अनुपा बचत सहकारी संस्थाका प्रमुख पनि हुन् । सहकारी र गाडी किनबेचजस्तो व्यवसायमा लागे तापनि गीत-सङ्गीतलाई छोड्न नसक्ने र यो क्षेत्रलाई निरन्तरता दिने उद्देश्यमा छन् उनी । ‘लोक-गीत सङ्गीतमा म आनन्द पाउँछु । यसमा लागेकाहरू जति शालीन हुन्छन् गीत-सङ्गीत पनि त्यस्तै आनन्ददायी हुन्छन्,’ उनको अनुभव रहेको छ ।
करिब ६ वर्ष साहूको गाडी चलाएर जीविकोपार्जन गरेको कुरालाई उनी भन्न हिच्किचाउँदैनन् । तर, आज उनी सैयौं गाडी भाडामा दिने हैसियतमा पुगेका छन् । आफूले गाडी हाँक्दा आफ्नो गाडीमा उनी लोकगीत नै सुन्ने गर्दारहेछन् । ‘म लोकगीतलाई मेरोनजिकको साथी ठान्छु,’ उनले भने । अब थापा अनुपा दोहोरी साँझतिर लागेका छन् । ‘यो साँझ गायक-गायिका तथा श्रोताहरूको मन बहलाउने र थकाइ मार्ने थलो बन्नेछ । सबैको साझा संस्था हुनेछ अनुपा दोहोरी साँझ,’ उनले भने ।

महिला निर्मात्रीको नारीको जिन्दगी
आरडी मिडिया प्रा.लि नेपालले नेपाली टेलिभिजनको इतिहासमा नयाँ र फरक स्वादको टेलिशृङ्खला लिएर दर्शकमाझ आएको छ । नेपाली समाजमा नारीले भोगेका समस्या, कथा र व्यथा समेटेर नारीको जिन्दगी नामक टेलिशृङ्खला नेपाल टेलिभिजनमा हरेक बिहीबारदेखि प्रसारण भइरहेको छ ।
शृङ्खलाले समाजमा नारीले भोगिरहेका कथा, व्यथा, समस्या र चुनौतीसँगको सामनालाई सुन्दर ढङ्गमा प्रस्तुत गरेको छ । २५ मिनेको टेलिशृङ्खलामा एउटा नारीले आफूसँग आइपरेका चुनौतीलाई कसरी दृढताका साथ सामना गर्न सक्छिन् भन्ने सन्देश दिएको छ । नेपाली टेलिशृङखलाको निर्माणमा थोरैमात्र महिला निर्मात्री भएको अवस्थामा नारीको जिन्दगी नामक शृङ्खलामार्फत दुर्गा शर्मा नयाँ महिला निर्मात्रीको रूपमा उदाएकी छिन् । महिलाको कथामा आधारित यो शृङ्खलाको कथा पनि दुर्गाले नै लेखेकी हुन् । दुर्गाले समाज, घरपरिवार तथा आफन्तका बीचमा महिलाले भोगेका समस्यालाई लामो समयसम्म अध्ययन गरेर कथा तयार पारेकी हुन् ।
नारीको जिन्दगीमा अभियन गर्ने अधिकांश कलाकार काँचको पर्दामा स्थापित भइसकेका छन् । यसको निर्देशन विनोद केसीले गरेका छन् । कलाकारहरूमा दिनेश कार्की, दुर्गा शर्मा, संगीता मोक्तान तथा विनोद केसीको मुख्य भूमिका छन् । यसका अतिरिक्त धेरै नयाँ आशलाग्दा कलाकार यो शृङ्खलामार्फत देखिएका छन् ।
नेपाली टेलिभिजन इतिहासमा आरडी मिडियाले सन्देशमूलक सामाजिक रूपमा जनचेतना जगाउने उद्देश्यले यो टेलिशृङ्खला पस्केको छ । भविश्यमा अझै परिस्कृत रूपमा यो अभियानलाई अघि बढाउने योजना बनाएको छ । लामो समयदेखि अभिनयमार्फत कलाकारिता क्षेत्रमा सक्रिय विनोद केसीले यो टेलिचलचित्रको निर्देशन गरेर आफ्नो निर्देशकीय क्षमता सफलताका साथ प्रस्तुत गरेका छन् ।