१८ मंसिर २०७७, बिहीबार

ट्रम्पको व्यवहारले दुनियाँ हँसायो, आफूले आफैलाई ‘आममाफी’ दिएर पन्छिने तयारी !

  प्रकाशित मिति
३ मंसिर २०७७, बुधबार ०३:०३


अनिलभक्त खरेल (अमेरिका)

अमेरिकी राष्ट्रपतिको चुनावको नतिजा जसरी पनि आफ्नो पक्षमा पार्ने योजनाका साथ राष्ट्रपति डोनाल्ड ट्रम्पले एमी कोनी ब्यारेटलाई न्यायाधीशमा नियुक्त गरेर सुप्रिम कोर्टमा आफ्नो पक्षमा दुई तिहाई न्यायाधीश पारे पनि उनको योजनालाई अमेरीकी जनताले मतदानबाट भताभुङ्ग पारिदिए । सन् २००० मा एलगोर र जर्ज डब्लु बुसबीच फ्लोरिडामा भएको भीडन्त जस्तै पछि अदालतमार्फत सजिलै आफ्नो पक्षमा पारौँला भन्ने उनको सोचमा अमेरिकी जनताले तुषारपात पारिदिए ।

स्मरण रहोस्, त्यसबेला एलगोर फ्लोरिरिडामा जम्मा ५२१ मतले हारेका थिए, पछि सुप्रिम कोर्टमा मुद्दा पर्दा दुई तिहाइले बुसको पक्षमा फैसला दियो । जसका कारण एलगोर राष्ट्रपति हुन पाएनन् । त्यस्तै किसिमको हारजित होला र त्यसलाई अदालतको माध्यमबाट जितौँला भन्ने डोनाल्ड ट्रम्प र उनका केही कट्टर सकर्थकहरूले अहिलेसम्म आफ्नो हार स्वीकार गर्न सकिरहेका छैनन्, अर्थात् सत्यलाई सत्य हो भन्न सकिरहेका छैनन् ।

यत्रो फराकिलो अन्तरले बाइडन विजयी बनिसक्दा पनि ट्रम्प तथा उनका समर्थकहरूमा आफ्नो पक्षमा फैसला हुने झिनो आशा बाँकी नै छ ! थोरैमा पनि १४ हजारको मतान्तरमा हारेका राज्यहरूमा पनि उनीहरू पुनः मतगनणा गराइरहेका छन् । पुनः मतगणनाको लागि लाग्ने लाखौँ शुल्क बुझाइरहेका छन् । नतिजालाई विलम्ब गराएर विभिन्न राज्यमा अशान्ति मच्चाउने र राष्ट्रपतिको एकल अधिकार प्रयोग गरेर आफ्नो कार्यकाल बढाउने सोच डोनाल्ड ट्रम्पमा आएको हो भने अमेरिका र उनको लागि यो दुर्भाग्य हुनेछ ।

अमेरिकी जनताले ट्रम्पलाई यो पटकको दोस्रो कार्यकालको लागि मात्र ढोका थुनिदिएका हुन् । यदि सौहाद्र्र रूपमा सत्ता हस्तान्तरण गर्ने हो सन् २०२४ को चुनावमा उनी फेरि राष्ट्रपतिको उम्मेदवारको रूपमा खडा भए भने जनताको मन नफर्केला भनेर भन्न सकिन्न, किनकि अमेरिकामा बहुमत अमेरिकी नागरिक कुनै पनि पार्टीसँग आबद्ध छैनन् । यदि यस्तो थिएन भने अघिल्लो कार्यकालमा २९७ इलेक्टोरल मत पाएका जिमी कार्टर दोस्रो कार्यकालको लागि ४९ मतमा खुम्चिनुपर्ने थिएन । यस्ता उदाहरण थुप्रै छन् ।

हुन त दोस्रो कार्यकालका लागि हार्ने डोनाल्ड ट्रम्प मात्रै पहिलो राष्ट्रपति हैनन् । यसअघि रिपब्लिकनका चार र डेमोक्रेटिकका एक गरि पाँच राष्ट्रपतिले दोस्रो कार्यकालका लागि चुनाव हारिसकेका छन् । ट्रम्प दोस्रो कालमा चुनाव हार्ने छैठौँ राष्ट्रपति हुन् ।

ट्रम्प बाहेक दोस्रो कालमा हार्नेहरू :

पहिलो कार्यकालमा ३२१ इलेक्टोरल मत ल्याएर रिपब्ल्किन पार्टीबाट जितेका अमेरिकाका २७औं राष्ट्रपति दोस्रो कार्यकालको चुनावमा जम्मा ८ इलेक्टोरल मत मात्र पाएर चनाव हार्ने पहिलो राष्ट्रपति बन्न पुगे । त्यस्तै ३१औं राष्ट्रपति हर्रबर्ट होभर जो रिपब्लिकन पार्टीबाट जितेका थिए उनले पहिलो कार्यकालको लागि ४४४ इलेक्टोरल मत पाए पनि दोस्रो कार्यकालको लागि ५९ मतमै चित्त बुझाउनु परेको थियो । त्यसैगरी दोस्रो कार्यकालको लागि अवधि बाँकी छँदै रिपब्लिकन पार्टीबाट जितेका राष्ट्रपति रिचर्ड एम निक्सनले राजीनामा दिएपछि ३८औं राष्ट्रपति भएका जेराल्ड फोर्ड दोस्रो कार्यकालको चुनावमा जिमी कार्टरसँग पराजित भएका थिए । राजीनामा दिएका निक्सनले ५२० मत ल्याएर चुनाव जितेका थिए फोर्डले उनको साख बचाउन सकेनन् ।

त्यसैगरी पहिलो कार्यकालमा २९७ मत ल्याएर डेमोक्रेटिक पार्टीबाट जितेका ३९औं राष्ट्रपति जिमी कार्टरले दोस्रो कालको चुनावमा जम्मा ४९ मत मात्र पाएका थिए । चुनावमा हारेर पनि विश्वभरी कार्टर सेन्टर खोलेका कार्टरले सन् २००२ मा नोवेल शान्ति पुरस्कार पाएका थिए । त्यस्तैगरी ४२६ इलेक्टोरल मत ल्याएर रिपब्लिकन पार्टीबाट जितेका ४१औं राष्टपति जर्ज बुस सिनियरले दोस्रो कार्यकालको चुनावमा विल क्लिन्टनसँग १६८ मा खुम्चिनु परेको थियो । यसअघि हारेका चारवटै रिपब्लिकन र एक डेमोक्रेटिसहित ४४ जना राष्ट्रपतिले सोहार्द रूपमा पद हस्तान्तरण गरेका थिए । चुनावी हारलाई सजिलै आत्मसात गरेका थिए । चुनावी परिणामलाई सजिलै स्वीकार्ने संस्कार रहेको अमेरिकी इतिहासमा डोनाल्ड ट्रम्पको क्रियाकलापले गर्दा सारा विश्व जगत हाँसिरहेको छ । विश्व जगतलले अमेरिकालाई जिस्काइरहेको छ ।

हुन त डोनाल्ड ट्रम्पका पनि आफ्नै समस्या होलान् । राष्ट्रपतिबाट हटेको भोलिपल्टबाटै पुराना मुद्दा बल्झिने तथा आफू र आफ्ना परिवार संकटमा पर्ने चिन्तामा उनी होलान् । उनीविरुद्धका महिला हिंसालगायत दर्जनौँ मुद्दा अझै पनि थाँती छन् । हुन त जुनसुकै राष्ट्रपतिले पनि राष्ट्रपति पदमा रहँदा आफू र आफ्ना परिवारलाई आममाफी दिन सक्ने कानुनी अधिकार दिइएको छ । पहिलेका राष्ट्रपतिले पनि अन्तिम दिनमा यो अधिकार प्रयोग गरिसकेका छन् ।

जस्तो कि, वील क्लिन्टनले आफ्ना भाइ रोजर क्लिन्टनलाई लागेको लागु पदार्थ मुद्दामा माफी दिएका थिए । त्यसैगरी जर्ज एच डब्लु बुसले आफूलाई क्रिमिनल मुद्दाबाट आफैले सफाई दिएका थिए । ट्रम्पले पनि यही यही शक्ति प्रयोग गरी आफू र आफ्ना परिवारका विरुद्ध अहिलेसम्म भएका सम्पूर्ण संघीय अपराधका मुद्दा झेल्नु नपर्ने गरी आफूले आफू र आफ्ना परिवारलाई माफ गर्दै २०२१ जनवरी २० बाट बिदाई लिनेछन् भन्ने आम अमेरिकनले ठानेका छन् । यसमा नै अमेरिका र उनको भलाई हुनेछ । चेतना भया ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट थप १३ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या

जिल्ला कारागार भरतपुरबाट कैदी फरार भएका घटनामा दुई प्रहरीलाई निलम्बन गरिएको छ । कारागार सुरक्षामा खटिएका ती प्रहरीलाई असावधानी अपनाएको

जापानले सन् २०५० सम्ममा कार्बन तटस्थताको आफ्नो लक्ष्य पूरा गर्ने उद्देश्यले आगामी पन्ध्र वर्षभित्रै पेट्रोल कारको बिक्री बन्द गर्ने योजना

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ कार्याकालको लागि भएको निर्वाचन दौडमा पराजित भएपछि सन् २०२४ मा हुने निर्वाचनमा पुनः प्रतिस्पर्धामा उत्रिनसक्ने